सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भारतबाट ३५० मेगावाट आयातको अनुमति, ५६ मेगावाट निर्यात गर्न स्वीकृति

माघ-फागुनमा दैनिक ५०० मेगावाटसम्म निरन्तर आयात गर्नुपर्ने, उच्च मागको समयमा आवश्यकता ९०० मेगावाटसम्म पुग्ने प्राधिकरणको अनुमान

जलसरोकार
मंगलबार, मंसिर ०१, २०८३ | १५:४९:२८ बजे

काठमाडौं :नेपाल विद्युत्‌ प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत्‌ आयात गर्न अनुमति पाएको छ। भारतले नेपालका तीन जलविद्युत्‌ आयोजनाबाट उत्पादित ५६.०९५ मेगावाट विद्युत्‌ भारतीय बजारमा बिक्री गर्न पनि स्वीकृति दिएको छ।

भारतको विद्युत्‌ मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत्‌ प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत्‌ आयात गर्न नेपाल विद्युत्‌ प्राधिकरणलाई अनुमति दिएको हो।

यो अनुमति १ मंसिर २०८३ (१७ नोभेम्बर २०२६) देखि १५ साउन २०८४ (३१ जुलाई २०२७) सम्म लागू हुनेछ। तर बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म भारतीय ऊर्जा विनिमय बजारबाट विद्युत्‌ आयात गर्न पाइने छैन। यी दुवै अवधि नेपालको विद्युत्‌ माग उच्च हुने समय हुन्।

अनुमतिअनुसार कटैया-कुशाहा, रामनगर-सुरजपुरा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया-मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत्‌ आयात गर्न सकिनेछ।

नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट विद्युत्‌ आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा माग र आपूर्तिको व्यवस्थापन गर्न सहज हुने बताएका छन्।

तर प्राधिकरणकै प्रक्षेपणअनुसार प्राप्त आयात अनुमतिभन्दा विद्युत्‌को आवश्यकता बढी हुने देखिएको छ। गत वर्षको माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म आन्तरिक उत्पादनभन्दा विद्युत्‌को माग बढी हुने अनुमान छ।

विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर विद्युत्‌ आयात गर्नुपर्ने प्राधिकरणको आकलन छ। उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत्‌ आयात आवश्यक पर्ने अनुमान गरिएको छ। पुस र चैतमा तुलनात्मक रूपमा कम आयात गरे पुग्ने प्राधिकरणको विश्लेषण छ।

यसले हिउँदमा विद्युत्‌ आपूर्ति व्यवस्थापनका लागि भारतबाट प्राप्त ३५० मेगावाटको अनुमति मात्रै पर्याप्त नहुने देखाउँछ। विशेषगरी उच्च माग हुने बिहान र साँझको समयमा आईईएक्सबाट विद्युत्‌ आयात गर्न नपाइने व्यवस्थाले थप चुनौती सिर्जना गर्न सक्छ।

५६.०९५ मेगावाट निर्यातको अनुमति

भारतले नेपालबाट उत्पादित थप ५६.०९५ मेगावाट विद्युत्‌ भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न स्वीकृति दिएको छ। भारतको विद्युत्‌ मन्त्रालयबाट प्राप्त स्वीकृतिअनुसार ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत तीनवटा जलविद्युत्‌ आयोजनाको विद्युत्‌ निर्यात गर्न सकिनेछ।

निर्यात अनुमति पाउने आयोजनामा अपर त्रिशूली खोला-ए, कालङ्गाघाट र साङ्घु खोला छन्। अपर त्रिशूली खोला-एबाट २१.८२५ मेगावाट, कालङ्गाघाटबाट १४.८७ मेगावाट र साङ्घु खोलाबाट १९.४ मेगावाट गरी कुल ५६.०९५ मेगावाट विद्युत्‌ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो। यी आयोजनाबाट उत्पादित विद्युत्‌ १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म भारतीय बजारमा बिक्री गर्न सकिनेछ।

तर निर्यातको अनुमति प्राप्त हुनु र स्वीकृत परिमाणअनुसार वास्तविक विद्युत्‌ बिक्री हुनु फरक विषय हुन्। हिउँदमा नदीको बहाव घट्ने भएकाले आयोजनाहरूको उत्पादन पनि घट्छ। त्यसैले स्वीकृत निर्यात क्षमता भए पनि वास्तविक निर्यात आयोजनाको उत्पादन र बजारको अवस्थामै निर्भर रहनेछ।

बाढीले ४३१ मेगावाट प्रणालीबाहिर

यस वर्षको हिउँदमा विद्युत्‌ आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बन्नुको अर्को कारण जलविद्युत्‌ आयोजना तथा प्रसारण संरचनामा पुगेको क्षति हो।

रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत्‌ आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय विद्युत्‌ प्रणालीबाट विच्छेद भएका छन्।

यी आयोजनाहरू प्रणालीमा पुनः जोडिन नसक्दा हिउँदमा उपलब्ध हुन सक्ने आन्तरिक विद्युत्‌ उत्पादन थप प्रभावित हुने अवस्था छ। नदीको बहाव घट्ने समयमा जलविद्युत्‌ आयोजनाहरूको उत्पादन जडित क्षमताभन्दा कम हुने भएकाले प्रणालीबाट विच्छेद भएका आयोजनाको प्रभाव वास्तविक उत्पादनका आधारमा अझ महत्त्वपूर्ण हुन्छ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार बाढीबाट क्षतिग्रस्त आयोजनाहरूको अवस्था र आगामी हिउँदको मागलाई ध्यानमा राखेर विद्युत्‌ आपूर्ति व्यवस्थापनको तयारी गरिएको छ।

वर्षायाममा निर्यात, हिउँदमा आयातको चक्र

आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव क्रमशः बढ्दै जाने भएकाले आन्तरिक विद्युत्‌ उत्पादन वृद्धि हुने र आयात प्रतिस्थापन हुँदै निर्यात सुरु हुने प्राधिकरणको अनुमान छ।

नेपालको विद्युत्‌ प्रणालीमा देखिँदै आएको मौसमी असन्तुलनको यो एउटा प्रमुख उदाहरण हो। वर्षायाममा नदीको बहाव बढ्दा आन्तरिक उत्पादन मागभन्दा बढी हुने र अतिरिक्त विद्युत्‌ भारतलगायतका बजारमा बिक्री गर्नुपर्ने हुन्छ। तर हिउँदमा नदीको बहाव घट्दा आन्तरिक उत्पादनले माग धान्न नसकेर भारतबाट विद्युत्‌ आयात गर्नुपर्ने अवस्था दोहोरिँदै आएको छ।

भारतबाट ३५० मेगावाट विद्युत्‌ आयात र नेपालबाट ५६.०९५ मेगावाट निर्यातको पछिल्लो अनुमतिले पनि नेपालको विद्युत्‌ व्यापार यही मौसमी संरचनामा निर्भर रहेको देखाउँछ।

नेपालले विद्युत्‌ उत्पादन क्षमता विस्तार गर्दै लगे पनि सुक्खायाममा आपूर्ति सुनिश्चित गर्ने जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजनाको विकास, आन्तरिक प्रसारण पूर्वाधार र वैकल्पिक बजारको पहुँच अपेक्षित रूपमा विस्तार हुन सकेको छैन।

अर्कोतर्फ, भारतको स्वीकृति र बजार पहुँचमा निर्भर रहनुपर्ने अवस्थाले नेपालको विद्युत्‌ व्यापारलाई थप संवेदनशील बनाएको छ। वर्षायाममा अतिरिक्त विद्युत्‌ बिक्री गर्न र हिउँदमा आवश्यक विद्युत्‌ खरिद गर्न दुवै अवस्थामा भारतीय बजारको पहुँच महत्त्वपूर्ण छ।

त्यसैले उत्पादन क्षमता विस्तारसँगै विद्युत्‌ व्यापारको विविधीकरण, प्रसारण पूर्वाधारको विस्तार र आन्तरिक उत्पादनको मौसमी सन्तुलन कायम गर्ने आयोजना विकास गर्नु नेपालको ऊर्जा सुरक्षाका लागि अपरिहार्य देखिएको छ।

प्रकाशित मिति : मंगलबार, मंसिर ०१, २०८३ | १५:४९:२८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया