अविरल वर्षापछि देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
जलसरोकार
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा यातायात प्रभावित भएको जनाएको हो ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने विपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुने प्रहरीले जनाएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ । प्रहरीले बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकमा सवारीसाधन आवतजावतमा रोक लगाएको जनाएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकुमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेशी जाने कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोका कारण अवरुद्ध भएको छ ।
त्यस्तै, रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र भूमे गाउँपालिका–५ धौलापहिरास्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग र बेँसीसहर नगरपालिका–६ खरखरे भीरस्थित बेँसीसहर–मनाङ सडक पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैँसेरी र अन्नपूर्ण गाउँपालिका–७ महभीरस्थित बेनी–जोमसोम सडकसमेत पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।
वर्षा निरन्तर भइरहेकाले सडक तथा राजमार्गमा थप पहिरो र बाढीको जोखिम रहेको प्रहरीले जनाएको छ । प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त सडकखण्डमा सावधानी अपनाउन आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अरुण काबेली पावरको नाफा ५३ प्रतिशत घट्यो
-
प्राधिकरण केन्द्रित विद्युत् बजारलाई खुला र प्रतिस्पर्धात्मक बनाउँदै आयोग
-
बिजुलीमा लगाइएको भ्याट खारेज गर्न प्राधिकरणका कर्मचारी संगठनहरुको माग
-
अविरल वर्षापछि देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
-
तनहुँमा तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न
-
तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइनले दियो २८.४८ हेक्टर सट्टाभर्ना जग्गा