सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन तीव्र, ठूला आयोजनाले देखाए उत्साहजनक प्रगति

जलसरोकार
बिहीबार, कात्तिक २०, २०८३ | १०:५१:४० बजे

 

काठमाडौं : आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाहरूको बजेट कार्यान्वयनले गति लिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु २३९ करोड ३० लाख खर्च गरेको छ । विभागका अनुसार कुल खर्चमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् निर्माण तथा विकाससम्बन्धी काममा खर्च भएको छ ।

विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार पहिलो त्रैमासिकमा केही ठूला तथा तयारी पूरा भएका आयोजनाहरूले लक्ष्यको तुलनामा उल्लेख्य भौतिक प्रगति गरेका छन् । बजेट कार्यान्वयनसँगै निर्माणको काम पनि तीव्र बनेपछि सिँचाइ आयोजनाहरूको समग्र प्रगति उत्साहजनक देखिएको उनले बताए।

कञ्चनपुरमा सञ्चालित महाकाली सिँचाइ आयोजनाले पहिलो त्रैमासिकको निर्धारित भौतिक लक्ष्यको ९७ दशमलव २ प्रतिशत प्रगति हासिल गरेको छ । आयोजनाले समीक्षा अवधिमा रु ४३ करोड ७० लाख खर्च गरेको छ, जुन त्रैमासिकका लागि विनियोजित बजेटको अढाई गुणाभन्दा बढी हो । आयोजनाको भौतिक प्रगति र खर्च दुवैलाई विभागले उल्लेखनीय मानेको छ ।

त्यस्तै, बबई सिँचाइ आयोजनाले त्रैमासिक लक्ष्यको ८१ दशमलव ८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८० दशमलव २ प्रतिशत र रानीजमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेका छन् । यी आयोजनाहरूले पहिलो त्रैमासिकमै निर्माण तथा पूर्वाधार विकासका कामलाई अपेक्षाकृत तीव्रता दिएका हुन् ।

विभागका महानिर्देशक रजौरियाका अनुसार महाकाली, बबई, सिक्टा र रानीजमरा कुलरिया गरी चार ठूला सिँचाइ आयोजनाले मात्रै पहिलो त्रैमासिकमा रु १३९ करोड खर्च गरेका छन् । यो विभागले गरेको कुल खर्चको करिब ५८ प्रतिशत हो । ठूला आयोजनामा भएको खर्चले समग्र विभागीय बजेट कार्यान्वयनलाई समेत गति दिएको उनले बताए ।

विभागअन्तर्गतका अन्य आयोजनाले पनि पहिलो त्रैमासिकमा राम्रो प्रगति गरेका छन् । दाङमा सञ्चालित प्रगन्ना–बड्कापथ सिँचाइ आयोजनाले निर्धारित लक्ष्यको ८८ दशमलव २ प्रतिशत भौतिक प्रगति गरेको छ । यसैगरी गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले पहिलो त्रैमासिकमै आफ्नो शतप्रतिशत लक्ष्य पूरा गरेका छन् ।

महानिर्देशक रजौरियाले काम अघि बढाउन आवश्यक तयारी पूरा भएका आयोजनामा बजेट र निर्माण दुवै पक्षमा अपेक्षित गति देखिएको बताउनुभयो । उहाँका अनुसार पहिलो त्रैमासिकमा कामको गति लिन नसकेका वा ढिलो सुरु भएका आयोजनालाई पनि दोस्रो त्रैमासिकदेखि प्रभावकारी रूपमा अगाडि बढाउने तयारी विभागको छ ।

“तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन्,” उहाँले भन्नुभयो, “दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ।”

विभागले पहिलो त्रैमासिकको अनुभवका आधारमा बाँकी अवधिमा बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ । विशेषगरी निर्माणका लागि आवश्यक पूर्वतयारी पूरा भएका आयोजनामा बजेट खर्चसँगै भौतिक उपलब्धि पनि बढाउने र ढिलो भएका आयोजनाको गति सुधार्ने रणनीति विभागले अघि सारेको छ।

 

 

 

 

 

प्रकाशित मिति : बिहीबार, कात्तिक २०, २०८३ | १०:५१:४० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया