सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशूली-१ पुग्न कोरियाली दूतावासले माग्यो ६ हेलिकप्टरको अनुमति

जलसरोकार
शनिबार, भदौ १३, २०८३ | ०९:४४:२८ बजे
फाइल फोटो : माथिल्लो त्रिशूली-१ को मुहान संरचना क्षेत्र (हेडवर्क्स)

काठमाडौं : दक्षिण कोरियाको काठमाडौंस्थित दूतावासले बाढी प्रभावित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना (यूटी-१) आसपास रहेका कोरियाली नागरिकको अवस्था बुझ्न ६ वटा हेलिकप्टर सञ्चालनका लागि अनुमति मागेको छ।

दूतावासले २०२६ अगस्ट २८ (२०८३ भदौ १२) मा परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै आयोजनास्थल आसपास हेलिकप्टर अवतरणका लागि नेपाली सेनाको अनुमति आवश्यक रहेको जनाएको हो। दूतावासको पत्रमा आयोजनास्थल वरपर रहेका कोरियाली नागरिकको अवस्था जाँच गर्न कोरियाली टोली जान चाहेको उल्लेख छ।

दूतावासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिस्टेल एयर प्रालि र प्रभु हेलिकप्टर सर्भिसेजका ६ वटा हेलिकप्टर प्रयोग गर्ने योजना अघि सारेको छ। उक्त टोलीमा २५ जना रहने पत्रमा उल्लेख छ।

कोरियाली दूतावासको अनुरोधपछि परराष्ट्र मन्त्रालयले समेत आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायमा पत्राचार गरेको देखिन्छ। मन्त्रालयको पत्रमा दूतावासको अनुरोधअनुसार माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनास्थल क्षेत्रमा रहेका कोरियाली नागरिकको अवस्थाबारे जानकारी लिन हेलिकप्टरबाट स्थलगत रूपमा पुग्ने विषय उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्रालयले उक्त विषयमा आवश्यक समन्वयका लागि नेपाली सेनालाई समेत जानकारी गराएको कागजातबाट देखिन्छ। मन्त्रालयको पत्रको प्रतिलिपि नेपाली सेनालाई पठाइएको छ।

कोरियाली नागरिकको अवस्थाबारे चासो

माथिल्लो त्रिशूली-१ आयोजना दक्षिण कोरियाली कम्पनी तथा लगानीसँग जोडिएको जलविद्युत् आयोजना हो। पछिल्लो बाढीपछि आयोजनास्थलमा रहेका कोरियाली नागरिकको अवस्थाबारे दक्षिण कोरियाली पक्षले विशेष चासो देखाउँदै आएको छ।

यही क्रममा काठमाडौंस्थित दूतावासले आफ्ना नागरिकको अवस्थाबारे स्थलगत जानकारी लिन २५ सदस्यीय टोलीसहित ६ हेलिकप्टरबाट आयोजनास्थल आसपास पुग्ने योजना अघि सारेको हो। तर, हेलिकप्टर उडान तथा आयोजनास्थलमा अवतरणको अनुमति प्राप्त भइनसकेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो। 

यस घटनाले बाढीपछि पहुँचविहीन बनेका जलविद्युत् आयोजनास्थलमा हवाई माध्यमबाट खोज, अवस्था मूल्यांकन तथा आवश्यक समन्वयको महत्त्व थप स्पष्ट पारेको छ।

यस सम्बन्धमा रक्षा मन्त्रालयको व्यवस्थापन महाशाखाका उपसचिव भीमकान्त पौडेलले हिजो शुक्रबार (भदौ १२ गते) बेलुकासम्म परराष्ट्रको उक्त पत्र आइनपुगेकाे जानकारी दिए । 

 सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले यस विषयमा गृह मन्त्रालय अन्तर्गतको ‘नेशनल इमर्जेन्सी अपरेशन सेन्टर’ ले आवश्यक कारबाही गर्ने बताए। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले यस विषयमा मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग सम्पर्क गर्न आग्रह गरे । प्राधिकरणकी प्रवक्ता महतको माेबाइल उठेन।

 

 


 

प्रकाशित मिति : शनिबार, भदौ १३, २०८३ | ०९:४४:२८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया