नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
जलसरोकार
काठमाडौं : नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शुक्रबार ७९.७४ अंकले बढ्दै २६७७.५४ विन्दुमा पुगेको छ।
पछिल्ला केही कारोबार दिन सामान्य उतारचढावमा रहेको बजारमा पहिलो दिन नै लगानीकर्ताको आकर्षण बढ्दा नेप्सेमा उल्लेख्य वृद्धि भएको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ११.५१ अंक, फ्लोट इन्डेक्स ५.४५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.१३ अंकले बढेका छन्।
परिसूचक उच्च अंकले बढे पनि कारोबार रकममा भने ठूलो परिवर्तन देखिएन। ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजार कित्ता सेयर ५८ हजार ९४ पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
यस दिन श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको सेयर मूल्य सकारात्मक सर्किट लाग्दै १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य १२५ रुपैयाँ ७० पैसा बढेर ९६३ रुपैयाँ ७० पैसामा पुगेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य करिब १५ प्रतिशत तथा शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १२.५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको २२ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ५० लाख रुपैयाँभन्दा बढी तथा रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत रूपमा पनि बजारमा हरियाली छाएको छ। १३ मध्ये १२ उपसमूहका परिसूचक बढेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक ४.६० प्रतिशतले बढ्दा लगानी र जलविद्युत उपसमूहमा ४ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। वित्त तथा होटल तथा पर्यटन उपसमूह पनि ३ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
म्युचुअल फन्ड उपसमूह भने सामान्य गिरावटसहित बन्द भएको छ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै बजारमा देखिएको यो सकारात्मक संकेतले लगानीकर्तामा थप उत्साह थपेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित
-
सञ्चालनसँगै काबेलीको आम्दानीमा उछाल, एक वर्षमै २७ करोड ६९ लाख रुपैयाँ नाफा
-
सुपर काबेली सञ्चालनको पहिलो वर्षमै २० प्रतिशत लाभांश, थप जलविद्युत्मा लगानी बढाउँदै हिलटन हाइड्रो
-
सञ्चालन सुरु गरेको ११ महिनामै लाभांश, अब हकप्रदबाट थप जलविद्युत्मा लगानी गर्दै काबेली