अरुण भ्याली हाइड्रोपावरको नाफा २ करोड ९७ लाख, गत वर्षभन्दा घट्यो
जलसरोकार
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा २ करोड ९७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ५३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै कम्पनीको खुद नाफा गत वर्षको तुलनामा घटेको छ।
समीक्षा अवधिमा कम्पनीले सञ्चालनबाट ७ करोड २२ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ करोड ७५ लाख २ हजार रुपैयाँ थियो। कम्पनीको कुल नाफा पनि घटेर ५ करोड १९ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको पहिलो त्रैमासिकमा कुल नाफा ७ करोड ६६ लाख ७३ हजार रुपैयाँ थियो।
कम्पनीको वित्तीय विवरणअनुसार चालु त्रैमासिकमा अन्य आम्दानी १ करोड ६ लाख ३८ हजार रुपैयाँ रहेको छ। यस्तै, कर्मचारी सुविधा, प्रशासनिक खर्च, वित्तीय लागत तथा ह्रासकट्टीसहित कुल खर्च ३ करोड ६ लाख ३२ हजार रुपैयाँ रहेको छ। कर तथा अन्य दायित्व कटाएपछि कम्पनीको खुद नाफा २ करोड ९७ लाख १३ हजार रुपैयाँ कायम भएको हो।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ४ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता शेयर पुँजी ४ अर्ब ४ करोड ४ लाख रुपैयाँ र कुल स्वपुँजी ४ अर्ब ४५ करोड ५७ लाख रुपैयाँ रहेको छ।
कम्पनीले काबेली बी–१ क्यासकेड ९.९४ मेगावाट र पिलुवा खोला ३ मेगावाट आयोजनाबाट सन्तोषजनक रूपमा विद्युत् उत्पादन भइरहेको जनाएको छ। त्यस्तै, माथिल्लो काबेली–२ (१५ मेगावाट) र बुढुमखोला (१४.५० मेगावाट) आयोजनाले विद्युत् उत्पादन अनुमति प्राप्त गरी विद्युत् खरिद बिक्री सम्झौताका लागि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएको कम्पनीको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात ५८.५१ गुणा रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य एकैदिन ६ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
-
अरुण भ्याली हाइड्रोपावरको नाफा २ करोड ९७ लाख, गत वर्षभन्दा घट्यो
-
माउन्टेन हाइड्रो नेपालको खुद नाफा ११ करोड १६ लाख
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
७९६ मेगावाट बिजुली नकिनेको भारतसँग हिउँदका लागि उसैसँग विद्युत् माग्दै नेपाल, प्रम बालेनको भ्रमणमा ऊर्जा व्यापारका पाँच प्रस्ताव
-
ऊर्जामन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट