अन्तर्राष्ट्रिय सिँचाईं तथा निकास आयोग (आईसीआईडी) को उपाध्यक्षमा ई. सञ्जीव बराल निर्वाचित


क्वालालम्पुर, मलेसिया : गत ७ देखि १३ सेप्टेम्बर २०२५ सम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न चौथो विश्व सिँचाइ सम्मेलन तथा ७६औं अन्तर्राष्ट्रिय कार्यकारी परिषद् बैठकबाट नेपाल सरकारका सहसचिव इञ्जिनियर सञ्जीव बराल अन्तर्राष्ट्रिय सिँचाइ तथा निकास आयोग (आईसीआईडी) को उपाध्यक्षमा तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका छन्।
बरालसँगै स्पेनकी क्रिस्टिना क्लेमेंते मार्टिनेज र नाइजेरियाकी इञ्जिनियर एस्टर ओयेरोनके ओलुनियी पनि उपाध्यक्षमा निर्वाचित भएका छन्। आईसीआईडी मा ९ जना उपाध्यक्ष रहने व्यवस्था छ र हरेक वर्ष तीन जना नयाँ उपाध्यक्ष तीन वर्षे कार्यकालका लागि चयन गरिन्छन्।
नेपाल सन् २००० (वि.सं. २०५७ साल) देखि आईसीआईडीको सदस्य राष्ट्र हो र नेपाल राष्ट्रिय समिति (NeNCID) मार्फत आयोगका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको छ। इञ्जिनियर बराल NeNCID का पूर्वअध्यक्षसमेत हुन्। हाल उनी आईसीआईडीको एसियाली क्षेत्रीय कार्यसमूह (ASRWG) का सदस्यसमेत छन्।
बराल हाल जलस्रोत तथा उर्जा आयोग सचिवालय अन्तर्गतको जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्रमा सहसचिवका रूपमा कार्यरत छन्। उनले पूर्वमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक, बागमती प्रदेशका सचिव, ऊर्जा मन्त्रालयका वरिष्ठ इञ्जिनियर, बुढीगंगा जलविद्युत परियोजना र भेरी बबई बहुउद्देश्यीय आयोजनाका परियोजना निर्देशकका रूपमा समेत काम गरेका छन्।
बरालसँग जलविद्युत्, सिँचाइ तथा जलस्रोत क्षेत्रमा १८ वर्षभन्दा बढीको अनुभव छ। उनले नेपाल विद्युत् प्राधिकरण, बुटवल पावर कम्पनी, विद्युत विकास विभाग, र जलविद्युत लगानी तथा विकास कम्पनीमा समेत सेवा दिएका छन्।

इञ्जिनियर बराल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् भने पोखरा विश्वविद्यालयबाट कार्यकारी एमबीए पनि पूरा गरेका छन्। हाल उनी सोही क्याम्पसमा जलस्रोत योजना तथा व्यवस्थापनमा विद्यावारिधि गर्दैछन्।
बराललाई नेपाल सरकारबाट सुप्रबल जनसेवा श्री पदक तथा नेपाल इञ्जिनियर्स संघबाट ‘युवा पेशागत पुरस्कार २०१२’ प्रदान गरिएको थियो। सन् २०१६-१७ मा उनले अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट ह्यूबर्ट एच. हम्फ्री फेलोशिप पनि प्राप्त गरेका थिए।
आईसीआईडी उपाध्यक्षको हैसियतमा बरालले प्रस्तुत गरेका प्रमुख प्रतिबद्धता:
१. दिगो सिँचाइ तथा निकासी प्रणालीका लागि विश्वव्यापी सहकार्य सुदृढ गर्ने
२. जल उपयोग दक्षता र जलवायु-स्मार्ट सिँचाइ प्रवर्द्धन गर्ने
३. किसान र समुदाय-आधारित सिँचाइ प्रणालीलाई सशक्त बनाउने
४. नीति र कार्यान्वयनबीचको दूरी घटाउने
५. युवा तथा क्षमताविकासमा केन्द्रित कार्यक्रमहरू अगाडि बढाउने
६. राष्ट्रिय समितिहरूको भूमिकालाई मजबुत बनाउने
सन् १९५० मा स्थापना भएको आईसीआईडीले विश्वव्यापी रूपमा सिँचाइ, निकासी तथा बाढी व्यवस्थापनमा नीति, विज्ञान र अभ्यासलाई जोड्ने साझा मञ्चको रूपमा काम गर्दै आएको छ। ICID को सदस्य राष्ट्रहरूमार्फत् जल तथा खाद्य सुरक्षाका साथै दिगो ग्रामीण विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सिँचाईं तथा निकास आयोग (आईसीआईडी) को उपाध्यक्षमा ई. सञ्जीव बराल निर्वाचित
-
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
-
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङको घोषणा : सरकारी सुविधा नलिने, तलब शहीद सहयोग कोषमा
-
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता उठाउने प्रक्रिया तत्काल अघि बढाइने
-
ऊर्जा मन्त्रीमा कुलमान घिसिङ नियुक्त, इप्पानले व्यक्त गर्यो बधाई
-
अर्थमन्त्री खनालको पहिलो घोषणा : खर्च कटौती र तयारीविहीन आयोजना रोक्ने