सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पुरानो बानेश्वर र आसपासका क्षेत्रमा चार दिन विद्युत् कटौती हुने

भूमिगत वितरण प्रणाली निर्माण तथा विद्युत् संरचना सुदृढीकरणका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्म आपूर्ति बन्द गरिने

जलसरोकार
शनिबार, मंसिर १२, २०८३ | ०६:३०:०१ बजे

काठमाडौं : काठमाडौंको पुरानो बानेश्वर तथा आसपासका विभिन्न क्षेत्रमा विद्युत् वितरण प्रणाली सुदृढीकरण र भूमिगत वितरण प्रणाली निर्माणका लागि चार दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रले विभिन्न स्थानमा संरचना जडान, उच्च भोल्टेज (एचटी) केबल उठाउने, बसबार जडान तथा केबल चार्जिङलगायतका काम गर्न विद्युत् कटौती गर्न लागेको हो ।

वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार मंसिर १२ गते शनिबारदेखि १५ गते मंगलबारसम्म विभिन्न स्थानमा चरणबद्ध रूपमा विद्युत् आपूर्ति बन्द गरिनेछ । हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती गर्ने तालिका सार्वजनिक गरिएको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाको मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत वितरण प्रणाली भूमिगत बनाउने काम गरिरहेको छ । उक्त आयोजनाअन्तर्गत भूमिगत कार्य सम्पन्न भएका क्षेत्रमा स्ट्रक्चर फिटिङ, एचटी तथा एलटी केबल राइजिङ, केबल चार्जिङ र बसबार जडानलगायतका काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।

चार दिन फरक-फरक क्षेत्रमा कटौती

प्राधिकरणका अनुसार मंसिर १२ गते शनिबार केएमसी तथा पुरानो विमानस्थल क्षेत्रका विभिन्न स्थानमा स्ट्रक्चर फिटिङ र एचटी केबल राइजिङको काम गरिनेछ । त्यस दिन आगमननगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारामार्ग, सावित्री मार्ग तथा निर्मला बिहार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

मंसिर १३ गते आइतबार पुरानो विमानस्थल क्षेत्रमा बसबार जडान तथा एचटी केबल चार्जिङको काम गरिनेछ । शंखमूल मार्ग, एभरेस्ट अस्पताल क्षेत्र, मुक्ति टावर क्षेत्र तथा थ्री ब्रदर्स पेट्रोल पम्प आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, मंसिर १४ गते सोमबार शंखमूल तथा धोबीखोला क्षेत्रमा एचटी केबल राइजिङ र बसबार जडानको काम गरिनेछ । उक्त दिन अल्फा बेटा, बुद्धनगर तथा बिजुली बजार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने तालिका छ ।

मंसिर १५ गते मंगलबार केएमसी क्षेत्रमा स्ट्रक्चर फिटिङ तथा एचटी केबल राइजिङको काम गरिनेछ । उक्त दिन ३९ नम्बर वडा कार्यालय क्षेत्र तथा तिनकुने तरकारी बजार आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

वितरण प्रणाली भूमिगत बनाउने कामलाई तीव्रता

काठमाडौं उपत्यकामा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले प्राधिकरणले भूमिगत वितरण प्रणाली निर्माण तथा विद्यमान संरचना सुदृढीकरणको काम अघि बढाइरहेको छ । भूमिगत प्रणाली निर्माणसँगै त्यसलाई विद्यमान वितरण सञ्जालमा जोड्न विभिन्न प्राविधिक काम गर्नुपर्ने हुन्छ ।

स्ट्रक्चर फिटिङ, उच्च भोल्टेज केबल राइजिङ, बसबार जडान तथा केबल चार्जिङ वितरण प्रणाली सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया हुन् । यस्ता काम गर्दा सुरक्षाका दृष्टिले सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेर काम गर्नुपर्ने भएकाले निश्चित समयका लागि कटौती गर्न लागिएको हो ।

प्राधिकरणले निर्धारित समयअघि नै काम सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार अगाडि नै सुचारु हुन सक्ने जनाएको छ । विद्युत् कटौतीका कारण ग्राहकमा पर्न जाने असुविधाप्रति वितरण केन्द्रले क्षमायाचना समेत गरेको छ ।

भूमिगत वितरण प्रणाली निर्माण तथा सञ्जाल सुदृढीकरणका काम सम्पन्न भएपछि सम्बन्धित क्षेत्रमा विद्युत् वितरणलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर १२, २०८३ | ०६:३०:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया