नदीहरूमा बहाव मौसमी औसतभन्दा तल, जलविद्युत् उत्पादन हिउँदे न्यूनतमतर्फ
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको वास्तविक-समय हाइड्रोलोजिकल डेटा र दीर्घकालीन मौसमी औसतको तुलना गर्दा हाल नेपालका अधिकांश प्रमुख नदीहरू मौसमी औसत भन्दा तल, तर सामान्य हिउँदे दायराभित्र बगिरहेका देखिएका छन्। यही प्रवृत्तिले देशको जलविद्युत् उत्पादनलाई पनि हरेक वर्षझैं हिउँदे न्यूनतम उत्पादन तह तर्फ धकेलेको छ।
हिउँद याममा वर्षा न्यून र हिमपग्लन सीमित हुने भएकाले नदीहरूमा बहाव घट्नु सामान्य हो। हाल कोशी, गण्डकी, कर्णाली तथा बागमती नदी प्रणालीअन्तर्गतका प्रमुख नदीहरूमा देखिएको जलप्रवाह अवस्था यसै मौसमी ढाँचासँग मेल खाने खालको रहेको विभागको विश्लेषण छ।
नदी-बहाव र जलविद्युत् उत्पादनबीच प्रत्यक्ष सम्बन्ध
नेपालको विद्युत् उत्पादन संरचनामा नदी प्रवाही प्रकृतिका जलविद्युत् आयोजनाको बाहुल्यता रहेकाले नदीमा बग्ने पानीको मात्रा घट्दा उत्पादन पनि स्वतः घट्ने गर्दछ। अहिले देखिएको जलप्रवाह अवस्था अनुसार अधिकांश नदी प्रवाही आयोजनाहरू आफ्नो जडित क्षमताभन्दा निकै कम स्तरमा विद्युत् उत्पादन गरिरहेका छन्।
विशेषगरी कोशी प्रणालीका आयोजनाहरूमाऽ बागमती र गण्डकी बेसिनका मध्य-पहाडी आयोजनाहरूमा हिउँदे बहाव घटेकाले उत्पादन मौसमी औसतभन्दा तल झरेको छ। यो अवस्था असामान्य नभए पनि, उत्पादन-खपत सन्तुलनका दृष्टिले चुनौतीपूर्ण मानिन्छ।
जलाशययुक्त आयोजना र प्रणाली सन्तुलन
हिउँदे बहाव घट्दा जलाशययुक्त (storage) आयोजनाहरू ले प्रणाली सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छन्। सीमित भए पनि उपलब्ध जलाशययुक्त आयोजनाबाट हिउँदमा पनि तुलनात्मक रूपमा स्थिर उत्पादन सम्भव भएकाले समग्र प्रणाली पूर्ण रूपमा दबाबमा नपरेको देखिन्छ।
तर कुल जडित क्षमतामा जलाशययुक्त आयोजनाको हिस्सा न्यून भएकाले नेपाल अझै पनि हिउँदे महिनामा विद्युत् आयात र लोड व्यवस्थापन मा निर्भर रहन बाध्य भएको ऊर्जा विज्ञहरूको भनाइ छ।
मौसमी औसतअनुरूपकै अवस्था, तर संरचनात्मक कमजोरी उजागर
विभागको दीर्घकालीन तथ्यांकअनुसार माघ-फागुनमा नदी बहाव वार्षिक औसतको करिब ३०-४० प्रतिशत सम्म झर्ने गर्दछ। अहिले देखिएको जलप्रवाह अवस्था यही ऐतिहासिक प्रवृत्तिभित्र रहे पनि, यसले नेपालको जलविद्युत् प्रणालीको संरचनात्मक कमजोरी पुनः उजागर गरेको छ, अत्यधिक रुपमा नदी प्रवाहीवाला आयोजनाप्रतिको निर्भरता।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार नदी बहाव सामान्य मौसमी स्तरमै रहे पनि उत्पादन उल्लेखनीय रूपमा घट्नु भनेको जलविद्युत् मिश्रण सन्तुलित नभएको संकेत हो।
आगामी साता र उत्पादन परिदृश्य
हाल ठूलो मौसमी प्रणाली सक्रिय नभएकाले नदीहरूमा बहाव छोटो अवधिमा उल्लेखनीय बढ्ने संकेत छैन। यसले नजिकको अवधिमा जलविद्युत् उत्पादन पनि हिउँदे न्यूनतम तहकै आसपास रहने संकेत गर्दछ। जबसम्म व्यापक वर्षा वा वसन्तयामको हिमपग्लन तीव्र रूपमा सुरु हुँदैन, तबसम्म उत्पादनमा ठोस सुधार अपेक्षित देखिँदैन।
विद्युत् माग–आपूर्तिको आजको चित्र
नेपाल विद्युत् प्राधिकरणका अनुसार आजको कुल ऊर्जा माग ३८,७१६ मेगावाट–घण्टा पुगेको छ। उक्त मागमध्ये प्राधिकरणका आफ्नै आयोजनाबाट ५,८६८ मेगावाट घण्टा (५८ लाख ६८ हजार युनिट)
- उसका सहायक कम्पनीहरूबाट ६,०२२ मेगावाट घण्टा, निजी क्षेत्रबाट १७,९८६ मेगावाट घण्टा, भारतबाट आयात: ८,४३९ मेगावाट घण्टा आपूर्ति भइरहेका छन् । यद्यपि प्रणालीमा करिब ४०० मेगावाट घण्टा बराबरको अवरोध (Interruption) पनि रेकर्ड भएको प्राधिकरणको तथ्यांक छ।
उत्पादन संरचना हेर्दा कुल मागमध्ये करिब २४ हजार मेगावाट घण्टा भन्दा बढी ऊर्जा प्राधिकरणका बाहिरका स्रोत (निजी र आयात) बाट पूर्ति भइरहेको छ, जुन हिउँदे महिनामा घरेलु उत्पादन क्षमताको सीमालाई प्रस्ट देखाउने संकेत हो।
आयातको भूमिका अझै निर्णायक
हालको तथ्यांकले के देखाउँछ भने नदी बहाव मौसमी औसतभन्दा तल झरेसँगै जलविद्युत् उत्पादन घटेको खाली ठाउँ आयातले पूर्ति गरिरहेको छ। कुल मागको झन्डै २२ प्रतिशत हिस्सा आयातित ऊर्जा बाट धानिएको छ, जसले हिउँदमा आयात निर्भरता अझै घट्न नसकेको यथार्थ उजागर गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नदीहरूमा बहाव मौसमी औसतभन्दा तल, जलविद्युत् उत्पादन हिउँदे न्यूनतमतर्फ
-
आज देशभर मौसम शान्त, तर तराईमा हुस्सु; नदीनालामा जलप्रवाह सामान्य
-
ऊर्जा उत्पादन बढाएर समृद्ध नेपाल बनाइन्छ : अध्यक्ष घिसिङ
-
सामाजिक सञ्जालको प्रयोग गर्दा मर्यादा अपनाउनुहाेस् : विद्युत प्राधिकरण
-
भाषण गर्ने होइन, काम गर्न सक्ने नेतृत्वलाई जिताएर एक पटक मौका दिनुहोस् : अध्यक्ष घिसिङ
-
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?