तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइनले दियो २८.४८ हेक्टर सट्टाभर्ना जग्गा
जलसरोकार
सङ्खुवासभा : नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत २८.४८ हेक्टर सट्टाभर्ना जग्गा उपलब्ध गराएको छ ।
प्रसारण लाइन तथा टावर निर्माणका क्रममा प्रयोग गरिएको राष्ट्रिय वन क्षेत्रको क्षतिपूर्तिस्वरूप आयोजनाले जग्गा खरिद गरी सरकारको नाममा हस्तान्तरण गरेको हो । डिभिजन वन कार्यालय सङ्खुवासभाका सूचना अधिकारी डम्बर भण्डारीका अनुसार आयोजनाले २८.४८ हेक्टर सट्टाभर्ना जग्गा उपलब्ध गराएको हो ।
आयोजनाले खाँदबारी नगरपालिका–९, ८, २ र १० मा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गरेको थियो । त्यसको क्षतिपूर्तिस्वरूप पाँचखपन नगरपालिका–४ मा रहेका ७१ वटा कित्ता जग्गा खरिद गरी डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरिएको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।
आयोजनाले ७१ कित्ताको जग्गा रजिस्ट्रेसन पास गरी केही दिनअघि डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेको हो । वन क्षेत्र प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत उक्त जग्गा सरकारको नाममा ल्याइएको हो ।
यसैबीच, सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा निर्माण हुन लागेको २४.९२ मेगावाट क्षमताको इन्दुवाखोला जलविद्युत् आयोजनाले रुख कटानबापत रु दुई करोड ५२ लाख २५ हजार राजस्व तिरेको छ ।
आयोजनाले रुख कटान, स्याहार, सम्भार तथा व्यवस्थापनका लागि उक्त राजस्व तिरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी भण्डारीले बताए । आयोजनाका लागि ६०७ वटा रुख कटान हुनेछन् ।
सङ्खुवासभामा हाल २९० वटा सामुदायिक वन रहेका छन् । जिल्लाको ठूलो भूभाग वन क्षेत्रले ओगटेको छ । उपलब्ध विवरणअनुसार जिल्लामा ३८ हजार ४८५ वर्ग किलोमिटर क्षेत्र वनले ओगटेको छ ।
ठूला पूर्वाधार तथा जलविद्युत् आयोजना निर्माणका क्रममा वन क्षेत्र प्रयोग हुँदा त्यसको क्षतिपूर्ति तथा वातावरणीय व्यवस्थापनका लागि सट्टाभर्ना जग्गा उपलब्ध गराउने र रुख कटानबापत राजस्व तिर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रसारण लाइन आयोजना र इन्दुवाखोला जलविद्युत् आयोजनाले वनसम्बन्धी दायित्व पूरा गरेका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य