त्रिशूली-३ एमा फसेकाको उद्धारका लागि सुरुङ विशेषज्ञ न्यौपानेका चार विकल्प, सामग्री पाए ४८ घण्टामै प्रगति हुने विश्वास
जलसरोकार
काठमाडौं : माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको पुरिएको सुरुङ क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारका लागि सुरुङ विशेषज्ञ ई. श्रीराम न्यौपानेले चारवटा प्राविधिक विकल्प अघि सारेका छन्। घटनास्थलको स्थलगत निरीक्षणपछि उनले सुरुङभित्र फसेकासम्म पुग्न तथा उनीहरूको उद्धार गर्न विभिन्न कोणबाट काम गर्न सकिने प्रस्ताव अघि सारेका हुन्।
भदौ १२ गते दिउँसो २ बजे घटनास्थल पुगेका न्यौपानेले नेपाली सेना तथा नेपाल विद्युत् प्राधिकरणका इन्जिनियरहरूसँग स्थलगत निरीक्षण गरेका थिए। त्यस क्रममा सुरुङको अवस्था अध्ययन गरी उद्धारका लागि चारवटा विकल्प प्रस्तुत गरिएको हो।
न्यौपानेका अनुसार पहिलो विकल्पमा ‘केबल डक्ट सुरुङको मुखसम्म पुगेको लेदो, ठूला तथा कडा चट्टानलगायतको डेब्रिस पन्छाउँदै पहुँच बनाउने र अवरोध हटाउने' योजना छ। उक्त क्षेत्रमा करिब १० मिटर गहिराइसम्म लेदो तथा चट्टानले सुरुङ पुरिएको उनको स्थलगत अध्ययनले देखाएको छ।
दोस्रो विकल्पमा ‘करिब २ मिटर डेब्रिस हटाएर टेलरेस सुरुङको स्ल्याब फोरेर उद्धार मार्ग बनाउने’ प्रस्ताव छ। यसबाट वैकल्पिक दिशाबाट सुरुङभित्र प्रवेश गरी फसेकासम्म पुग्ने बाटो बनाउन सकिने उनको प्रस्ताव छ।
तेस्रो विकल्पका रूपमा ‘करिब १० मिटर नयाँ सुरुङ निर्माण गरी केबल डक्टको करिब २५ देखि ३० मिटर अपस्ट्रिम क्राउनसम्म पुग्ने’ योजना अघि सारिएको छ। यो विकल्पमार्फत मुख्य अवरोधलाई अर्को दिशाबाट पार गरेर उद्धार क्षेत्रसम्म पहुँच बनाउने प्रयास गर्न सकिने बताइएको छ।
त्यस्तै, चौथो विकल्पमा ‘५ इन्च गोलाइका करिब १५ वटा प्वाल ड्रिलिङ गरी केबल डक्ट सुरुङभित्र हावा तथा पानी पुर्याउने’ प्रस्ताव छ। आवश्यकताअनुसार ती प्वाललाई क्रमशः ठूलो बनाउँदै उद्धार टोलीसमेत सुरुङभित्र प्रवेश गर्न सक्ने आकारमा विकास गर्ने योजना न्यौपानेले अघि सारेका छन्।
सामग्री उपलब्ध भए ४८ घण्टाभित्र प्रगति
उद्धारका लागि आवश्यक विस्फोटक पदार्थ, उपकरण तथा अन्य सामग्रीको सूची नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित निकायलाई उपलब्ध गराइसकिएको न्यौपानेले बताएका छन्। आवश्यक थप जनशक्ति व्यवस्थापनको काम पनि भइरहेको छ।
उनका अनुसार आवश्यक सामग्री समयमै उपलब्ध भएर तत्काल फिल्डमा काम सुरु गर्न सकिए ४८ घण्टाभित्र महत्वपूर्ण प्राविधिक प्रगति हासिल गर्न सकिने विश्वास छ।
“यदि सामग्री समयमा उपलब्ध भई तत्काल फिल्डमा काम सुरु गर्न सकियो भने ४८ घण्टाभित्र महत्वपूर्ण प्राविधिक प्रगति हासिल गर्न सकिन्छ,” न्यौपानेले भने।
उद्धार अभियानमा आफूले सुरुङ निर्माण, भौगर्भिक जोखिम व्यवस्थापन तथा उद्धार प्रविधिसम्बन्धी अनुभव प्रयोग गरिरहेको उनले बताए। अहिलेको मुख्य उद्देश्य सुरुङभित्र फसेका व्यक्तिको जीवन रक्षा गर्दै सुरक्षित रूपमा बाहिर निकाल्नु रहेको उनको भनाइ छ।
“अनुभव, प्रविधि र दृढ संकल्पको संयोजनबाट असम्भव देखिएको उद्धार पनि सम्भव बनाउन सकिन्छ,” न्यौपानेले भने।
त्रिशूली-३ एमा फसेकाहरूको उद्धारका लागि एउटै बाटोमा निर्भर नरही चारवटा सम्भावित प्राविधिक विकल्प अघि सारिनुले उद्धार प्रयासलाई थप व्यवस्थित बनाउन सक्ने देखिन्छ। अब यी विकल्पमध्ये घटनास्थलको अवस्थाअनुसार कुन विधि तत्काल कार्यान्वयनमा लैजाने र आवश्यक उपकरण तथा सामग्री कति छिटो पुर्याउने भन्ने विषय महत्त्वपूर्ण हुनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ 'बी' मा फेवा कन्स्ट्रक्सनका १६० जना सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि अपिल (सूचीसहित)
-
माथिल्लो त्रिशूली-१ पुग्न कोरियाली दूतावासले माग्यो ६ हेलिकप्टरको अनुमति
-
त्रिशूली-३ एमा फसेकाको उद्धारका लागि सुरुङ विशेषज्ञ न्यौपानेका चार विकल्प, सामग्री पाए ४८ घण्टामै प्रगति हुने विश्वास
-
माथिल्लो त्रिशूली-३ बीका २१३ जनामध्ये ९१ सम्पर्कमा, १२२ अझै सम्पर्कविहीन
-
लाङटाङ जलविद्युत् आयोजनाका १८ जनाको उद्धार
-
भोटेकोशी बाढीपछि ९३४ जना सम्पर्कविहीन, जलविद्युत् आयोजनामा उद्धारको चटारो