अपर तामाकोशी नाफामा फर्कियो, वित्तीय भार अझै चुनौती
जलसरोकार
काठमाडौं : अपर तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) ले विद्युत् बिक्रीबाट हुने आम्दानी बढाउँदै चालु आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा कमाएको छ। तर आयोजनामा रहेको ठूलो ऋणको दायित्व, उच्च वित्तीय खर्च र विगतको सञ्चित घाटाका कारण कम्पनीको वित्तीय अवस्था अझै चुनौतीपूर्ण रहेको देखिएको छ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब ६ करोड ६८ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो त्रैमासमा विद्युत् बिक्रीबाट भएको आम्दानी ७१ करोड १८ लाख रुपैयाँ थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ६९ करोड २३ लाख ७७ हजार रुपैयाँ थियो।
विद्युत् बिक्रीबाट भएको आम्दानी बढेसँगै कम्पनी सञ्चालनबाट हुने नाफामा पनि सुधार आएको छ। चौथो त्रैमासमा सञ्चालन नाफा ६० करोड ८३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो त्रैमासमा यस्तो नाफा ४३ करोड २५ लाख रुपैयाँ थियो भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ करोड ११ लाख रुपैयाँ थियो।
तर सञ्चालनबाट नाफा भए पनि कम्पनीको ठूलो वित्तीय खर्चले त्यसको ठूलो हिस्सा खाइदिएको छ। चौथो त्रैमासमा कम्पनीको वित्तीय खर्च (सावाँ ब्याज) मात्रै ५१ करोड ५२ लाख ८४ हजार रुपैयाँ छ।
यसका कारण कर्मचारी बोनस तथा करअघिको नाफा ९ करोड ४४ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ। कर्मचारी बोनस कटाएपछि कम्पनीको खुद नाफा ९ करोड २५ लाख ९३ हजार रुपैयाँ रहेको छ।
अघिल्लो त्रैमासमा कम्पनीको खुद नाफा २ करोड ८६ लाख ७६ हजार रुपैयाँ थियो। त्यसको तुलनामा चौथो त्रैमासको नाफा बढेको छ। अझ महत्वपूर्ण पक्ष, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ३६ करोड ८० लाख रुपैयाँ घाटामा थियो। यस हिसाबले कम्पनी घाटाबाट नाफातर्फ फर्किएको छ।
आम्दानी बढे पनि ऋणको भार उस्तै ठूलो
अपर तामाकोशीको वित्तीय विवरणमा देखिएको अर्को महत्वपूर्ण पक्ष कम्पनीमाथिको ऋणको ठूलो भार हो।
असार मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋण ६७ अर्ब ९ करोड ६३ लाख रुपैयाँ रहेको छ। चालु दायित्वअन्तर्गत पनि २ अर्ब १४ करोड ५४ लाख रुपैयाँ दीर्घकालीन ऋणको चालु हिस्सा रहेको छ।
कम्पनीको कुल सम्पत्ति ८० अर्ब ९४ करोड ३४ लाख रुपैयाँ छ। त्यसमा गैरचालु सम्पत्ति मात्रै ७५ अर्ब १६ करोड ६४ लाख रुपैयाँ रहेको छ। सम्पत्ति, प्लान्ट तथा उपकरणको मूल्य ७२ अर्ब ९३ करोड २० लाख रुपैयाँ छ।
कम्पनीको कुल इक्विटी भने ९ अर्ब ४२ करोड १० लाख रुपैयाँ छ। यसमध्ये चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने सञ्चित आम्दानी ऋणात्मक छ।
१२ अर्बभन्दा बढी सञ्चित घाटा
अपर तामाकोशीको सञ्चित आम्दानी अझै १२ अर्ब ६३ करोड ५३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ। अर्थात् चालु आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनी नाफामा फर्किए पनि विगतमा सञ्चित भएको ठूलो घाटाको भार अझै हटिसकेको छैन।
यसले कम्पनीको अहिलेको नाफालाई तत्कालै लाभांश वितरण गर्न सक्ने अवस्थामा पुगेको अर्थ नलाग्ने देखाउँछ। पहिलेको सञ्चित घाटा घटाउँदै लैजानुपर्ने अवस्था कम्पनीसामु छ।
विद्युत् बिक्री बढ्दा सञ्चालन नाफामा सुधार
कम्पनीको वित्तीय विवरणले विद्युत् उत्पादन तथा बिक्रीबाट हुने आम्दानीमा सुधार आएको देखाएको छ। चौथो त्रैमासमा विद्युत् बिक्रीबाट प्राप्त आम्दानी अघिल्लो त्रैमासको तुलनामा उल्लेख्य बढेको छ।
यससँगै सञ्चालन नाफा पनि बढेको छ। तर सञ्चालन नाफाको तुलनामा वित्तीय खर्च ठूलो रहेकाले विद्युत् बिक्रीबाट प्राप्त आम्दानीको ठूलो हिस्सा ऋणको वित्तीय लागत व्यवस्थापनमै खर्च भइरहेको देखिन्छ।
यसले अपर तामाकोशीको अहिलेको वित्तीय अवस्थाको मुख्य चुनौती आम्दानी बढाउने मात्र नभई ऋण तथा वित्तीय लागत व्यवस्थापन गर्नु रहेको देखाउँछ।
आयोजना निर्माणमा भएको ढिलाइले बढायो वित्तीय भार
कम्पनीले आफ्नो व्यवस्थापकीय विश्लेषणमा आयोजना निर्माण सम्पन्न हुन लागेको लामो समयका कारण आयोजनाको लागत बढेको उल्लेख गरेको छ। निर्माण अवधि लम्बिँदा आयोजनाको लागत तथा त्यससँग सम्बन्धित वित्तीय दायित्व बढेको कम्पनीको विश्लेषण छ।
कम्पनीले आयोजना निर्माणका क्रममा सिर्जित वित्तीय दायित्व व्यवस्थापनका लागि सम्बन्धित निकाय तथा ऋणदाताहरूसँग निरन्तर छलफल भइरहेको उल्लेख गरेको छ।
आयोजनाको निर्माण सम्पन्न भएर विद्युत् उत्पादन तथा बिक्रीबाट आम्दानी सुरु भए पनि विगतको निर्माण लागत र त्यसका लागि लिइएको ऋणको दायित्व अहिले कम्पनीको वित्तीय विवरणमा देखिएको छ।
बीमा दाबी र क्षतिसँग सम्बन्धित विषय पनि बाँकी
कम्पनीले बाढी तथा अन्य कारणबाट आयोजनाका संरचनामा भएको क्षति र त्यससँग सम्बन्धित बीमा दाबीको विषयलाई पनि व्यवस्थापन विश्लेषणमा समेटेको छ।
प्रतिवेदनअनुसार बाढीका कारण आयोजनाका केही संरचनामा क्षति पुगेको र त्यसको प्रभाव विद्युत् बिक्रीमा समेत परेको उल्लेख छ। क्षतिसँग सम्बन्धित बीमा दाबी तथा क्षतिपूर्तिको प्रक्रिया पनि कम्पनीका लागि महत्वपूर्ण विषय बनेको छ।
बाढीका कारण क्षति भएका संरचनाको पुनःस्थापना तथा व्यवस्थापनका लागि कम्पनीले काम अघि बढाइरहेको जनाएको छ। यही क्रममा 'ड्याम अपरेशन कन्ट्रोल विल्डिङ' निर्माणको काम अघि बढाइएको पनि प्रतिवेदनमा उल्लेख छ।
अबको चुनौती– नाफालाई दिगो बनाउनु
अपर तामाकोशीको पछिल्लो वित्तीय विवरणले कम्पनी एउटा महत्वपूर्ण मोडमा पुगेको देखाउँछ। लामो समयको निर्माण, ठूलो ऋण र वित्तीय भारपछि विद्युत् बिक्रीबाट आम्दानी बढ्दै जाँदा कम्पनी सञ्चालन नाफा तथा खुद नाफामा फर्किएको छ।
तर ९ करोड २५ लाख रुपैयाँको त्रैमासिक खुद नाफाको तुलनामा ५१ करोड ५२ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च र १२ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी सञ्चित नकारात्मक आम्दानी रहेको अवस्थाले कम्पनीको वित्तीय सुधारको यात्रा अझै लामो रहेको देखाउँछ।
त्यसैले अपर तामाकोशीका लागि अबको प्रश्न केवल ‘विद्युत् उत्पादन भयो कि भएन?’ भन्ने मात्र होइन, उत्पादित विद्युत्बाट हुने आम्दानीलाई कसरी बढाउने, ऋणको वित्तीय भार कसरी घटाउने र विगतको सञ्चित घाटा कसरी पूर्ति गर्ने भन्ने पनि हो।
यो आयोजना नेपालको विद्युत् प्रणालीको महत्वपूर्ण आधार बनेको अवस्थामा यसको वित्तीय स्वास्थ्य सुधार हुनु कम्पनीका लागि मात्र नभई समग्र ऊर्जा क्षेत्रका लागि पनि महत्वपूर्ण विषय हो।
ब्याजदर घटाएर तीन वर्षमा २ अर्ब २५ करोड खर्च बचतको दाबी
अपर तामाकोशी हाइड्रोपावर कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्णगोपाल रञ्जितले आफूले जिम्मेवारी सम्हालेपछि कम्पनीको वित्तीय तथा सञ्चालन सुधारमा महत्वपूर्ण काम भएको बताए। उनका अनुसार कम्पनीको दीर्घकालीन ऋणमा कायम रहेको ब्याजदर ८.२५ प्रतिशतबाट घटाएर ६.७५ प्रतिशत कायम गर्न सफल भएको र उक्त दर कम्तीमा तीन वर्षका लागि स्थिर राख्नसमेत सफल भएको छ।
ब्याजदर घटेसँगै कम्पनीको वार्षिक करिब ७५ करोड रुपैयाँ खर्च बचत हुने र तीन वर्षमा करिब २ अर्ब २५ करोड रुपैयाँ खर्च बचत हुने रञ्जितले जानकारी दिए।
त्यस्तै, विगत केही वर्षदेखि हुन नसकेको कम्पनीको १६औँ र १७औँ वार्षिक साधारणसभा रञ्जितले निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी पाएपछि २०८२ चैत २९ गते सफलतापूर्वक सम्पन्न गरिएको थियो।
लगातार चार वर्षको घाटाबाट नाफातर्फ
कम्पनीका अनुसार माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र सञ्चालनमा आएपछि लगातार चार वर्षसम्म घाटामा रहेको कम्पनीले पछिल्लो समय सञ्चालन सुधारसँगै नाफातर्फ जाने अवस्था बनेको छ।
निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी थपिएपछि जलविद्युत् केन्द्रको सञ्चालनमा आवश्यक प्राविधिक स्तरोन्नति गरी उच्च दक्षताका साथ केन्द्र सञ्चालन गरिएको र त्यसको परिणामस्वरूप चालु आर्थिक वर्ष २०८२/८३ को आम्दानीमा सुधार आएको उनको भनाइ छ।
कम्पनीले चालु आर्थिक वर्षमा करिब ९० करोड रुपैयाँको हाराहारीमा नाफा कमाउन सफल भएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य