सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्‌गृह निर्माण अन्तिम चरणमा

जलसरोकार
शुक्रबार, कात्तिक २१, २०८३ | ०९:३२:४८ बजे

 

दमौली (तनहुँ) : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा आवश्यक उपकरण जडानको काम करिब ८० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ।

प्याकेज–२ को निर्माण चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खननको काम सम्पन्न भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण पनि पूरा भएको छ।

भूमिगत विद्युतगृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनामा उत्खनन तथा कङ्क्रिटिङको काम लगभग सकिएको छ। मुख्य सुरुङमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए।

आयोजनाको भूमिगत विद्युतगृहमा विद्युत् उत्पादनका लागि आवश्यक इलेक्ट्रोमेकानिकल उपकरण जडानको कामसमेत तीव्र पारिएको छ। विद्युतगृहमा जेनेरेटर, टर्बाइन, सिसीटिभी, ट्रान्सफर्मरलगायत उपकरण जडानसँगै परीक्षणको काम भइरहेको भण्डारीले बताए।

सिभिल संरचना निर्माणसँगै उपकरण जडान र परीक्षणलाई पनि समानान्तर रूपमा अघि बढाइएको आयोजनाले जनाएको छ। यसबाट विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको काम एकैपटक अघि बढिरहेको छ।

त्यसैगरी, वातावरणीय बहाव कायम गर्न आवश्यक संरचना तथा विद्युतगृह र बाँध सञ्चालन भवनको निर्माण पनि जारी छ। भूमिगत विद्युतगृह तथा सुरुङका अधिकांश सिभिल संरचना निर्माण सम्पन्न हुँदै गएपछि अब आयोजनाको मुख्य प्राथमिकता उपकरण जडान, परीक्षण तथा बाँकी संरचनाको काम पूरा गर्नेतर्फ केन्द्रित भएको छ।

प्याकेज–२ अन्तर्गतका संरचना तथा उपकरण निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक प्रमुख पूर्वाधार तयार हुनेछ। १४० मेगावाट क्षमताको आयोजनाको विद्युत् उत्पादन प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन भूमिगत विद्युतगृह र सुरुङ संरचनाको निर्माणलाई महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : शुक्रबार, कात्तिक २१, २०८३ | ०९:३२:४८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया