बिजुली अभाव टार्न प्राधिकरणले आयातको टेण्डर निकाल्यो, यता मन्त्री भने खपत बढाउन निर्देशन दिँदै
हिउँदमा माघमा ४६२ मेगावाटसम्म विद्युत् अभाव हुने प्रक्षेपण, भारतबाट १५० मेगावाट आयात गर्न टेण्डर; पोखरामा वितरण केन्द्र प्रमुखलाई खपत बढाउन निर्देशन
जलसरोकार
पोखरा: आगामी हिउँदमा विद्युत् अभाव हुने प्रक्षेपण गर्दै नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट बिजुली आयात गर्न टेण्डर आह्वान गरेको छ। नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन कम हुने र रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीबाट विद्युत् प्रणालीमा ३४१ मेगावाट उत्पादन क्षमता बाहिरिएको अवस्थामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ भने विद्युत् खपत बढाउन वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिइरहेका छन्नु।
प्राधिकरणको ऊर्जा सन्तुलन प्रक्षेपणअनुसार आगामी पुसदेखि चैतसम्म लगातार चार महिना विद्युत् अभाव हुनेछ। माघमा सबैभन्दा बढी दैनिक औसत ४६२ मेगावाट विद्युत् अभाव हुने अनुमान गरिएको छ। यस्तो अवस्थामा विद्युत् आपूर्ति व्यवस्थापन गर्न प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् चौबीसै घण्टा (आरटीसी) खरिदका लागि टेण्डर गरिसकेको छ।
विद्युत् अभाव हुने प्रक्षेपण र आयातको तयारी भइरहेका बेला मन्त्री श्रेष्ठले भने पोखरामा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा खपत बढाउन अग्रसरता लिन निर्देशन दिएका हुन्। तर, खपत बढाउन कुन क्षेत्रलाई प्राथमिकता दिने, विद्युत् उपयोग विस्तार गर्न कस्ता कार्यक्रम सञ्चालन गर्ने र बढेको खपत धान्न आपूर्ति कसरी सुनिश्चित गर्ने भन्ने ठोस योजना भने सार्वजनिक गरिएको छैन।
हिउँदमा चार महिनासम्म विद्युत् अभाव
प्राधिकरणको आर्थिक वर्ष २०८३/८४ को ऊर्जा सन्तुलन प्रक्षेपणअनुसार आगामी पुसमा १ लाख ८४ हजार १२१ मेगावाट घण्टा, माघमा ३ लाख ३२ हजार ७४९, फागुनमा ३ लाख २९ हजार ७५१ र चैतमा २ लाख ९१ हजार ६३६ मेगावाट घण्टा ऊर्जा अभाव हुनेछ।
माघमा दैनिक औसत ४६२ मेगावाट, फागुनमा ४५८ मेगावाट र चैतमा ४०५ मेगावाट बराबर विद्युत् अभाव हुने प्रक्षेपण छ। पुसमा पनि दैनिक औसत २५६ मेगावाट अभाव हुने देखिएको छ।
हिउँदमा नदीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाको उत्पादन कम हुने गर्छ। विद्युत् माग भने बढ्ने भएकाले प्राधिकरणले आगामी सुक्खायाममा माग र आपूर्तिबीच ठूलो अन्तर रहने आकलन गरेको हो।
बाढीले ३४१ मेगावाट उत्पादन प्रणालीबाट बाहिर
हिउँदमा नदी प्रवाह घटेर उत्पादन कम हुने जोखिमसँगै रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीले विद्युत् प्रणालीमा थप दबाब सिर्जना गरेको छ। बाढीका कारण ३४१ मेगावाट उत्पादन क्षमता राष्ट्रिय विद्युत् प्रणालीबाट बाहिरिएको छ। यसले आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनाएको छ।
प्राधिकरणले हिउँदको अभाव व्यवस्थापन गर्न भारतबाट १५० मेगावाट विद्युत् चौबीसै घण्टा निरन्तर खरिद गर्न टेण्डर आह्वान गरेको छ। तर, प्राधिकरणको आफ्नै प्रक्षेपणअनुसार आयात गर्न खोजिएको उक्त परिमाणले मात्रै आगामी महिनाहरूमा हुने विद्युत् अभाव पूर्ति हुने देखिँदैन। त्यसैले आवश्यकताअनुसार थप आयात व्यवस्थापन गर्नुपर्ने अवस्था रहनेछ।
आपूर्ति चुनौतीबीच खपत बढाउने मन्त्रीको निर्देशन
विद्युत् उत्पादन कम हुने, बाढीले उत्पादन क्षमता प्रणालीबाट बाहिरिएको र आगामी सुक्खायाममा विद्युत् अभाव हुने प्रक्षेपण भइरहेका बेला मन्त्री श्रेष्ठले खपत बढाउन वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन्छ।
गण्डकी प्रदेशमा नेपाल विद्युत् प्राधिकरणको सेवा प्रवाह, विद्युत् चुहावट नियन्त्रण र वितरण प्रणालीको अवस्थाबारे छलफल गर्दै उनले विद्युत् खपत बढाउन अग्रसरता लिन आग्रह गरे। विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा कमी आएको विषयलाई सकारात्मक रूपमा लिएका मन्त्री श्रेष्ठले चुहावट नियन्त्रण, पुरानो वितरण संरचनाको स्तरोन्नति तथा सेवा प्रवाहमा सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्र पर्याप्त नभई गुणस्तरीय, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा उपभोक्तालाई उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो। वितरण प्रणाली सुधार, चुहावट नियन्त्रण र विपद् प्रतिरोधी संरचना निर्माणमा ध्यान दिन उनले आग्रह गरे।
तर, विद्युत् खपत बढाउन कुन क्षेत्रको विद्युत् उपयोग विस्तार गर्ने, उद्योग तथा व्यवसायमा विद्युत् माग बढाउन कस्ता कार्यक्रम सञ्चालन गर्ने र उपभोक्तालाई विद्युत् उपयोगतर्फ आकर्षित गर्न के कस्ता योजना बनाउने भन्ने विषयमा ठोस कार्यक्रम सार्वजनिक भएको छैन।
गण्डकीमा महसुल संकलन लक्ष्यको ९९.१ प्रतिशत
प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत ११ जिल्लामा ५ लाख ३५ हजारभन्दा बढी ग्राहक रहेका छन्। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा कार्यालयले १ अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन गरेको छ। यो लक्ष्यको ९९.१ प्रतिशत हो।
ट्रान्सफर्मर जल्ने घटनामा पनि कमी आएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा जलेका छन्। प्राधिकरणका अनुसार ट्रान्सफर्मर जल्ने घटनामा ७२.५ प्रतिशत कमी आएको छ।
गण्डकी प्रदेशमा विद्युत् चुहावट ६.७८ प्रतिशत रहेको छ। यो लक्ष्य ६.६५ प्रतिशतभन्दा केही बढी हो। चुहावट नियन्त्रणमा थप सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
बाढीबाट ११ करोड रुपैयाँभन्दा बढीको क्षति
भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढी तथा विपद्ले गण्डकी प्रदेशको विद्युत् वितरण संरचनामा पनि क्षति पुर्याएको छ। विपद्का कारण ३३ केभी प्रसारण लाइन ६८ किलोमिटर, ११ केभी लाइन ७९ किलोमिटर र न्यून भोल्टेज लाइन ६३ किलोमिटर क्षतिग्रस्त भएको छ। त्यस्तै, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुगेको छ।
क्षतिको अनुमानित रकम ११ करोड १० लाख रुपैयाँ रहेको छ। क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा सेवा सञ्चालनका लागि विशेष बजेट व्यवस्थापनको विषयमा समेत छलफल भएको छ।
गण्डकी प्रदेशमा १३ वटा वितरण केन्द्र, ४ हजार ७९६ वितरण ट्रान्सफर्मर र ३३/११ केभीका २८ वटा सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमले कार्यालयको कार्यप्रगति, सेवा प्रवाहको अवस्था तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बिजुली अभाव टार्न प्राधिकरणले आयातको टेण्डर निकाल्यो, यता मन्त्री भने खपत बढाउन निर्देशन दिँदै
-
पुरानो बानेश्वर र आसपासका क्षेत्रमा चार दिन विद्युत् कटौती हुने
-
यस्तो छ आजको मौसम
-
सानिमा बैंकका दुई वरिष्ठ कर्मचारी थापा र ढकालको बढुवा
-
भारतमा विद्युत् संकटको जोखिम : कोइला अभावसँगै १० वर्ष पुरानो नीतिमाथि प्रश्न, नेपालका लागि पनि चुनौती र अवसर
-
नेप्सेको गिरावट रोकिएन, ८.५७ अंक घटेर २६२८ विन्दुमा