ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भीषण बाढीले १० भन्दा बढी जलविद्युत आयोजना प्रभावित : इप्पानद्वारा गहिरो दुख व्यक्त, सरकारलाई अविलम्ब कदम चाल्न आग्रह

जलसरोकार
बिहीबार, असार २६, २०८२ | १२:२४:४८ बजे

 

काठमाडौं : चीनको तिब्बत हुँदै नेपाल प्रवेश गरेको लेहेन्दे खोला (भोटेकोशी)मा असार २४ गते मंगलबार आएको भीषण बाढीले रसुवा र नुवाकोटका निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत आयोजना र सुख्खा बन्दरगाहमा पुर्‍याएको क्षतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।

इप्पानले एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण हालसम्म ७ जनाको मृत्यु र १९ जना नागरिक बेपत्ता भएकोप्रति दुःख व्यक्त गर्दै घटनाबाट प्रभावित जलविद्युत आयोजना, व्यापारिक नाका र सुख्खा बन्दरगाहको पुनःनिर्माण तथा वैकल्पिक व्यवस्थाका लागि अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग आग्रह गरेको छ।

बाढीका कारण करिब २५० मेगावाट क्षमताका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको र ३५० मेगावाटभन्दा बढी क्षमताका निर्माणाधीन आयोजना ठप्प हुँदा ठूलाे भाैतिक र आर्थिक क्षति पुगेकाे इप्पानले जनाएको छ।

उत्पादन बन्द भएका प्रमुख आयोजना :

  • १११ मेगावाट रसुवागढी जलविद्युत
  • ६० मेगावाट त्रिशूली ३ए जलविद्युत
  • २५ मेगावाट त्रिशूली जलविद्युत केन्द्र
  • २२ मेगावाट चिलिमे जलविद्युत
  • १४ मेगावाट माथिल्लो मैलुङ जलविद्युत
  • १४ मेगावाट देवीघाट जलविद्युत
  • ५ मेगावाट मैलुङ खोला जलविद्युत

यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रबाट विद्युत प्रवाह हुने त्रिशूली ३बी हब सवस्टेशनमा क्षति पुगेका कारण उत्पादन ठप्प भएको छ। देवीघाट, त्रिशूली र त्रिशूली ३ए बाहेक अन्य आयोजना निजी क्षेत्रको सहभागितामा निर्माण भएका हुन्।

निर्माणाधीन आयोजना र थप क्षति :

  • २१६ मेगावाट माथिल्लो त्रिशूली १
  • १०० मेगावाट सुपर त्रिशूली
  • ३७ मेगावाट त्रिशूली ३बी जलविद्युत

त्रिशूली नदी करिडोरको प्रसारण लाइन र सवस्टेशनमा समेत क्षति पुग्दा यहाँबाट विद्युत उत्पादन तथा प्रवाह आगामी केही दिनसम्म बन्द रहने र यसले करोडौं रुपैयाँको उत्पादन घाटा निम्त्याउने इप्पानले जनाएको छ।

सुख्खा बन्दरगाह र व्यापारिक नाकामा ठूलो क्षति

बाढीले टिमुरे सुख्खा बन्दरगाहमा निर्माणाधीन संरचना पूर्णरुपमा ध्वस्त बनाउनुका साथै दर्जनौं कन्टेनर र सयौं मालबाहक गाडी बगाएको छ। नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएपछि वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको व्यापार हुने प्रमुख नाका पूर्णरुपमा अवरुद्ध भएको छ।
इप्पानले व्यवसायी र राजस्व दुवैमा प्रतिकूल असर परेको भन्दै जतिसक्दो चाँडो वैकल्पिक व्यवस्था गरी व्यापारिक नाका सञ्चालनमा ल्याउन सरकारसँग जोडदार माग गरेको छ।

उद्धार कार्यको प्रशंसा र सरकारलाई आग्रह

इप्पानले बाढीका बेला रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ३६ जना सहित करिब १५० जनाको उद्धारमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले देखाएको सक्रियताको प्रशंसा गरेको छ।
साथै, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत उत्पादन तथा प्रसारण पुनः सञ्चालनमा ल्याउन, थप जनधनको क्षति हुन नदिन र आपतकालीन अवस्थालाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी मिलाउन इप्पानले सरकारसँग आग्रह गरेको छ।

श्रद्धाञ्जली र सतर्कता अपिल

इप्पानले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यमा अझ सक्रियता देखाउन आग्रह गर्दै देशभरका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन पनि इप्पानले अपिल गरेको छ।

प्रकाशित मिति : बिहीबार, असार २६, २०८२ | १२:२४:४८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया