केन्द्रीय प्रसारण लाइनको पहुँच नपुग्दा सेवा प्रभावित
जलसरोकार
बागलुङ: जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । नर्जाखोलाबाट सञ्चालनमा ल्याइएको लघु जलविद्युत्मा आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन हुन नसक्दा वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित बनेको हो ।
हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसकेको हो । विद्युत् आपूर्ति नहुँदा वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यक सबै इलेक्ट्रोनिक सामान सञ्चालन गर्न समस्या भइरहेको भन्दै यसले सेवा प्रभाव प्रभावकारी हुन नसकेको तमानखोला–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।
कार्यालयको अधिकांश काम डिजिटल प्रविधिमार्फत गर्न सुरु गरे पनि विद्युत् आपूर्ति हुन नसक्दा हस्तलिखितबाट गर्नुपर्ने बाध्यता रहेको उनले गुनासो पोखे । वडाध्यक्ष छन्त्यालले भने, “विद्युत् नहुँदा कार्यालयको काम सबै ठप्प हुन्छ, गाउँमा रहेको टेलिकमको टावर पनि बन्द भएर फोनसमेत गर्न पाइँदैन, सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने हुन्छ, घटनाहरू दर्ता गर्नुपर्ने हुन्छ, तर विद्युत् नहुँदा समयमा सेवा दिन गाह्रो हुँदै आएको छ ।”
यस वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीन वटा बस्ती छन् । तीनवटै बस्तीमा तीनवटै साना लघु जलविद्युत् छन् । हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तीसमेत बाल्न गाह्रो हुने गरेको स्थानीय बताउँछन् ।
नर्जाखानीमा ११ किलोवाटको बराहगोठ खोला लघु जलविद्युत् आयोजना, पात्लेमा तीन किलोवाट खालीखोला लघु जलविद्युत् आयोजना र भित्री वनमा छ किलोवाटको बराहथानखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । यी सबै लघु जलविद्युत् आयोजनामा दिनभरि ट्याङ्कीमा पानी जम्मा गर्ने र बिहान बेलुका बत्ती मात्रै बाल्ने गरी व्यवस्थापन गरिएको आयोजना कार्यालयले जनाएका छन् ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले केन्द्रीय प्रसारण लाइन विस्तारका लागि विद्युत् प्राधिकरणसँग सहकार्य गरेर अहिले पोल र लाइन तान्ने काम सुरु भएको जानकारी दिए । उक्त वडामा दुई सय ५० घरधुरीका एक हजार पाँच सय जनसङ्ख्या रहेको भन्दै सहज रूपमा विद्युत् आपूर्ति नहुँदा स्थानीयलाई समस्या भइरहेको उनको भनाइ छ । (रासस)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एडीबीको आपत्तिले रोकिएको सिँचाइ आयोजना अघि बढाउन मन्त्रालयको नयाँ पहल
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो