सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी बाढीपछि ९३४ जना सम्पर्कविहीन, जलविद्युत् आयोजनामा उद्धारको चटारो

जलसरोकार
शुक्रबार, भदौ १२, २०८३ | १८:४२:०६ बजे

काठमाडौं : भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएको विवरण स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक गरेको छ। इप्पानले बाढीबाट प्रभावित आयोजनाहरूमा तत्काल उद्धार तथा राहतको आवश्यकता रहेको जनाएको छ।

इप्पानका अनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित १३ आयोजनासम्बन्धी विवरण संकलन गरिएको छ। विवरणअनुसार रसुवामा मात्रै ७३० जना सम्पर्कविहीन छन्। त्यहाँ बाढीबाट प्रभावित ७ आयोजनामध्ये ४ वटा सञ्चालनमा रहेका र ३ वटा निर्माणाधीन छन्। सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता १५८ मेगावाट तथा निर्माणाधीन आयोजनाको क्षमता ३४२ मेगावाट छ। 

रसुवामा सबैभन्दा धेरै सम्पर्कविहीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ आयोजनाका ५७६ जना छन्। आयोजना निर्माणाधीन अवस्थामा छ। त्यसैगरी सञ्चालनमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन रहेको इप्पानको विवरणमा उल्लेख छ।

त्यस्तै १२० मेगावाटको रसुवा-भोटेकोशी आयोजनामा ४ जना, २० मेगावाटको लाङटाङ खोलामा ४२ जना, २२ मेगावाटको चिलिमेमा ८ जना र ५ मेगावाटको मैलुङ खोलामा ७ जना सम्पर्कविहीन रहेको विवरण छ। माथिल्लो मेलुङ-ए आयोजनाका सम्बन्धमा भने तालिकामा सम्पर्कविहीनको संख्या उल्लेख गरिएको छैन।

नुवाकोटमा पनि २०४ जना सम्पर्कविहीन

इप्पानका अनुसार नुवाकोटका बाढी प्रभावित प्रमुख जलविद्युत् आयोजनामा २०४ जना सम्पर्कविहीन छन्। जिल्लामा सञ्चालनमा रहेका ४ आयोजनाको कुल क्षमता १२३ मेगावाट र निर्माणाधीन २ आयोजनाको क्षमता ५२.६ मेगावाट रहेको विवरणमा उल्लेख छ। 

नुवाकोटमा २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजनामा १ जना, १४.१ मेगावाटको देवीघाटमा १ जना, ६० मेगावाटको माथिल्लो त्रिशूली-३एमा ४२ जना, ३७ मेगावाटको माथिल्लो त्रिशूली-३बीमा १५८ जना र १५.६ मेगावाटको मिडल त्रिशूली गंगामा २ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।

इप्पानको विवरणमा माथिल्लो त्रिशूली-१ का २५४ जनाको उद्धार भइसकेको उल्लेख छ। तर लाङटाङ, माथिल्लो त्रिशूली-१, माथिल्लो त्रिशूली-३ए र चिलिमे जलविद्युत् आयोजनामा तत्काल उद्धारको आवश्यकता रहेको जनाउँदै ती क्षेत्रमा उद्धारका लागि हेलिकोप्टरको प्रबन्ध गर्ने प्रयास भइरहेको पनि उल्लेख गरिएको छ।

इप्पानले संकलन गरेको यो विवरणले भोटेकोशी बाढीको असर बस्ती र भौतिक संरचनामा मात्र सीमित नभई जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका जनशक्तिसम्म पुगेको देखाएको छ। अब प्राथमिकता सम्पर्कविहीनहरूको यथाशीघ्र खोजी तथा उद्धारमा केन्द्रित गर्नुपर्ने देखिन्छ।

भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजना

जिल्लाआयोजनाक्षमताअवस्थासम्पर्कविहीन
रसुवामाथिल्लो त्रिशूली–१२१६ मेगावाटनिर्माणाधीन५७६
 रसुवागढी१११ मेगावाटसञ्चालन९३
 रसुवा–भोटेकोशी१२० मेगावाटनिर्माणाधीन४
 माथिल्लो मेलुङ–ए६.४२ मेगावाटनिर्माणाधीन—
 लाङटाङ खोला२० मेगावाटसञ्चालन४२
 चिलिमे२२ मेगावाटसञ्चालन८
 मैलुङ खोला५ मेगावाटसञ्चालन७
रसुवा जम्मा७ आयोजना५०० मेगावाट४ सञ्चालन, ३ निर्माणाधीन७३०
नुवाकोटत्रिशूली२४ मेगावाटसञ्चालन१
 देवीघाट१४.१ मेगावाटसञ्चालन१
 माथिल्लो त्रिशूली–३ए६० मेगावाटसञ्चालन४२
 माथिल्लो त्रिशूली–३बी३७ मेगावाटनिर्माणाधीन१५८
 मिडल त्रिशूली गंगा१५.६ मेगावाटनिर्माणाधीन२
 नुवाकोट सौर्य विद्युत् आयोजना२५ मेगावाटसञ्चालन—
नुवाकोट जम्मा६ आयोजना१७५.६ मेगावाट४ सञ्चालन, २ निर्माणाधीन२०४
कुल१३ आयोजना६७५.६ मेगावाट—९३४

स्रोत : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)

प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०८३ | १८:४२:०६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया