सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चमेराको बास जोगाउन तनहुँ जलविद्युत् आयोजनाले बनाउँदै तीन वैकल्पिक आवास

जलसरोकार
आइतबार, मंसिर १३, २०८३ | ०९:४९:०९ बजे

 

दमौली : निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको प्राकृतिक बासस्थान संरक्षण गर्न तीनवटा वैकल्पिक आवास निर्माण थालेको छ।

आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य भौतिक गतिविधिका कारण चमेराको प्राकृतिक बासस्थानमा असर पर्न सक्ने देखिएपछि आयोजनाले काठबाट निर्मित वैकल्पिक आश्रयस्थल तयार गर्न लागेको हो। वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत राष्ट्रिय वन्यजन्तु विशेषज्ञले तयार गरेको डिजाइनअनुसार ती आवास निर्माण भइरहेका छन्।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार निर्माण सम्पन्न भएपछि चमेराका लागि उपयुक्त स्थान पहिचान गरी तीनवटै आवास आयोजना क्षेत्रभित्र स्थापना गरिनेछ। विशेषगरी निर्माण गतिविधि र रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने क्षेत्रलाई प्राथमिकतामा राखिएको उनले बताए।

चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ। वैकल्पिक आवास निर्माणबाट स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै आयोजना निर्माणका कारण वन्यजन्तुको बासस्थानमा पर्न सक्ने सम्भावित प्रभाव न्यूनीकरण हुने अपेक्षा आयोजनाले गरेको छ।

तनहुँको ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको आयोजनाले १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। भौतिक संरचना निर्माणसँगै आयोजनाले वातावरणीय तथा सामाजिक व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति : आइतबार, मंसिर १३, २०८३ | ०९:४९:०९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया