कमला नदीमा अस्थायी डाइभर्सन बनेपछि सवारी आवत–जावत सहज
जलसरोकार
सिरहा: हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भासिएको पुलको विकल्पका रूपमा ह्युमपाइप राखेर डाइभर्सन तयार गरिएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन निर्वाध सञ्चालन हुन थालेका छन् ।
सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार करिब एक सातादेखि सार्वजनिक सवारीसाधन समेत सञ्चालनमा आइसकेका छन् । “अहिले सबै प्रकारका सवारीसाधन सहज रूपमा चलिरहेका छन्,” उनले भने, “यसले स्थानीय बासिन्दा मात्र होइन, छोटो रुट प्रयोग गरी मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुलाई ठूलो राहत मिलेको छ ।”
गत मङ्सिर ५ गते निवर्तमान भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै पुनर्निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् । सो क्रममा उहाँले काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी दिँदै अस्थायी रूपमा भए पनि आवत–जावतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो । उक्त निर्देशनपछि निर्माण कम्पनीले ह्युमपाइप प्रयोग गरी डाइभर्सन निर्माण गरेको हो ।
यसअघि स्थानीय युवाले बनाएको बाँसको पुल प्रयोग गरी शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा स्थानीय बासिन्दा डुङ्गाको सहारामा ज्यान जोखिममा राखेर नदी वारपार गर्न बाध्य थिए ।
१४ वर्षपछि पुल निर्माण अन्तिम चरणमा
विगत १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको कमला नदीको पुल निर्माणकार्य अहिले अन्तिम चरणमा पुगेको छ । आगामी असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक ४० देखि ५० जना कामदार फिनिसिङ र मर्मत कार्यमा खटिएको निर्माण कम्पनीले जनाएको छ ।
पप्पु लुम्बिनी जेभीले ठेक्का पाएको उक्त पुलमा पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले निर्माण कार्य गरिरहेको छ । निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाका अनुसार बाँकी संरचनात्मक काम द्रुत गतिमा अघि बढिरहेको छ । “असार मसान्तभित्र पुलबाटै सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ,” उनले बताए ।
वि.सं. २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल २०७८ साल असारमा आएको बाढीले दुईवटा पिलर भासिँदा र चारवटा स्ल्याब क्षतिग्रस्त भएपछि थप समस्यामा परेको थियो । पुल निर्माणमा लामो समयसम्म ढिलाइ हुँदा सिरहा र धनुषाका स्थानीयवासी जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य थिए ।
स्थानीय युवा सन्तोष यादवका अनुसार तत्कालीन मन्त्री घिसिङको पहलपछि मात्र पुल निर्माणले गति लिएको हो । “डाइभर्सनले तत्काल राहत दिएको छ,” उनले भने,“तर अब तोकिएको समयमै पुल निर्माण सम्पन्न हुनुपर्छ । यसमा सबै पक्ष गम्भीर हुन जरुरी छ ।”
हुलाकी राजमार्गको मेरुदण्डका रूपमा लिइने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको वर्षौंदेखिको कष्टकर यात्रा अन्त्य हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य सुधार, कारोबार साढे आठ अर्ब नाघ्यो
-
कञ्चनपुरका सीमसार क्षेत्रको अस्तित्व सङ्कटमा
-
कर्णालीमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्ज, कोहलपुर–सुर्खेत–दैलेख लाइन सञ्चालनमा
-
दमौली २२० केभी प्रसारण लाइनका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो, प्रभावितलाई दाबी–प्रमाण पेश गर्न आग्रह
-
पश्चिमी वायूको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
-
साताको पहिलो दिन दोहोरो अङ्कले घट्यो सेयर बजार