यसपालिको बजेटको राजनीतिक र कानुनी हैसियत जेजस्तो भए पनि त्यो आफ्नो ठाउँमा छ । तर नयाँ तवरले राज्य संयन्त्रलाई कमजोर पार्ने र निजी क्षेत्रलाई अनेक दाउमार्फत पोस्ने उपक्रम देखिएको छ । अर्थात् निजी क्षेत्र पनि नयाँ भेरियन्टका रूपमा विद्युत् क्षेत्रमा प्रवेश गर्न खोजेको प्रस्टै देखिन्छ । मर्कामा परेका निजी क्षेत्रका कुनै पनि मुद्दा उठान र सम्बोधन भएनन् । राज्यका आफ्नै संस्था बलियो पार्ने काम भएन । संसद्मा विचाराधीन नयाँ विद्युत् ऐनमा जलविद्युत् आयोजनाको लाइसेन्स ५० वर्ष पुर्याइएको छ । यसरी नीति निर्मातालाई पैसा खुवाएर आफ्नो दुनो सोझ्याउन निजी क्षेत्र सफल देखिएको छ । ऐनमै प्रभावित पार्न सक्ने निजी क्षेत्रले बजेट, नियमावली, कार्यविधि आफू अनुकूल त बनाउनै भए ।
जलस्रोत भनेको निजी क्षेत्रको पेवा होइन, यो राज्यको हो । यो सधैंभरि निजी क्षेत्रको हुन सक्दैन । हिजो खिम्ती र भोटेकोसीले दलहरूलाई आर्थिक प्रलोभनमा पारी ५० वर्षको लाइसेन्स हत्याउन सफल भएको थियो । एकजना विदेशी प्रवर्द्बक भन्थे, ‘नेपालमा नीति खरिद गर्नुपर्छ ।’ त्यही नीति खरिदअन्तर्गत नयाँ विद्युत् ऐन आएको छ । यसपालि आएको बजेटले निजी क्षेत्रका आगामी योजना के छन् ? विद्युत्को पाटोबाट बजेटलाई नियाल्दा निजी क्षेत्र नयाँ भेरियन्टका रूपमा आएको देखिन्छ, जुन दोस्रो लहर अझ बढी डरलाग्दो छ, राज्यको स्रोत र साधन लुट्ने प्रयोजनमा ।
७५ प्रतिशत अनुदान
बजेटले आयोजनास्थलसम्म प्रसारण लाइन र प्रवेश मार्ग प्रवर्द्बक आफैँले निर्माण गरेमा ७५ प्रतिशत सरकारले शोधभर्ना गरिदिने व्यवस्था गरेको छ । हिजो निजी क्षेत्रलाई आयोजनास्थलसम्म प्रसारण लाइन बनाएबापत भनेर नै विद्युत् प्राधिकरणले हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा विद्युत् खरिद दर (पीपीए) दिएकै हो । यो आफैँमा उच्च छ । अब प्रवेश मार्ग र प्रसारण लाइन बनाए उल्टै ७५ प्रतिशत शोधभर्ना दिनु भनेको सिधै राज्यदोहन गर्नु हो । हिजो केही प्रवर्द्बकहरूले साबिकको जिविस र गाविसहरूले स्थानीय तहमा निर्माण गरेका सडकलाई आफूले बनाएको भनी त्यसको रकम आयोजनामा पुँजीकृत गरेका थिए । अर्थात् खोला छेउको बाटो बनायो राज्यले, त्यसको लागत लिए केही निजी क्षेत्रले । अरुले गरेको कामको त डकैती भएको थियो भने अब सिधै निजी क्षेत्रलाई प्रसारण लाइन बनाएर राज्यको स्रोतको दुरुपयोग हुने निश्चित छ । निश्चय पनि प्रसारण तथा प्रवेश मार्गको शोधभर्ना राज्यले गर्ने हो भने पीपीए दर पनि त्यहीअनुसार घटाउनु पर्छ । अनि मात्र न्यायिक हुन्छ । सबै निजी क्षेत्रले बदमासी गरेका छैनन् । तर अधिकांशको दाउ यही प्रसारण लाइन र प्रवेश मार्गहरूमो ओभर कस्टिङ गरी बनाउँदा बनाउँदै आफ्नो शेयर पनि राख्ने र खल्ती पनि भरिने दोहोरो काम एकैसाथ हुँदै आएको छ । त्यही भएर अधिकांश निजी क्षेत्रको प्रतिमेगावाट उत्पादन लागत २० करोड माथि पर्दै आएको छ । अपवादका रुपमा केही निजी क्षेत्रका प्रतिमेगावाट २० करोडभन्दा कम छन् ।
विद्युत्को पाटोबाट बजेटलाई नियाल्दा निजी क्षेत्र नयाँ भेरियन्टका रूपमा आएको देखिन्छ, जुन दोस्रो लहर अझ बढी डरलाग्दो छ, राज्यको स्रोत र साधन लुट्ने प्रयोजनमा ।
प्रसारण शुल्क
बजेटले अर्को एउटा अनौठो बन्दोबस्त गरेको छ- उद्योगले आफ्नो खपतका लागि आधुनिक ऊर्जा उत्पादन तथा प्रसारण गर्न ह्विलिङ चार्ज (प्रसारण शुल्क) लिई अनुमति दिने व्यवस्था मिलाइनेछ । यो व्यवस्थालाई कोही कोहीले अब बिजुली सस्तो हुने भयो, पीपीए गरिरहनु नपर्ने भयो, उद्योगले चाहेको बेला बिजुली प्राप्त गर्न सकिने भयो भनी व्याख्या गरेका छन् । तर यसका व्यावहारिक कठिनाइहरू धेरै छन् । यो व्यवस्था लागू गर्न एउटा सर्त पूरा गर्नुपर्ने हुन्छ । त्यो हो- ऊर्जा व्यापार कम्पनी सञ्चालन । प्राधिकरणले सरकारकै अन्य निकायहरूसँगको साझेदारीमा २०७३ सालमै नेपाल ऊर्जा व्यापार कम्पनी स्थापना गरिसकेको छ । तर सरकारले त्यसलाई सञ्चालन गर्ने अनुमति अहिलेसम्म दिएको छैन । हो, यो कम्पनीले मात्र बजेटले भनेजस्तो व्हिलिङ चार्ज लिएर कुनै उद्योगीले आफैं बिजुली उत्पादन गर्न सक्छ ।
कुनै पनि उद्योग चौबीसै घण्टा सञ्चालन हुँदैन । कुनै कुनै प्रकृतिका त्यस्ता एकाध उद्योग हुन्छन्, जो उत्पादन प्रक्रिया रोकिँदैन । जस्तो सिमेन्ट, स्पिनिङ मिल्स आदि । तर यस्ता उद्योग पनि ३६५ दिन २४ घण्टा चल्दैन । मर्मतका लागि पनि बेलाबेला उद्योग बन्द गर्नुपर्ने हुन्छ । अब उद्योग बन्द भएको बेला र नचलेको अवस्थामा त्यो उद्योगलाई भनेर ल्याइएको बिजुली कहाँ लैजाने ? कि विद्युत् गृह पनि बन्द गरेरै राख्ने ? विद्युत् गृह बन्द नगर्ने हो भने त उद्योग नचलेका बेला त्यो बिजुलीलाई राष्ट्रिय प्रसारण (ग्रीड) मै छाड्ने हो । अब कि सित्तैमा छाड्नुपर्यो, होइन भने ग्रीडलाई दिएबापत पैसा पनि लिनु पर्यो । उद्योगका लागि डेडिकेटड विद्युत्गृह निर्माण गरेर वा आफैँले बिजुली उत्पादन गर्ने भन्ने कुरा सुन्दा त मीठो नै लाग्छ । तर जलविद्युत् उत्पादन गर्दा लाग्ने पैसाचाहिँ (पे ब्याक) कसरी उठाउने ? यो अहम् प्रश्न छ । यसैका लागि ऊर्जा व्यापार कम्पनी चाहिन्छ ।
अब सरकारले प्राधिकरणको सहायक कम्पनीका रूपमा गठित ऊर्जा व्यापार कम्पनीलाई नै चालू गराउने हो भने त्यो स्वागतयोग्य हुनेछ । होइन, विशाल ग्रुपको व्यापार कम्पनी (हाल गठनको प्रक्रियामा रहेको) लाई दिने हो भने त्यो अर्को डकैती हुनेछ । गठन भइसकेको कम्पनीलाई रोक्ने अनि विशाल ग्रुपको कम्पनी खडा गरेर त्यसलाई प्राधिकरणको व्यापार गर्न दिने परिपञ्चमा सरकार लागिपरेकाले यो आशंकालाई मलजल भएको छ ।
गाई पाल्ने प्राधिकरण, दूध खाने निजी क्षेत्र
बजेटको बुँदा नं. ३१२ मा एउटा बन्दोबस्त छ- ‘जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि बाँध र विद्युत्गृह छुट्टाछुट्टै प्रवर्द्बकबाट निर्माण गरी निजी क्षेत्रलाई आकर्षित गरिनेछ । नेपाल विद्युत् प्राधिकरणबाट जलाशय निर्माण गरी उक्त जलाशयमा जम्मा भएको पानी, विद्युत्गृह तथा अन्य सहायक संरचना निर्माण र सञ्चालन गर्ने प्रवर्द्बक कम्पनीलाई शुल्क लिई उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । जलाशययुक्त बाँधको बहुउपयोग गरी प्रतिफल दर बढाइनेछ ।’
यो बुँदा किन राखिएको भन्ने स्वयं अर्थ मन्त्रीलाई थाहा नहुन सक्छ । प्राधिकरण वा ऊर्जा मन्त्रालयबाट लेखेर पठाए, अर्थमन्त्रीले वाचन गरिदिएजस्तो देखिन्छ । प्राधिकरणको सहायक कम्पनी साविकको नलसिंहगाड जलविद्युत् आयोजना जलाशययुक्त, विकट, लोडसेन्टरदेखि टाढा, ठूलो भौतिक संरचना, लामो प्रसारण लाइन आदिका कारण अत्यन्त महँगो आयोजना हो । यो आयोजना जाइकाले अघि बढाइरहेको छ । जापानजस्तो मुलुक, जसको कुनै भूराजनीतिक र रणनीतिक स्वार्थ छैन, ले हात हालिसकेपछि झिक्न अप्ठेरो मानेको हो । जाइकाले आफ्नो इज्जत जोगाउन यो आयोजना छाडेको छैन । नत्र यो वित्तीय रूपले अयोग्य भनिसकेको आयोजना हो । त्यही भएर जाइकाले यसको जलाशययुक्त संरचनाका लागि ०.०१ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिने, विद्युत्गृह भने प्राधिकरण वा निजी क्षेत्रलाई व्यापारिक तवरमा बनाउने भन्ने प्रस्ताव गरेको छ । जलाशयको जिम्मा जाइकाले लिनेबित्तिकै बाँकी सहायक संरचना सस्तो पर्न जान्छ र आयोजनामा वित्तीय लगानी उचित हुन आउँछ भन्ने जाइकाको प्रस्ताव हो । बजेटमा नलसिंगाडलाई नै लक्षित गरेर यस्तो बन्दोबस्ती गरिएको हो भने केही फरक परेन । र, यस्तो विषयलाई राष्ट्रिय बजेटजस्तो दस्तावेजमा हालिराख्नुपर्ने थिएन । तर जाइकाको सिको अरु आयोजनामा पनि गर्ने हो भने त्यो प्राधिकरणको हितविरोधी अभियान हुनेछ । यो भनेको गाइ प्राधिकरणले पाल्ने, दूधचाहिं निजी क्षेत्रले खानेजस्तै कुरा हो ।
विश्वका कुनै पनि देशमा निजी क्षेत्रले जलाशययुक्त आयोजना बनाएका छैनन् र बनाउन पनि सक्दैनन् । त्यही भएर जलाशययुक्तजति राज्यको जिम्मेवारी हो । अहिलेसम्म स्वदेशी तथा विदेशी निजी क्षेत्रले नेपालमा जलाशय त के अर्धजलाशययुक्त आयोजना बनाउन सकेका छैनन् । किनभने यो बनाउन असाध्यै महँगो पर्छ ।
अप्पर अरुण जोगाउनै मुश्किल
बजेटको बुँदा नं. ३१३ मा माथिल्लो अरुणसहित अन्य आयोजनाको ‘लगानी ढाँचा यकिन गरी पूर्वतयारी कार्य पूरा गरिनेछ’ उल्लेख छ । संखुवासभाको आकर्षकमध्येको एक माथिल्लो अरुण जोगाउन प्राधिकरणलाई हम्मे परेको छ । युवराज खतिवडा अर्थमन्त्री हुँदा निजी क्षेत्रलाई यो आयोजना सुम्पन निकै कसरत गरेका थिए । कुलमान घिसिङले रोकेर जोगाएका हुन्। यो आयोजनाबाट प्रतियुनिट ३ रुपैयाँमा बिजुली उत्पादन गर्न सकिन्छ । अति सस्तो छ । यसको वार्षिक बिजुली ४४ सय गेगावाट घण्टा (४ अर्ब ४० करोड युनिट) छ । देशभर वार्षिक करिब सात अर्ब युनिट बिजुली खपत हुन्छ । त्यही भएर स्वदेशी दलाल र विदेशी कम्पनीले यो आयोजनामा आँखा लगाउँदै आएका छन् । बूढीगण्डकीजस्तो राष्ट्रिय गौरवको आयोजना प्रधानमन्त्री ओली स्वयंले चिनियाँ कम्पनी गेजुवालाई बेचे भने खासै चर्चामा नरहेको माथिल्लो अरुण अहिलेको सर्वसत्तावादी सरकारले विदेशीलाई नसुम्पेला भन्न सकिन्न । खतिवडा भन्थे, ‘दूधकोसी र अप्पर अरुण निजी क्षेत्रलाई दिनुपर्छ, राज्य जमानत बसी विदेशी ऋण ल्याउन सकिँदैन । ऋणको सीमितता छ अरु कल्याणकारी क्षेत्रमा लगानी गर्नुपर्छ ।’ खतिवडाको नियत थियो राज्यले ग्यारेन्टी दिन नसकेपछि दूधकोसी र माथिल्लो अरुण स्वतः निजीको पोल्टामा पर्छ । विश्व बैंकले पनि माथिल्लो अरुण निजी क्षेत्रलाई दिनुपर्छ भन्दै आएको थियो र छ । कुलमान घिसिङले ‘तिमीहरू लगानी नगर्ने हो भने हामी आफै स्रोत व्यवस्थापन गर्छौं’ भनेपछि विश्व बैंक चूप लागेको थियो । अहिले पुनः सल्बलाएको छ ।
बजेटमा नछुट्ने आयोजना
चार वर्षदेखि केपी ओलीको सरकारले बजेट बनाउँदै आएको छ । ओली सरकारका हरेक बजेटमा पश्चिम सेती, बूढीगण्डकी, तमोरजस्ता आयोजना बनाइनेछ भनेर छुट्दैन । यसपालि त पञ्चेश्वर पनि परेछ । पश्चिम सेतीमा चिनियाँ कम्पनीलाई सम्हाल्न नसकेपछि उम्केको उम्कै छ । त्यसपछि अरु लगानीकर्ता आएका छैनन् । सरकारले बजेटमा चाहिँ बनाउने भन्न छुटाउँदैन । त्यसैगरी बूढीगण्डकीको बेचबिखन स्वयं तीन दल मिलेर भएको हो । पहिलोपटक माओवादीले बेच्यो । माओवादीले बेच्नुअघि नै पहिलोपटक प्रधानमन्त्री भएका बेला ओलीले बेच्न सक्दो प्रयास गरेकै थिए । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि माओवादीले अवैध तरिकाले बेचेको बूढीगण्डकीलाई मन्त्रिपरिषद्बाट निर्णय गराएर वैध बनाइयो । पछि माओवादी केन्द्र र एमाले मिलेर चुनावी तालमेल गर्ने भएपछि त्यसको रनाहामा परेर देउवा आफैले वैध बनाएको बूढीगण्डकीलाई आफैँले खारेज गरे । देउवाले खारेज गरेको बूढीगण्डकी दुई तिहाइको ओली सरकार आएपछि मन्त्रिपरिषद्बाटै निर्णय गरेर गेजुवालाई दिई छाडे । यसरी माओवादी, कांग्रेस र एमाले तीनवटै दल मिलेर बूढीगण्डकीको बेचबिखन गरे । यसैका लागि पेट्रोलमा कर लगाएर महँगो पारिएको छ । पेट्रोलमा करबापत राज्यले बूढीगण्डकीका नाममा ५० अर्ब रुपैयाँ उठाइसक्यो ।
सकारात्मक पाटा
बजेटले सबैको चाहना र परिस्थितिबमोजिम विद्युतीय गाडी र विद्युतीय उपकरण खपतमा जोड दिएको छ । यो स्वागतयोग्य र सह्रानीय छ । अघिल्ला विद्वान अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म भन्सार लगाइदिएका थिए । अन्तःशुल्क पनि ४० देखि ८० प्रतिशत पुर्याएका थिए । अहिले पौडेलेले भन्सार शुल्क १० प्रतिशतमा झारेर अन्तःशुल्क नलाग्ने बनाएका छन् । खतिवडाले विशाल ग्रुपलाई फाइदा पुग्ने गरी बजेट आउनुअघि नै बीरगञ्ज भन्सारमा रहेका विद्युतीय गाडी छुटाइदिएका थिए । बजेटअघि नै विशाल ग्रुपले ल्याएको ती ११५ वटा विद्युतीय सवारी साधनबाट खतिवडाले ४० करोड रुपैयाँ राजस्व विशाल ग्रुपलाई लुटाएका थिए । खतिवडाले नै सोही विशाल ग्रुपले आयात गरेको चकलेटमा ४० प्रतिशत रहेको भन्सार दरलाई १० प्रतिशतमा झारेर २५ करोड रुपैयाँ सरकारलाई घाटा पारिदिएका थिए । अझ इन्डक्सन चुल्होमा कर बढाएर आयात अयोग्य बनाइदिएका थिए खतिवडाले । नेपाली उद्योगले प्रयोग गर्ने टर्बाइनको कच्चा पदार्थमा कर बढाएर आयातीत टर्बाइनमा भन्सार घटाइदिएका थिए । यसपालि पौडेलले चकलेटमा घटाइएको कर बढाएर एउटा अर्थमन्त्रीको दायित्व निर्वाह गरेका छन् ।
स्वदेशमै विद्युत खपत बढाउन जरुरी भइसकेको छ । प्राधिकरणले बर्खायामको बिजुली खेर फाल्नुपर्ने स्थिति छ । अबको सात वर्षभित्र प्राधिकरणको ८२ अर्ब युनिट बिजुली जगेडा हुँदैछ । त्यसको अहिलेको औसत मूल्यमा आठ खर्ब रुपैयाँ हुन आउँछ । कम्तीमा नीतिगत हस्तक्षेपद्वारा यहीं बिजुली खपत गराउने पौडेलको यो प्रयास देशहित सापेक्ष छ । खतिवडाले पहिलो वर्षमै यति काम गरिदिएका भए ओली सरकार यति बदनाम हुँदैनथ्यो ।
नाेट : पत्रकार विकास थापा द्वारा लिखित विचारहरूकाे संग्रह
जेठ १७, २०७८ सोमवार १६:५२ बजे
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का