बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको काम एक महिनादेखि ठप्प
जलसरोकार
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव ३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य भीषण बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ। गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले आयोजनाका बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणसहितका महत्वपूर्ण संरचनामा क्षति पुर्याएपछि निर्माण रोकिएको हो।
बाढीबाट आयोजनामा करिब १८ देखि २० करोड रुपैयाँ बराबरको क्षति भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिए। उनका अनुसार बाढीले सुकेबगरमा निर्माणाधीन बाँधको डाइभर्सन भत्काउनुका साथै निर्माणस्थलमा ठूलो मात्रामा गेग्रान थुपारेको छ। बाँध निर्माणस्थलमा रहेको सुरुङको अडिटभित्र समेत बाढी पसेर क्षति पुर्याएको छ।
बाढीले आयोजनाका आवासीय संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गा र वडा नं ६ रातोपानीमा रहेका आयोजनाका आवास भवन भत्किएका छन्। ती स्थानमा भण्डारण गरिएका निर्माण सामग्री बाढीले बगाएको छ भने आयोजनाका श्रमिक बस्ने लेबर क्याम्पसमेत बाढीको चपेटामा परेको छ।
मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्की र वर्कसपमा समेत बाढीले क्षति पुर्याएको आयोजना प्रमुख कार्कीले बताए। आयोजनाका निर्माणस्थलमा बाढीले एकैपटक संरचना र उपकरणमा क्षति पुर्याएपछि पुनःनिर्माण तथा व्यवस्थापनको काम पूरा नगरी निर्माण अघि बढाउन सकिने अवस्था नरहेको आयोजनाले जनाएको छ।
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र आवश्यक व्यवस्थापकीय तयारी पूरा गरी तिहारलगत्तै निर्माणकार्य पुनः सञ्चालन गर्ने तयारी गरिएको कार्कीले बताए। बाढीले बगाएका आवास तथा श्रमिक क्याम्प पुनर्निर्माण गर्ने र क्षतिग्रस्त निर्माणस्थललाई व्यवस्थित बनाएर काम अघि बढाउने योजना छ।
विसं २०८१ देखि निर्माण सुरु भएको आयोजना बाढी आउनुअघि तीव्र गतिमा अघि बढिरहेको थियो। तर, निर्माणका महत्वपूर्ण संरचनामा बाढीले क्षति पुर्याएपछि निर्धारित समयमै आयोजना सम्पन्न गर्ने लक्ष्यमा चुनौती थपिएको छ।
आयोजनाअन्तर्गत सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध निर्माण गरिनेछ। बाँधबाट जम्मा गरिएको पानी चार हजार ३१९ मिटर लामो मुख्य सुरुङमार्फत अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा पुर्याइनेछ। त्यहाँ १५१ मिटरको उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गर्ने योजना छ।
नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिको आयोजनाको विद्युत्गृह, स्वीचयार्ड र नियन्त्रणकक्ष भूमिगत रहनेछन्। आयोजनाबाट उत्पादन हुने विद्युत् नौनीबगरदेखि करिब सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।
आयोजना तीन वर्षभित्र अर्थात् विसं २०८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको कुल लागत १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनामा नबिल बैंकको नेतृत्वमा छवटा वाणिज्य बैंकले कुल लागतको ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक कम्पनी र सेयर लगानीकर्तामार्फत जुटाइनेछ।
हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता भइसकेको छ। सम्झौताअनुसार हिउँदयाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसाका दरले विद्युत् खरिद–बिक्री हुनेछ।
बाढीबाट भएको क्षति पुनःनिर्माण गरी निर्माणकार्य चाँडो सञ्चालनमा ल्याउन नसकिए आयोजनाको निर्धारित समयसीमा प्रभावित हुने जोखिम बढेको छ। त्यसैले अहिले आयोजनाका लागि क्षतिग्रस्त संरचना पुनर्निर्माणसँगै निर्माणकार्यलाई पूर्ववत् गतिमा फर्काउनु प्रमुख चुनौती बनेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सरकारको एक साता : ठूला जलविद्युत् आयोजनामा अर्बौँ लगानी अघि बढ्यो
-
सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार; जलविद्युत् कम्पनीमा पनि उल्लेख्य सक्रियता
-
मिड सोलु हाइड्रोपावरको नाफा ३७ प्रतिशतले बढ्यो
-
नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी कार्यदिशा र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा
-
भगवती हाइड्रोपावरको नाफामा छलाङ, तीन महिनामै २ करोड ४५ लाख कमायो
-
धनतेरसकै दिन सुन–चाँदीमा भारी गिरावट,कतिमा हुँदैछ बजारमा किनबेच ?