सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सिक्टा सिँचाइको पानीले बाँकेमा धान रोपाइँले लियो गति

जलसरोकार
मंगलबार, असार ०९, २०८३ | ०९:५१:३९ बजे

 

नेपालगञ्ज : बाँकेमा पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाले नहरमार्फत पानी उपलब्ध गराउन थालेपछि जिल्लाका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ। आयोजनाले आइतबारदेखि विभिन्न शाखा नहरमा पानी प्रवाह गरेपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका हुन्।

राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले सिक्टा नहरबाट आएको पानीको उपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गरेकाे बनाइन् । उनीले चार कट्ठा खेतमा रोपाइँ सम्पन्न गरेसँगै  बाँकी नौ कट्ठा खेतमा पनि रोपाइँ सक्ने तयारी रहेको बताईन्। जलजला महिला समूहका १३ जना रुपार्नेको सहयोगमा रोपाइँ गराएकि चौधरीले नहरमा पानी आएपछि खेती गर्न सहज भएको बताईन् । 

उनले भनि, “सिक्टाले नहरमा पानी छोडेपछि आकाशबाट पानी नपरे पनि ढुक्क भएर रोपाइँ गर्न पाएका छौँ। नहरको पानीले खेत रोप्न धेरै सजिलो भएको छ।”

सोही गाउँकी मनसरा डाँगीले पनि सिक्टा सिँचाइ आयोजनाको पानीका कारण समयमा खेती गर्न सकिने अवस्था बनेको बताइन् । उनीलेआफ्नो १४ कट्ठा खेतमा धान रोप्ने तयारी गर्दै नहरमा पानी आएपछि खेतीपातीप्रतिको चिन्ता हटेको उल्लेख गरिन् । 

किसानहरूका अनुसार सिक्टा सिँचाइ आयोजनाको पानीले वर्षामाथिको निर्भरता घटाउँदै खेतीपातीलाई सहज बनाएको छ। नियमित सिँचाइ सुविधा उपलब्ध हुन थालेपछि बाँकेका अधिकांश क्षेत्रमा धान रोपाइँले गति लिएको छ।

सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर विकास विष्टका अनुसार आयोजनाको ३१७ मिटर लामो मुख्य बाँधबाट पूर्वी तथा पश्चिम मूल नहरमार्फत पानी सञ्चालन भइरहेको छ। पूर्वीतर्फ फत्तेपुर क्षेत्रका शाखा नहर र राजकुलोमा पानी प्रवाह भइरहेको छ भने पश्चिमतर्फ सिद्धनिया, अक्कलघरवा, गोहवा, पिडारी, पर्सेनिपुर र गुरुवागाउँलगायत क्षेत्रमा सिँचाइका लागि पानी उपलब्ध गराइएको छ।

उहाँका अनुसार आयोजनाले सिँचाइ सेवा उपलब्ध गराउनुपर्ने करिब ४३ हजार हेक्टर क्षेत्रमध्ये हाल २२ हजार हेक्टर क्षेत्रमा पानी पुर्‍याइरहेको छ। निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि थप १६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको छ।

इन्जिनियर विष्टले डुडुवा शाखा नहर प्रणाली तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो। पहिलो वर्षको काम सम्पन्न भइसकेको र बाँकी दुई वर्षभित्र डुडुवा, खजुरा तथा मानपुर शाखाका संरचना निर्माण सम्पन्न गरिने उनले बताए । 

आयोजनाले अन्तिम रूपमा ४३ हजार ६७५ हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य राखेको छ। डुडुवा शाखा सम्पन्न भएपछि कुल सिञ्चित क्षेत्र ३० देखि ३२ हजार हेक्टर पुग्ने अनुमान गरिएको छ।

यस वर्ष पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाले पानी सञ्चालन गरेपछि कोहलपुर, जानकी, वैजनाथ, डुडुवा, खजुरा, राप्तीसोनारी तथा नरैनापुरका विभिन्न वडामा धान रोपाइँ सुरु भइसकेको छ। नहर प्रणालीमार्फत पानी पुगेपछि किसानहरू खेतमा व्यस्त देखिएका छन् भने समयमै रोपाइँ सम्पन्न हुने विश्वास गरिएको छ।

 

प्रकाशित मिति : मंगलबार, असार ०९, २०८३ | ०९:५१:३९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया