सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार नबिल बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्सेमा सामान्य सुधार, परिसूचक २.६६ अंक बढ्दा कारोबार ५ अर्ब ७३ करोड रुपैयाँ नाघ्यो

जलसरोकार
बुधबार, जेठ २०, २०८३ | १५:२३:५५ बजे

 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबारको सकारात्मक लयलाई निरन्तरता दिँदै बजारमा हरियाली कायम भएको हो।

यस दिन नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स १.९३ अंक, फ्लोट इन्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६१ अंकले वृद्धि भएको छ।

बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। बुधबार ३४७ वटा कम्पनीको १ करोड ३५ लाख २१ हजार कित्ता शेयर ६२ हजार १४८ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन ५ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयर मूल्य ७४ रुपैयाँ ७० पैसा बढेर प्रतिकित्ता ५७२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को मूल्य करिब १५ प्रतिशतले वृद्धि भएको छ भने विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.५ प्रतिशतभन्दा बढीले बढेको छ।

यता, नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य भने सर्वाधिक ५.१८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी लगातार शीर्ष स्थानमा रह्यो। कम्पनीको ४४ करोड २३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको करिब २२ करोड रुपैयाँ तथा रिडी पावर कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहतर्फ १३ मध्ये ७ उपसमूहका सूचक बढेका छन् भने ६ उपसमूह घटेका छन्। निर्जीवन बीमा उपसमूह सर्वाधिक ३.३७ प्रतिशतले बढ्दा जीवन बीमा उपसमूह पनि १.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। विपरीत रूपमा अन्य उपसमूह २.३६ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा रहेको छ।

समग्रमा बुधबारको कारोबारमा लगानीकर्ताको सक्रियता बढेको देखिएको छ भने बजारले सकारात्मक गति कायम राख्न सफल भएको छ।

 

प्रकाशित मिति : बुधबार, जेठ २०, २०८३ | १५:२३:५५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया