७९६ मेगावाट बिजुली नकिनेको भारतसँग हिउँदका लागि उसैसँग विद्युत् माग्दै नेपाल, प्रम बालेनको भ्रमणमा ऊर्जा व्यापारका पाँच प्रस्ताव
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा ऊर्जा व्यापारका पाँच प्रस्ताव लैजाने तयारी, सुक्खायाममा चौबीसै घण्टा विद्युत् आयात र निर्यात बजारको सहज पहुँच नेपालको प्राथमिकता
जलसरोकार
काठमाडौं : भारतले विद्युत् निर्यातको अनुमति नदिँदा नेपालमा उत्पादित ठूलो परिमाणको बिजुली गत कात्तिकमा खेर गएको र यो मंसिर महिनामा पनि खेर जाने अवस्था सिर्जना भएको छ।
नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८३/८४ को विद्युत् माग तथा आपूर्तिसम्बन्धी प्रक्षेपणअनुसार कात्तिक ५ लाख ७३ हजार ३८५ मेगावाट घण्टा विद्युत् खेर गएको थियो। मंसिरमा पनि थप २ लाख ८९ हजार ७८७ मेगावाट घण्टा विद्युत् खेर जाने (जगेडा रहने) अनुमान छ।
प्राधिकरणको प्रक्षेपणअनुसार कात्तिकमा दैनिक औसत ७९६ मेगावाट र मंसिरमा ४०२ मेगावाट बराबरको ऊर्जा जगेडा रहने देखिएको छ। दुई महिनाको कुल जगेडा ऊर्जा ८ लाख ६३ हजार १७२ मेगावाट घण्टा पुग्ने अनुमान छ।
नेपालले भारतका हरियाणा, उत्तर प्रदेश र बिहारमा द्विपक्षीय सम्झौताअन्तर्गत विद्युत् निर्यात गर्दै आएकोमा त्यसको अनुमति गत अक्टोबर मसान्तमा समाप्त भएको थियो। प्राधिकरणले अनुमति समाप्त हुनुअघि नै गत अगष्टमा उक्त विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) मा समेत बिक्री गर्न पाउने व्यवस्था मिलाउन भारतसमक्ष प्रस्ताव गरेको थियो। तर भारतको तोकिएको निकाय (Designated Authority) बाट स्वीकृति प्राप्त नभएपछि अतिरिक्त विद्युत् निर्यातको बजार पहुँच प्रभावित भएको हो। यसले गर्दा प्राधिकरणले निजी क्षेत्रका विद्युत् गृहलाई कटौती (Despatch Instruction) गरेकाे छ।
यसैबीच, आगामी नोभेम्बर २२ मा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मन्त्रालयमार्फत भारतसमक्ष विद्युत् व्यापारसँग सम्बन्धित पाँचवटा प्रस्ताव अघि सारेको छ। सुक्खायाममा चौबीसै घण्टा विद्युत् आयात गर्न पाउने व्यवस्था, निर्यात अनुमतिमा सहजता र द्विपक्षीय विद्युत् व्यापार विस्तार नेपालका प्रमुख माग छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार नेपालले सुक्खायाममा भारतीय ऊर्जा विनिमय बजारबाट चौबीसै घण्टा (राउन्ड द क्लक-आरटीसी) विद्युत् खरिद गर्न पाउनुपर्ने प्रस्ताव गरेको छ।
सुक्खायाममा चौबीसै घण्टा विद्युत् आयातको माग
हाल भारतले नेपाललाई आईईएक्समार्फत सौर्य विद्युत् उत्पादन हुने समय (सोलार आवर) मा मात्रै विद्युत् खरिद गर्न दिइरहेको छ। बिहान र साँझको उच्च माग हुने समय अर्थात् पिक आवरमा समेत चौबीसै घण्टाको कारोबार प्रणालीमा बोलपत्र (बिड) गर्न पाउने व्यवस्था भारतले नगरेको प्राधिकरणको भनाइ छ।
‘सुक्खायाममा हामीलाई चौबीसै घण्टा विद्युत् चाहिन्छ। तर भारतले अहिले सोलार आवरमा मात्रै आईईएक्सबाट विद्युत् दिइरहेको छ। पिक आवरमा समेत आरटीसी मोडमा बिड गर्न पाउने व्यवस्था हुनुपर्छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने।
आईईएक्सबाट चौबीसै घण्टा विद्युत् खरिद गर्न दिने व्यवस्था सम्भव नभए कम्तीमा १३२ केभी प्रसारण लाइनमार्फत द्विपक्षीय (बाइलेटरल) सम्झौतामा सुक्खायाममा विद्युत् उपलब्ध गराउनुपर्ने नेपालको प्रस्ताव छ।
निर्यात अनुमतिमा सहजता खोज्दै नेपाल
नेपालले भारतमा विद्युत् निर्यात गर्दा हरेक वर्ष अनुमति लिनुपर्ने वा नवीकरण गर्नुपर्ने व्यवस्थालाई पनि सहज बनाउन माग गरेको छ।
हाल नेपालबाट भारतका हरियाणा, उत्तर प्रदेश र बिहारमा द्विपक्षीय सम्झौताअन्तर्गत विद्युत् निर्यात हुँदै आएको छ। हरियाणालाई करिब ४०० मेगावाट तथा उत्तर प्रदेश र बिहारलाई करिब २०० मेगावाट विद्युत् बिक्री गर्ने व्यवस्था रहेकोमा उक्त निर्यात अनुमतिको अवधि गत अक्टोबरमा सकिएको थियो।
प्राधिकरणले उक्त अनुमति समाप्त हुनुअघि नै गत अगस्टमा भारतको तोकिएको निकाय (डेजिग्नेटेड अथोरिटी-डीए) समक्ष द्विपक्षीय सम्झौताअन्तर्गत बिक्री भइरहेको विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा समेत बिक्री गर्न पाउने व्यवस्था मिलाउन प्रस्ताव पठाएको थियो। तर भारतबाट त्यसको स्वीकृति प्राप्त भएन।
यसका कारण द्विपक्षीय सम्झौताअन्तर्गत बिक्री हुँदै आएको विद्युत् आईईएक्समार्फत बिक्री गर्न नपाउँदा नेपालमा अतिरिक्त विद्युत् जगेडा रहने अवस्था सिर्जना भएको श्रेष्ठले बताए।
विद्युत् निर्यातको अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने र त्यसका लागि लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाले नेपालको विद्युत् व्यापारमा अनिश्चितता सिर्जना गरेको प्राधिकरणको भनाइ छ। त्यसैले निर्यात अनुमतिलाई दीर्घकालीन र सहज बनाउन नेपालले भारतसँग आग्रह गरेको छ।
६५४ मेगावाट आयात अनुमतिको अवधि आगामी मेसम्म खोजियो
नेपालले भारतबाट विद्युत् आयातका लागि प्राप्त ६५४ मेगावाटको अनुमतिको अवधि पनि आगामी वर्ष मे महिनासम्म विस्तार गर्न प्रस्ताव गरेको छ।
भारतले ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ केभी प्रसारण लाइनमार्फत ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत् आयात गर्न नेपाललाई अनुमति दिएको छ। तर उक्त अनुमति आगामी डिसेम्बर ३१ सम्मका लागि मात्रै हो। जनवरी २०२७ देखि आयात गर्न पाउने विद्युत्को परिमाण डिसेम्बरमा पुनरावलोकन गर्ने भारतको निर्णय छ।
हिउँदमा नेपालको आन्तरिक उत्पादन घट्ने र विद्युत् माग बढ्ने भएकाले आयात अनुमतिको अवधि आगामी मे महिनासम्म कायम गरिदिन नेपालले भारतसँग प्रस्ताव गरेको श्रेष्ठले बताए।
आईईएक्सबाट नदिए २०० मेगावाट द्विपक्षीय व्यवस्था गर्न माग
नेपालले सुक्खायाममा आईईएक्समार्फत चौबीसै घण्टा विद्युत् आयात गर्न पाउने व्यवस्था नभए वैकल्पिक रूपमा कम्तीमा २०० मेगावाट विद्युत् द्विपक्षीय व्यवस्थाबाट उपलब्ध गराउन पनि भारतसँग आग्रह गरेको छ।
यसका लागि भारतको पावर एक्सचेन्ज कमिटी (पीईसी) संयन्त्रमार्फत उत्तर प्रदेश, बिहार तथा टनकपुरलगायतका क्षेत्रबाट विद्युत् उपलब्ध गराउने विकल्प प्रस्ताव गरिएको छ।
प्राधिकरणको प्रस्तावअनुसार भारतीय ऊर्जा विनिमय बजारबाट आरटीसी प्रणालीमा विद्युत् खरिद गर्न नपाए पनि द्विपक्षीय संयन्त्रमार्फत निश्चित परिमाणको विद्युत् उपलब्ध गराउने व्यवस्था हुनुपर्छ।
वर्षायाममा जगेडा, हिउँदमा अभाव
प्राधिकरणको विद्युत् माग तथा आपूर्तिसम्बन्धी प्रक्षेपणले नेपालको विद्युत् प्रणालीमा रहेको मौसमी असन्तुलन पनि देखाउँछ। कात्तिक र मंसिरमा अतिरिक्त विद्युत् उत्पादन हुने अनुमान गरिए पनि पुसदेखि चैतसम्म भने आन्तरिक उत्पादनले माग धान्न नसक्ने देखिएको छ।
प्रक्षेपणअनुसार पुसमा १ लाख ८४ हजार १२१, माघमा ३ लाख ३२ हजार ७४९, फागुनमा ३ लाख २९ हजार ७५१ र चैतमा २ लाख ९१ हजार ६३६ मेगावाट घण्टा ऊर्जा अभाव हुने अनुमान छ।
यसले वर्षायाममा अतिरिक्त विद्युत् बिक्री गर्न बजार र अनुमति खोज्नुपर्ने तथा हिउँदमा त्यही विद्युत् अभाव पूर्ति गर्न भारतबाट आयात गर्नुपर्ने नेपालको संरचनागत समस्या उजागर गरेको छ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले अघि सार्न खोजेका ऊर्जा व्यापारसम्बन्धी प्रस्तावहरू कार्यान्वयनमा आए विद्युत् आयात तथा निर्यातको व्यवस्थापन सहज हुने प्राधिकरणको अपेक्षा छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
७९६ मेगावाट बिजुली नकिनेको भारतसँग हिउँदका लागि उसैसँग विद्युत् माग्दै नेपाल, प्रम बालेनको भ्रमणमा ऊर्जा व्यापारका पाँच प्रस्ताव
-
ऊर्जामन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट
-
भारतबाट ३५० मेगावाट आयातको अनुमति, ५६ मेगावाट निर्यात गर्न स्वीकृति
-
नेप्से १२.७९ अंकले घट्यो, कारोबार रकम बढेर ४ अर्ब ७३ करोड पुग्यो
-
अर्थमन्त्री वाग्लेको दाबी : नीतिगत सुधार र सुशासनले राजस्व सङ्कलनमा सकारात्मक प्रभाव
-
चिउरा किन्दा १० लाखको उपहार