यही वैशाखदेखि माथिल्लो तामाकोसीको एउटा युनिट (७६ मेगावाट) आउनेवाला छ । आगामी असार ३१ गतेसम्म माथिल्लो तामाकोसीका छवटै युनिटले पूर्ण क्षमतामा ४५६ मेगावाट बिजुली उत्पादन गर्ने कार्यसूची छ ।
यसबाहेक अन्य निजी क्षेत्रसहित गरी यो आर्थिक वर्ष (असार मसान्तसम्म) ८२४.५६ मेगावाट बिजुली आउने प्रक्षेपण छ । यो करिब करिब मिल्छ । यो आवभित्र कूल ३० वटा (सौर्यसहित) आयोजना आउने अपेक्षा गरिएकोमा आधाभन्दा बढी आइसकेका छन् । अर्को आर्थिक वर्षमा ९५५.३५७ मेगावाट आउने विद्युत् प्राधिकरणको तथ्यांकले बताउँछ । यसरी दुई आर्थिक वर्षमा १७८० मेगावाट बिजुली प्रणालीमा थपिंदैछ । गत जनवरीसम्मको तथ्यांकअनुसार निजी क्षेत्रको जडित क्षमता ७२४.९४५ मेगावाट छ भने प्राधिकरणको ६ सय मेगावाट । अबको दुई वर्षपछि विद्यमान, निजी क्षेत्रसहित मुलुकको कूल जडित क्षमता ३१०४.८६२ मेगावाट हुनेछ ।
आगामी २०८२ साउन ४ गतेसम्मको अनिवार्य विद्युत् उत्पादन मिति उल्लेख गरी विद्युत् खरिद सम्झौता (पीपीए) भएका विद्युत् आयोजनाहरुको कूल क्षमता ३२८२ मेगावाट छ । यी निर्माणाधीन छन् । चालू आर्थिक वर्षसहित अबको अर्को आर्थिक वर्ष (२०७८/७९) भित्र १५०३ मेगावाट बिजुली आउने निश्चित छ । त्यसबाहेक प्राधिकरणसित पीपीए गरेका तर वित्तीय व्यवथापन नभएको जलविद्युत् २०२० मेगावाट विभिन्न चरणमा छन् । यसरी सञ्चालनमा रहेका, निर्माणाधीन र विभिन्न अवस्थामा रहेका सहित प्राधिकरणसँग पीपीए भएको समेत हिसाब गर्दा ६०२६ मेगावाट छन् । कूल पीपीएमध्ये ‘वित्तीय व्यवस्थापन नभएका र विभिन्न चरणमा रहेका’ (२०२० मेगावाट) नआउला, यसलाई एकछिन गणना नगर्ने हो भने अबको तीन वर्षभित्र निजी क्षेत्रको मात्रै ४००६ मेगावाट बिजुली प्रणालीमा हुनेछ ।
अब खपतको स्थिति हेरौं । गत चैतमा प्रणालीको उच्चतम माग १४६३ मेगावाट र औसत माग ११५० मेगावाट थियो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेपछि आफ्नो मन्तव्य राख्ने क्रममा भनेका थिए, ‘विद्युत् शक्तिको माग हरेक वर्ष ९ देखि १० प्रतिशत र ऊर्जाको माग १५ प्रतिशत छ ।’ उनको यो भनाइलाई केलाउने हो भने माग ज्यादै कम तर बर्खे बिजुली ज्यादै धेरै । अर्थात् राज्यसित बिजुली खपत गराउने न नीति छ, न त कुनै कार्यक्रम वा घोषणा नै । प्राधिकरणले यो तथ्यांकका आधारमा अबका बर्खायामहरु पाँच सय देखि आठ सय मेगावाट ‘जगेडा’ हुने प्रक्षेपण गरिसकेको छ ।
यी तथ्यांकका आधारमा प्राधिकरणले अब बर्खे बिजुली खपत नहुने ठहर गरेर ‘टेक अर पे’ (लेऊ वा तिर) पीपीए बन्द गरिसकेको छ । ‘टेक एण्ड पे’ (लिएको जति तिर्ने) पीपीए गर्दै आएको छ । प्रवर्द्धकहरु आफ्नो लाइसेन्स र लगानी जोगाउन यस्तो ‘टेक एण्ड पे’ पीपीए गर्न बाध्य छन् । उता ऊर्जा मन्त्री र बालुवाटार भने करिब १५०० मेगावाट बिजुलीको ‘टेक अर पे’ पीपीए गराउन लागिपरेका छन् । प्रस्ताव सञ्चालक समितिसम्म पुगिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक र सञ्चालकहरुले बालुवाटारको यस्तो दबाब कहिलेसम्म थेग्ने हो ? किनभने पीपीएमा नेतालाई कमिसन आउँछ । हरेक ऊर्जा मन्त्री पीपीए गराउन लालायित हुनुको पछाडि यही कमीसन हो । अघिल्ला ऊर्जा मन्त्री वर्षमान पुनले १५०० मेगावाटको पीपीए गरेर गए ।
निश्चय नै कुनै पनि जलविद्युत् आयोजनालाई पीपीएको चरणसम्म पुर्याउँदा निकै खर्च भइसकेको हुन्छ । विद्युत् विकास विभागमा लाइसेन्सका लागि निवेदन दिएपछि ऐनअनुसार कारबाही गर्नैपर्छ । अर्थात् अध्ययनका लागि ‘अनुमति पत्र दिनुपर्नेछ’ भनेर विद्युत् नियमावलीमै उल्लेख छ । यो हिसाबले लाइसेन्स जारी हुने क्रम रोकिनेछैन । विभागको काम नै लाइसेन्स जारी गर्ने हो । विभागले हालसम्म एक मेगावाटभन्दा माथिका १५३३५ मेगावाट लाइसेन्स जारी गरेको छ ।
लगानी बोर्डले ११०० मेगावाटका आयोजना अघि बढाउँदैछ । लाइसेन्स जारी भएकामध्ये निकासी प्रयोजननिम्ति प्रवर्द्धन हुन लागेका आयोजना औंलामा गन्न सकिन्छ । अर्थात् जारी भएका, पीपीए भएका सबैको बजार एउटै हो, विद्युत् प्राधिकरण । विभागले जारी गरेका लाइसेन्स सबै निर्माणमा नजालान् त्यो अर्कै कुरा हो । तर १० प्रतिशत मात्र पनि निर्माणमा गए भने १५०० मेगावाट हुन्छ । यी सबैको बजार फेरि पनि प्राधिकरणबाहेक अरु छैन । अब यस्तो अवस्थामा पीपीए हुन्छ कसरी ? पीपीए गरौं, प्राधिकरण डुब्ने । नगरौं निजी क्षेत्र डुब्ने ।
प्राधिकरणले गतवर्ष ८५ अर्ब रुपैयाँको बिजुली बेचेछ । देशमा खपत भएको कूल ऊर्जाको हिसाबले यो केबल ३.८ प्रतिशत मात्र हो । देशमा वार्षिक खपत हुने बाँकी ९६.२ प्रतिशत ऊर्जाको हिसाब बिजुलीको मूल्यमा गर्ने हो भने त्यो २२ खर्ब ३६ अर्ब रुपैयाँ हुन आउँछ । अब लाटो हिसाबले भन्नु पर्दा देशमा खपत हुने कूल ऊर्जामध्ये १० प्रतिशतलाई मात्र बिजुलीमा रुपान्तरण गर्न सकियो भने २ खर्ब २३ अर्ब रुपैयाँ बच्छ । यो भनेको देशले आयात गर्ने कूल पेट्रोलियम पदार्थसरह हो । यहाँनेर छ बजार । यसतर्फ नेता र नीति निर्माताहरुको ध्यान गएको देखिंदैन । जनतालाई झूटो आश्वासन दिने, अनेक फोहोरी राजनीति गरेर सत्तामा पुग्ने (अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर मन्त्री खाने) , दस पुस्तासम्मलाई पुग्ने गरी धनसम्पत्ति थुपार्ने मात्र काम हाम्रा नेताहरुको छ । नत्र कुनै पनि नेताले देश विकासको कुरै गर्दैन । कसरी सत्तामा पुग्ने, नैतिकताको प्रश्न उठिसकेपछि भने सत्तामै टाँसिइरहने, भ्रष्टाचारमा कीर्तिमानी कायम गरेका नेताहरु पनि पैसा खर्च गरेर चुनाव जितिरहने परिपाटी कहिलेसम्म ?
हाम्रा नेताहरुले ऊर्जा खपतमा कहिले पनि ध्यान दिएनन् । ब्यूरोक्र्याट्सहरुले भनेको उनीहरुले कहिले सुनेनन् । सत्तामा पुगेपछि उनीहरु नै अति जान्ने । उनीहरुजति दिमागवाल अरु कोही छैन जस्तो गर्ने । प्रधानमन्त्री केपी ओली कोरोना रोग कसरी निर्मूल पार्ने भन्ने विशेषज्ञ भएर निस्के, अरुको के कुरा गर्ने ? यस्तो अहंमतावादी चरित्र भएका नेताहरुबाट मुलुकले आश गर्ने ठाउँ पनि रहेन ।
प्राधिकरणले प्रक्षेपण गरेअनुसार बिजुली खपत भएमा उसलाई वर्षको डेढ खर्ब रुपैयाँ घाटा हुने अहिले नै देखिन्छ । राज्यले नीतिगत हस्तक्षेप गर्नेवाला छैन । ओलीका अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय बसमा कर लगाएर आयात हुने चकलेटको कर घटाइदिए । विद्युतीय चुल्होमा पनि कर लगाइदिए । जबकि वर्षको २० प्रतिशतका दरले एलपी ग्यास खपत बढिरहेछ । त्यो भनेको अहिलेको मूल्यमा झन्डै ३० अर्ब रुपैयाँ हो । विद्युतीय चुल्होमा कर लगाउने अर्थ मन्त्री हुने देशमा विकासले फड्को लिन सक्दैन भनेर ठोकुवा गर्न सकिएको कारण पनि त्यही हो ।
गत साता भारतको इनर्जी एक्सचेञ्ज (आइईएक्स) ले नेपाल विद्युत् प्राधिकरणलाई उसको सञ्जालमार्फत् विद्युत् व्यापार गर्न अनुमति दिएको छ । एक दिनअघि मूल्य र परिणाम तोकेर प्रतिस्पर्धी तवरबाट हुने यो व्यापारले प्राधिकरणलाई केही मात्रामा त्राण भने भरेको छ । तर आईईएक्सले नेपाललाई बिक्री गर्ने अनुमति भने दिएको छैन । यहाँनेर नै शंकाको बादल मडारिएको छ । खरिद र बिक्री दुवैको अनुमति दिएको भए सीमापार विद्युत् व्यापारमा भारतले गरेको ‘न्याय’ ठहर्थ्यो । जबकि प्राधिकरणले सबै प्रक्रिया र विधि पुर्याएर बिक्रीका लागि सँगै प्रस्ताव गरेको थियो । आईईएक्सले बिजुली दिने भयो भनेर खुशी मनाउनुपर्ने कारण नै छैन ।
भोलि भारतले ‘अबदेखि यही डे अहेड मार्केटबाटै बिजुली लिनू’ भन्दियो भने नेपाललाई भारी नोक्सानी पर्ने देखिन्छ । किनभने अहिले प्रतियुनिट ढल्केबाट प्रतियुनिट भारु ४.१८ (६.६८ नेरु) बाट बिजुली लिंदै आएको छ । भोलि एक्सचेञ्जबाट लिनुपर्ने अवस्था आयो भने त्यसको कुनै पूर्वनिर्धारित दर हुँदैन । अहिले नै प्रतियुनिट भारु ७ (११.२० नेरु) छ । यद्यपि भाउ तलमाथि परिरहला, त्यो अर्को कुरा हो । हो, भारतलाई बेच्न पनि पाउने भएको समदुरी कायम हुन्थ्यो र त्यहाँ न्याय हुन्थ्यो । यो एउटा जोखिम छ । यही जूनसम्म ढल्केको पीपीए कायम छ ।
अब भारतको रबैया हेरौं । भारतलाई नेपालको बिजुली चाहिएकै छैन । चाहिएको छ त केवल पानी । नेपालको बिजुली महँगो पनि छ । गत महिना प्राधिकरणले भारतको खुला बजारमा गरेको प्रतिस्पर्धामा सहभागी हुन सकेन । जबकि नेपालले भारतबाट आयात गरिरहेको दरमा प्रस्ताव गरेको थियो । यसले नेपालको बिजुली भारतीय बजारमा प्रतिस्पर्धी नभएको प्रमाणित गरेको छ । भारतले नेपालको बिजुली समर्पित जलविद्युत् आयोजना बनाएरै लैजान चाहन्छ- अरुण तेस्रो र तल्लो अरुणजस्तै । उसले आफ्नै देशको कम्पनी जीएमआरको बिजुली (माथिल्लो कर्णाली) त खरिद गर्न चाहेको छैन भने प्राधिकरणले बेचेको किन लिन्थ्यो ? भारतले बिजुलीलाई रणनीतिक वस्तुको रुपमा लिएको छ ।
ल ठीक छ, भारतमा नेपालको बिजुली प्रतिस्पर्धी भएन । हामी बंगलादेशलाई बेच्छौं भन्दा पनि भारत मान्दैन । बंगलादेश र नेपालबीच बिजुलीको कारोबार भारतको सहयोगबिना सम्भव छैन । नेपालले बंगलादेशलाई दुई प्रकारले बिजुली बेच्न सक्छ, भारतीय सहयोगमा । पहिलो, नेपाल र बंगलादेशबीच कनेक्टिभीटी गर्ने । यसका लागि पूर्वको झापादेखि बंगलाबन्धसम्मको बीचको भारतीय भूभागमा प्रसारण लाइन बनाउन उसले अनुमति दिनुपर्ने हुन्छ ।
नेपालले अनुनय विनय गर्दै आए पनि भारतले मानिरहेको छैन । उसको रवैया हेर्दा मान्नेवाला पनि छैन । किनभने बंगलादेशसँग नेपालको कारोबार हुन थाल्यो भने यहाँ विकास हुन्छ । गरिबी घट्छ । भारतमा मजदुरी गर्न जानु पर्दैन, जुन भारत चाहँदैन । नत्र बिमस्टेकका ‘रिजनल कनेक्टिभीटी’ (क्षेत्रीय जडान) को लागि सहकार्य गर्ने उद्घोषसहित सहमति गरेको भारतले बंगलादेश र नेपालबीच कनेक्टिभीटी हुन किन दिंदैन ? नेपालले सिंत्तैमा भारतको भूमिमा टावर गाड्न देऊ पनि भनेको छैन । उसको करिब २१ किलोमिटरमा टावर गाडेबापत त्यसको केही शुल्क लिए भइहाल्यो । वा त्यो भेगमा पर्ने प्रसारण लाइनको प्रसारण शुल्क (व्हीलीङ चार्ज) लिन सक्छ । भारत त्यो पनि चाहँदैन ।
छुट्टै समर्पित प्रसारण लाइन बनाउन भारतलाई मन छैन भने दोस्रो उपाय पनि नेपालले नसुझाएको र प्रस्ताव नगरेको होइन । भारतीय प्रणालीमा नेपालले बिजुली दिने, बंगलादेशसँग उसको प्रसारण लाइन जोडिएको छ । त्यहाँबाट बंगलादेशले लिने । यसका लागि ऊर्जा सचिव दिनेशकुमार घिमिरले निकै प्रयास गरेका थिए । प्रस्तावसमेत भारतमा कयौंपटक पठाइसकिएको छ । भारतले यसलाई पनि स्वीकार गरेको छैन । भारतको ठूल्दाइ प्रवृत्तिका कारण न आफू लिन्छ, न बंगलादेशसम्म जान दिन्छ । यो ठोस यथार्थ हो । भारतले नेपाललाई नेपाल सरकारले गर्ने समानान्तर विकास बजेट जति अनुदान दिए पनि उसको भित्री नियत ठीक छैन । नेपाल, भारत र बंगलादेशमा ग्रीड कनेक्टिीभीटी हुने र ‘नर्डिक पावर पुल’ जस्तो संयन्त्र बन्ने हो भने नेपाल र बंगलादेश दुवैको भारतप्रति दृष्टि नै बदलिन सक्थ्यो ।
अर्को उदाहरण हेरौं । नेपाल भारत संयुक्त सञ्चालन समिति (ज्वाइन्ट स्टेयरिङ कमिटी- जेएससी) को लगातार तीनवटा बैठकमा नेपालले इनर्जी बैकिङ मुद्दालाई प्रमुखताका साथ उठायो । जेएससीको पोखरामा भएको छैटौं बैठकमा दुई देशका ऊर्जा सचिवबीच इनर्जी बैकिङ गर्ने सहमति पनि भएको थियो ।
त्यसपछिको भारतको बैंगलोरमा भएको अर्को सातौं बैठकमा आएर भारतले ‘इनर्जी बैकिङ पनि कहीं हुन्छ ?’ भन्दै यो मुद्दालाई फासफुस पारिदियो । त्यसपछि इनर्जी बैकिङ हरायो । यो भइदिएको भए बर्खायाममा नेपालले खपत गरी बाँकी भएको बिजुली भारतलाई दिन्थ्यो । हिउँदयाममा त्यो पहिला बर्खायाममा दिइएको बिजुली फिर्ता लिन्थ्यो । यसले दुवै देशको प्रणालीलाई पनि बलियो बनाउँथ्यो । बर्खायाममा भारतमा बिजुलीको माग धेरै हुन्छ, नेपालमा थोरै । हिउँदयाममा नेपालमा बिजुलीको माग धेरै तर उत्पादन थोरै हुन्छ । दुवै देशको प्रणालीलाई आवश्यक पर्ने पद्धति थियो इनर्जी बैकिङ ।
भारतको यो नियत र आशय सबैलाई थाहा छ । थाहा पाई पाई पनि हाम्रा प्रधानमन्त्री र ऊर्जा मन्त्रीहरु भारतलाई बिजुली निकासी गर्ने भन्न भाषण गर्न लाज मान्दैनन् । अघिल्ला ऊर्जा मन्त्री वर्षमान पुनको तीन वर्षे कार्यकाल भारतलाई पाँच हजार मेगावाट बिजुली निर्यात गरिनेछ भन्ने सुगा रटाईको भाषण गर्दै बित्यो । उनले स्वदेशी ऊर्जालाई बिजुलीमा कसरी रुपान्तरण गर्ने भन्नेतिर सोच्दै सोचेनन् । पुनले मात्र होइन, कुनै पनि ऊर्जा मन्त्री र कुनै पनि प्रधानमन्त्रीका दिमागमा यो घुसेन कि हाम्रो बिजुली यहीं खपत बढाउँ भनेर । दिमागमा नघुस्नुको मुख्य कारण हो- यिनीहरु असली रुपमा नेता नै होइनन् । नेताले त पहिला मुलुक र जनताको सोच्छ । यिनका सोचाइ सत्ता र दस पुस्तालाई पुग्ने धनार्जनमा मात्र सीमित छ । यो कुरा इतिहासले प्रमाणित गरिसकेको छ कि नेपालमा कुनै नेता नै छैन ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको एउटा गीत यस्तो छ :
ईश्वर तिमीले नेपाल बनायौं
तर एउटा नेता दिनलाई किन टाउको कन्यायौं ?
नाेट : पत्रकार विकास थापा द्वारा लिखित विचारहरूकाे संग्रह
बैशाख ७, २०७८ मगलवार १३:४१ बजे
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का