जलसरोकार
काठमाडौं : नेपाल र भारतबीच ६ सय मेगावाट बिजुली आयात निर्यात गर्न सकिने १३२ केभीका तीनवटा प्रसारण लाइनको उद्घाटन भोलि बिहीबार हुने भएको छ ।
भोलि बिहीबारदेखि काठमाडौंमा सुरु हुने नेपाल भारत संयुक्त आयोगको सातौं बैठक सहभागी हुन आएका भारतीय विदेश मन्त्री एस जयशंकर र उनका समकक्षी एनपी साउदले अनलाइबाट ती प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
पहिलोपटक भारतको उत्तर प्रदेशसँग १३२ केभी लेभलको प्रसारण लाइन औपचारिक रुपमा सञ्चालनमा आउन लागेको घिसिङले जानकारी दिए । मैनहिया–सम्पतिया १३२ केभी निर्माण कार्य हालसालै सकिएर यसको जडान कार्य समेत पूरा भइसकेको छ । घिसिङका अनुसार यो प्रसारण लाइनले १६० मेगावाट बिजुली प्रसारण गर्न सक्छ ।
यसैगरी मैनहिया–सम्पतियासँगै १३२ केभीकै परवानीपुर–रक्सौल र कुशाहा–कटैयाको पनि उद्घाटन हुने भएको छ । तीनवटा सर्किट रहेको कुशाहा–कटैया प्रसारण लाइनले ३०० मेगावाट बिजुली बोक्न सक्छ ।
घिसिङका अनुसार यी तीनवटै प्रसारण लाइन भारतको केन्द्रीय ग्रीडमा जोडिनेछ । केन्द्रीय ग्रीडमा जोडिएपछि नेपालले यही प्रसारण लाइनबाट भारतलाई उसको ऊर्जा विनिमय (आईईएक्स) मा बेच्न पाउनेछ । हालसम्म नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट मात्र ऊर्जा विनिमयमा व्यापार गर्दै आइरहेको छ । ‘अब पीइसी (नेपाल–भारत विद्युत् आदान–प्रदान समिनित) भन्दा बाहिर गएर किन्न बेच्न पाइनेछ,’ घिसिङले बुधबार जलसरोकारसँग भने ।
यसअघि बिहारसँग नेपालले विद्युत् आदान–प्रदान समितिअन्तर्गतको संयन्त्रबाट मात्र तोकिएको कोटाअनुसार बिजुली कारोबार गर्दै आइरहेको थियो । सामान्यतया बिहारबाट बिजुली आयात गर्दा भारतीय ऊर्जा विनिमयको भन्दा महँगो पर्ने गर्छ । यसैगरी मैनहिया–सम्पतिया प्रसारण लाइनबाट पनि पहिलोपटक नेपालको उत्तर प्रदेशसम्म पहुँच पाउने भएको छ । उत्तर प्रदेशसँगको केनेक्टिभीटी ३३ केभीको मात्र थियो । घिसिङले यी तीनवटै अन्तर्देशीय प्रसारण लाइनबाट प्रवाह हुने बिजुलीका सम्बन्धमा भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीइसी) सँग छलफल भएर टुंगो लागिसकेको छ ।
नेपाल विद्युत् प्राधिकरणमा पहिलोपटक कार्यकारी निर्देशक भएपछि घिसिङले भारतको उत्तर प्रदेशसँग पनि १३२ केभी स्तरको प्रसारण लाइन जोडिनुपर्छ भनेर उनैले टेण्डर गराएका थिए । अब नेपाल र भारतबीच १३२ केभी स्तरका ६ वटा प्रसारण लाइन सञ्चालनमा आउने भएका छन् । कुशाहा–कटैयाको तीनवटा सर्किट छ । त्यसैगरी परवानीपुर–रक्सौलको २ वटा, मैनहिया–सम्पतियाको २ वटा, गण्डक–रमनगर एउटा, टनकपुर–महेन्द्रनगर एउटा र नेपालगञ्ज–नानपराका २ वटा सर्किट छ ।
एउटा सर्किटले ८० देखि १०० मेगावाटसम्मको बिजुली बोक्न सक्छ । यसअनुसार १३२ केभी स्तरमै करिब ११ सय मेगावाट बिजुली नेपालले भारतमा पठाउन र उताबाट ल्याउन सक्छ । यसबाहेक ढल्केबर–मुजफ्फपुरको क्षमता २ हजार मेगावाट भए पनि ‘एन माइनस वान’ (एउटा बिग्रे अर्काे चलाउने) प्रावधानले गर्दा १२ सय सय मेगावाट हो । तर हाल दुई देशबीच ८ सय मेगावाट क्षमतामा सञ्चालन गर्ने सहमति छ ।
घिसिङका अनुसार उद्घाटन भइसकेपछि विद्युत् आयात–निर्यातसम्बन्धी वित्तीय बन्दोबस्ती पनि तय गरिनेछन् । यस्तो वित्तीय बन्दोबस्तीलाई नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) ले तय गर्नेछ । जेएससीको बैठक भोलि बिहीबार काठमाडौंमा बस्नेछ । यही जेएससी बैठकले ४०० केभीका दुई ठूला सीमापार विद्युत् प्रसारण लाइन लम्की–बरेली र इनरुवा–पूर्णियाको निर्माणका लागि वित्तीय मोडालिटी तय गर्नेछ । यी दुवै प्रसारण लाइन आगामी चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
आज ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) को बैठक बसिरहेको छ ।
काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सिइओको शपथ
भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
कुलमानको रीट हेर्दाहेर्दैमा, ‘मन्त्रिपरिषद्लाई बर्खास्त गर्ने अधिकार छैन’
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी : अर्थमन्त्री पौडेल