सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सिक्टा सिँचाइले सिञ्चित क्षेत्रका किसानको लगत सङ्कलन थाल्यो

जलसरोकार
मंगलबार, असोज ०६, २०८३ | ०९:४२:४९ बजे

 

बाँके : राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले आफ्नो सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत सङ्कलन सुरु गरेको छ । सिँचाइ सेवा प्राप्त गर्ने किसानलाई जल उपभोक्ता सदस्यता प्रदान गर्ने उद्देश्यले आयोजनाले पूर्वी र पश्चिम दुवै मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखाका किसानको विवरण सङ्कलन थालेको हो ।

आयोजनाका निर्देशक राजु आचार्यका अनुसार जल उपभोक्ता किसानको लगत सङ्कलनका लागि स्थानीय जनप्रतिनिधि तथा किसानसँग छलफल भइरहेको छ । यही असोजभित्र बाँकी रहेको लगत सङ्कलनसमेत सम्पन्न गर्ने गरी काम अघि बढाइएको उनले बताए । 

“सिँचाइ सेवा लिनका लागि जल उपभोक्ता सदस्य अनिवार्य छ । यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन हुनेछ”, निर्देशक आचार्यले भने, “लगत सङ्कलनकै आधारमा आयोजनाले सिँचाइ विस्तार र आवश्यक पूर्वाधारको काम गर्नेछ ।”

हालसम्म पश्चिम मूल नहरअन्तर्गत पेडारी, अकलघरुवा र पर्सेनीपुर शाखा तथा पूर्वी मूल नहरअन्तर्गत राजकुलो, फत्तेपुर शाखा, उपशाखा र प्रशाखाबाट सिँचाइ सुविधा लिइरहेका तथा भविष्यमा लिन चाहने किसानसँग छलफल गरिएको आयोजनाले जनाएको छ । सम्बन्धित निकायका प्रतिनिधि र जनप्रतिनिधिसँग समेत लगत सङ्कलनका विषयमा छलफल भइरहेको निर्देशक आचार्यले जानकारी दिए ।

आयोजनाले किसानको घरदैलोमा लगत सङ्कलनकर्ता पुग्दा सही विवरण उपलब्ध गराउन आग्रह गरेको छ । किसानको विवरण आयोजनासँग भएपछि आवश्यक पानीको परिमाण पहिचान गरी सोहीअनुसार नहरमा पानी वितरण गर्न सहज हुने निर्देशक आचार्यको भनाइ छ ।

पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले आयोजनाको आगामी योजना निर्माणमा सहज होस् भन्ने उद्देश्यले उपभोक्ता किसानको लगत सङ्कलन भइरहेको बताए । उनका अनुसार पूर्वी नहरतर्फ किसानको लगत सङ्कलन कार्य करिब अन्तिम चरणमा पुगेको छ ।

आयोजना निर्देशक आचार्यका अनुसार सिक्टा सिँचाइ आयोजनाको हालसम्म ५१ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वाधार निर्माणतर्फ हालसम्म करिब रु २४ अर्ब खर्च भइसकेको छ । मर्मतसम्भारको काम नियमित रूपमा सञ्चालन भइरहे पनि निर्माणको बाँकी काम पाँच वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको उनले बताए । 

आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको आयोजनाबाट पश्चिम मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिए । 

 

प्रकाशित मिति : मंगलबार, असोज ०६, २०८३ | ०९:४२:४९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया