तनहुँमा तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न
जलसरोकार
तनहुँ : तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा तनहुँको भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ ।
आयोजनाको सामाजिक उत्तरदायित्व विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको विद्यालय भवनको २०८० असोज ९ गते शिलान्यास गरिएको थियो । सरकारको विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, नमूना डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार भवन निर्माण गरिएको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार रु ९४ लाख ५७ हजारको लागतमा भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माणको ठेक्का स्याङ्जास्थित निवास इन्जिनियरिङ कन्सल्टेन्सीले पाएको थियो ।
नवनिर्मित भवनले विद्यार्थीका लागि सुरक्षित, विपद्–प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने भण्डारीले बताए । उनका अनुसार नयाँ भवनबाट आयोजना प्रभावित समुदायका विद्यार्थीले थप व्यवस्थित र गुणस्तरीय शैक्षिक पूर्वाधार प्राप्त गर्नेछन् ।
नयाँ भवनले अनुकूल सिकाइ वातावरण सिर्जना गर्नुका साथै सामाजिक पूर्वाधार विकास र आसपासका समुदायको दीर्घकालीन शैक्षिक तथा सामाजिक–आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको उनले बताए ।
विद्यालयका प्रधानाध्यापक उत्तम खनियाले नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययन गर्न सहज हुने बताए ।
तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । आयोजना प्रमुख भण्डारीका अनुसार हालसम्म सामाजिक उत्तरदायित्वअन्तर्गत ९८ वटा योजना सम्पन्न भइसकेका छन् भने छवटा योजना सञ्चालनमा छन् ।
हाल निर्माणाधीन योजनामा भिमाद नगरपालिका–५ स्थित फेदीखोला मोटरेबल पुल, ऋषिङ गाउँपालिका–७ स्थित डाडीवन–चुलेसी पहुँचमार्ग, भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल र ज्येष्ठ नागरिक सामुदायिक भवन तथा ऋषिङ गाउँपालिका–१ स्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य