सुनकोशी-मरिण र भेरी-बबई म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं : मन्त्री कुलमान


काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छलफल गरी आयोजनाका ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए ।
दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाइ भएपछि मन्त्री घिसिङले निर्माणमा संलग्न सबै पक्षसँग छलफल गरेका थिए । तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व वृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने आयोजनाहरूको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे ।
‘एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने, आयोजना त्यस्तो वातावरण दिइराख्ने— यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ? राज्यको अर्बौं रुपैयाँ लगानी भइसकेको छ, ब्याजको मात्र हिसाब गर्ने हो भने अर्बौं हुन्छ। यस्तो अवस्थामा आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो?’ उनले चेतावनी दिँदै भने ।
‘दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन्, तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका छन्। तराई/मधेसमा सिँचाइका लागि पानीको हाहाकार छ, तसर्थ यो स्थितिमा आयोजना चल्न सक्दैन। निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो, तर काम गर्ने नियत देखिँदैन। तसर्थ, म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं।’
भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो। बाँध तथा विद्युतगृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान-रमण जेभीसँग ठेक्का सम्झौता भएको थियो। आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ। सुनकोशी मरिण बाँध, विद्युतगृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत रहेको छ। ठेक्का समयावधि करिब ६० प्रतिशत बितिसकेको छ। यस आयोजनाको निर्माण व्यवसायी पटेल—रमण जेभी हो।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ
-
जेन जी समूहको कम्पनीलाई भोटेकोशीको १० प्रतिशत शेयर दिने सम्झौता विवादमा
-
सेयर बजारमा सुधार, नेप्से ४४ अंकले उकालो
-
मन्त्री घिसिङलाई दक्षिण कोरियाकाे बधाई
-
भोटेकोशी पावर कम्पनीले जेन जी समूहलाई १० प्रतिशत शेयर बेच्ने
-
वर्षातपछि मेलम्चीको पानी काठमाडौँ ल्याइयो, दैनिक १७ करोड लिटर आपूर्ति सुरु