सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिउरा किन्दा १० लाखको उपहार

जलसरोकार
मंगलबार, मंसिर ०१, २०८३ | १३:०३:१६ बजे

 

काठमाडौं : बजारबाट जम्मा ३०० रुपैयाँको चिउरा खरिद गर्दा पनि १० लाख रुपैयाँ नगद उपहार जित्न सकिन्छ भन्ने उदाहरण भक्तपुरका एक उपभोक्ताले प्रस्तुत गरेका छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भक्तपुरको सूर्यविनायक निवासी राम श्रेष्ठले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्।

विभागका अनुसार श्रेष्ठले गत कात्तिक १६ देखि ३० गतेसम्मको कारोबार अवधिमा स्थानीय पसलबाट ३०० रुपैयाँ बराबरको चिउरा खरिद गरेका थिए। खरिदपछि उनले विद्युतीय माध्यमबाट जारी भएको आधिकारिक बिलसमेत लिएका थिए।

सोही बिल विभागको प्रणालीमा प्रविष्ट भएपछि गोलाप्रथा (लक्की ड्र) मार्फत छनोट हुँदा श्रेष्ठ १० लाख रुपैयाँ नगद पुरस्कारका लागि भाग्यमानी बनेका हुन्।

उपभोक्तालाई सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने र व्यवसायीलाई पारदर्शी कारोबारका लागि प्रोत्साहित गर्ने उद्देश्यले विभागले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

विद्युतीय प्रणालीबाट जारी हुने बीजकलाई केन्द्रीय प्रणालीमा आबद्ध गरी उपभोक्तालाई गोलाप्रथामार्फत पुरस्कृत गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ। यस्तो कार्यक्रमले कारोबारलाई औपचारिक दायरामा ल्याउनुका साथै कर छली तथा राजस्व चुहावट नियन्त्रणमा समेत सहयोग पुग्ने विभागको विश्वास छ।

विभागका अनुसार बजारमा हुने साना तथा ठूला सबै कारोबारलाई करको दायरामा ल्याउन सके राज्यको राजस्व संकलनमा सुधार आउनुका साथै वित्तीय स्रोत परिचालनमा पनि सकारात्मक योगदान पुग्छ।

विभागले आम उपभोक्तालाई जुनसुकै वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा आधिकारिक मूल्य अभिवृद्धि कर (भ्याट) वा स्थायी लेखा नम्बर (प्यान) सहितको बिल लिन आग्रह गरेको छ।

तीन सय रुपैयाँको चिउरा खरिद गर्दा आधिकारिक बिल लिएकै कारण १० लाख रुपैयाँको पुरस्कार जितेका श्रेष्ठको घटनाले सामान्य किनमेलमा समेत बिल लिनुको महत्त्व उजागर गरेको छ। यसले उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्नुका साथै व्यवसायीलाई पनि कारोबार पारदर्शी बनाउन दबाब सिर्जना गर्ने देखिन्छ।

प्रकाशित मिति : मंगलबार, मंसिर ०१, २०८३ | १३:०३:१६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया