अर्थमन्त्री वाग्लेको दाबी : नीतिगत सुधार र सुशासनले राजस्व सङ्कलनमा सकारात्मक प्रभाव
जलसरोकार
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन्। सरकारले नीतिगत सुधार र सुशासनलाई प्राथमिकता दिएका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव देखिन थालेको उनकाे दाबी छ।
आन्तरिक राजस्व विभागले आयोजना गरेको ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले तय गरेका कर राजस्वका लक्ष्य पूरा गर्न थालेको बताए । उनका अनुसार असोज महिनामा कर राजस्वका लक्ष्य पूरा भएका छन्।
“असोजमा पूरै ट्याक्स रेभिन्युका टार्गेटहरू मिट गरेका छौँ। त्यसैले केही न केही काम भइराख्या छ। रिफर्मले नतिजा दिन थालेका छन्,” उनले भने।
उनले करदाता प्रोत्साहनका लागि सञ्चालन गरिएको बम्पर उपहार योजनालाई सुधार प्रक्रियाको एउटा सानो हिस्सा र उत्प्रेरणाका रूपमा व्याख्या गरे। यस्ता कार्यक्रमसँगै प्रणालीगत सुधारलाई अघि बढाउँदै स्वेच्छिक कर अनुपालन बढाउने सरकारको लक्ष्य रहेको उनकाे भनाइ छ।
“बम्पर उपहार योजना एउटा सानो अंश र उत्प्रेरणा हो, यसले पनि नतिजा लिएर आएको छ। सिस्टेमिक रिफर्मले पनि अब हामीलाई इकोनोमीमा मेनस्ट्रिम र इन्टर्नलाइज गरी अगाडि लैजाँदा स्वेच्छिक कर अनुपालनजस्ता कुरामा नतिजा आउने नै छन्,” अर्थमन्त्री वाग्लेले भने।
सुशासनको लाभांशका रूपमा राजस्व वृद्धि
अर्थमन्त्री वाग्लेले सरकारको लक्ष्यभन्दा बढी भन्सार राजस्व सङ्कलन हुनुलाई सुशासनको लाभांशका रूपमा बुझ्नुपर्ने बताए। अर्थतन्त्र सुधारका लागि सरकारले अघि सारेका कदम र सुशासनका कारण प्रतिकूल अवस्थाबीच पनि राजस्वका लक्ष्य भेट्टाउन सफल भइरहेको उनकाे दाबी छ।
“सरकारले अर्थतन्त्र सुधारका लागि चालेका कदम र गुड गभर्नेन्सको डिभिडेन्डका कारण हामी यस्तो प्रतिकूलताका बीच पनि अगाडि जाँदै गइरहेका छौँ र राजस्वका लक्ष्य पनि भेट्टाउँदै आइरहेका छौँ,” उनले भने।
वाग्लेले कर प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री र स्वचालित बनाउने कामलाई सुशासनको अभिन्न अंगका रूपमा अघि बढाइएको बताए ।
उनका अनुसार आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सहज, सुरक्षित, व्यवसायमैत्री र करदातामैत्री बनाउन आवश्यक प्राविधिक सुधारको काम भइरहेको छ।
कारोबारदेखि लेखा प्रतिवेदन तयारी, आय विवरण पेस तथा कर दाखिलासम्मका प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाउँदै कर प्रशासनको कार्यदक्षता बढाउने सरकारको योजना रहेको उनले बताए ।
करका दर र दायरामा पुनरवलोकन
सरकारले उद्यम तथा व्यवसायको प्रवर्द्धन, लगानी विस्तार र अर्थतन्त्रलाई चलायमान बनाउन कर नीतिमा सुधार गर्दै आएको अर्थमन्त्री वाग्लेले बताए ।
उनका अनुसार करका दर तथा दायराको पुनरवलोकन गर्ने काम भइरहेको छ। भन्सार महसुल र अन्तःशुल्कदेखि कर प्रशासनका अन्य क्षेत्रमा समेत सुधार प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
“सरकारले भन्सार महसुल, अन्तःशुल्कदेखि सबै क्षेत्रमा सुधार सुरु भएको छ,” उनले भने ।
नयाँ करदाता पोर्टल शुभारम्भ
कार्यक्रमकै अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ स्वरूपको करदाता पोर्टल शुभारम्भ गरे।
सोही अवसरमा आन्तरिक राजस्व विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा स्मारिकासमेत विमोचन गरिएको छ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए। उनले कर प्रशासनलाई प्रभावकारी बनाउने तथा राजस्व प्रणालीमा सुधार ल्याउने कामलाई विभागले निरन्तरता दिइरहेको बताए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
७९६ मेगावाट बिजुली नकिनेको भारतसँग हिउँदका लागि उसैसँग विद्युत् माग्दै नेपाल, प्रम बालेनको भ्रमणमा ऊर्जा व्यापारका पाँच प्रस्ताव
-
ऊर्जामन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट
-
भारतबाट ३५० मेगावाट आयातको अनुमति, ५६ मेगावाट निर्यात गर्न स्वीकृति
-
नेप्से १२.७९ अंकले घट्यो, कारोबार रकम बढेर ४ अर्ब ७३ करोड पुग्यो
-
अर्थमन्त्री वाग्लेको दाबी : नीतिगत सुधार र सुशासनले राजस्व सङ्कलनमा सकारात्मक प्रभाव
-
चिउरा किन्दा १० लाखको उपहार