सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चार महिनामा २० अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात, कात्तिकमा ४ अर्बभन्दा बढीको कारोबार

असोजमा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट निर्यात, बाढीका कारण यस वर्ष विद्युत् निर्यात प्रभावित

जलसरोकार
आइतबार, मंसिर १३, २०८३ | ११:३७:५६ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४७ करोड ३७ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ।

प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरेको हो। उक्त अवधिमा कुल २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् निर्यात गरिएको छ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुनदेखि अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ।

नेपाल, भारत र बंगलादेशका निकायबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा पनि विद्युत् निर्यात हुँदै आएको छ। वर्षायामका छ महिनामा अर्थात् हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशतर्फ विद्युत् निर्यात गरिँदै आएको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने व्यवस्था छ।

चार महिनामा भारततर्फको विद्युत् निर्यात

महिनाऊर्जा निर्यात (युनिट)कारोबार रकम (रु.)औसत दर (रु./युनिट)
साउन६२ करोड ८ लाख५ अर्ब १२ करोड ३९ लाख८.१५
भदौ५७ करोड ८७ लाख५ अर्ब २२ करोड ९२ लाख९.०४
असोज६५ करोड ९ लाख६ अर्ब ५ करोड ८१ लाख९.३१
कात्तिक५२ करोड ९३ लाख४ अर्ब ६ करोड २५ लाख७.६८
जम्मा२३७ करोड ८७ लाख२० अर्ब ४७ करोड ३७ लाख८.५८

स्रोत: नेपाल विद्युत् प्राधिकरण

प्राधिकरणको केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त अवधिमा विद्युत् निर्यातबाट २० अर्ब ४७ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको छ। चार महिनाको औसत विद्युत् बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ।

कात्तिक महिनामा ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ। उक्त महिनाको औसत विद्युत् बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको थियो।

असोज महिनामा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात भएको छ। उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यस महिनाको औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोज महिनामा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारणतर्फका संरचनामा क्षति पुगेर केही आयोजनाको उत्पादन बन्द हुँदा यस वर्ष विद्युत् निर्यात प्रभावित भएको बताएका छन्।

उनले निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको बताए।

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरेको थियो। सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो। गत आवमा विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो।

यससँगै नेपाल विगत दुई वर्षबाट विद्युत्‌को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिरहेको छ।

 

प्रकाशित मिति : आइतबार, मंसिर १३, २०८३ | ११:३७:५६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया