सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तिहार–छठमा विद्युत् आपूर्ति नियमित गर्न ऊर्जामन्त्री श्रेष्ठकाे निर्देशन

जलसरोकार
बिहीबार, कात्तिक २०, २०८३ | १०:०८:१७ बजे

 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले तिहार र छठ पर्वका समयमा देशभर विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएका छन् । चाडपर्वलगत्तै सुरु हुने सुख्खायाममा विद्युत् आपूर्तिमा आउन सक्ने चुनौतीलाई ध्यानमा राख्दै अहिलेदेखि नै योजनाबद्ध तयारी अघि बढाउन उनले मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

बुधबार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकअघि प्राधिकरणका कार्यकारी निर्देशक तथा उच्च अधिकारीहरूसँग छलफल गर्दै मन्त्री श्रेष्ठले चाडपर्वका समयमा विद्युत् खपत बढ्न सक्ने अवस्थाको पूर्वानुमान गरेर सोहीअनुसार आपूर्ति व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन् ।

तिहारका समयमा घर तथा व्यावसायिक क्षेत्रमा विद्युत्को प्रयोग बढ्ने भएकाले माग र आपूर्तिको अवस्था पहिल्यै विश्लेषण गरी आवश्यक तयारी गर्न उनले प्राधिकरणलाई निर्देशन दिएका छन् । विद्युत् मागअनुसार पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा कुनै पनि क्षेत्रमा अनावश्यक रूपमा विद्युत् अवरोध हुन नदिने गरी वितरण प्रणालीलाई चुस्त राख्नुपर्नेमा उनले जोड दिएका छन् ।

मन्त्री श्रेष्ठले चाडपर्वको समयमा विद्युत् आपूर्तिमा देखिन सक्ने प्राविधिक समस्या तत्काल समाधान गर्ने संयन्त्रलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिएका छन् । विशेषगरी तिहारका समयमा विद्युत्को माग बढ्ने भएकाले वितरण प्रणालीमा पर्ने दबाब र सम्भावित जोखिमको पहिचान गरी त्यसअघि नै आवश्यक व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

चाडपर्वको विद्युत् व्यवस्थापनसँगै मन्त्री श्रेष्ठले आगामी सुख्खायामको चुनौतीलाई पनि प्राथमिकतामा राखेका छन् । हिउँद लागेसँगै नदीमा पानीको बहाव घट्ने र त्यसका कारण जलविद्युत् आयोजनाबाट हुने उत्पादनमा कमी आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै आन्तरिक उत्पादन र आवश्यक विद्युत् आयातको सम्भावनासमेत विश्लेषण गर्न उनले प्राधिकरणलाई निर्देशन दिएका छन् ।

सुख्खायाममा विद्युत्को माग कति पुग्न सक्छ र त्यसको तुलनामा आन्तरिक उत्पादनबाट कति विद्युत् उपलब्ध हुन्छ भन्ने यथार्थ मूल्याङ्कन गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका छन् । उपलब्ध विद्युत् र सम्भावित मागबीचको अन्तर पहिचान गरी आपूर्ति व्यवस्थापनका लागि समयमै आवश्यक कदम चाल्नुपर्ने उनको निर्देशन छ ।

उनले सुख्खायाममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन तत्काल चाल्नुपर्ने कदमसहित विस्तृत कार्ययोजना तयार पार्न प्राधिकरणलाई निर्देशन दिएका छन् । आगामी बैठकमा सुख्खायामको माग, उपलब्ध उत्पादन, विद्युत् आयातको सम्भावना र आपूर्ति व्यवस्थापनका लागि अपनाउनुपर्ने उपायसहितको विस्तृत कार्ययोजना तथा प्रस्तुतीकरण पेस गर्नसमेत उनले भनेका छन् ।

मन्त्री श्रेष्ठको निर्देशनले तत्कालका लागि तिहार र छठमा विद्युत् आपूर्ति सहज बनाउनेसँगै सुख्खायाममा देखिन सक्ने आपूर्ति चुनौतीलाई समयमै व्यवस्थापन गर्ने सरकारको तयारीलाई प्राथमिकतामा राखेको देखिन्छ । चाडपर्वमा विद्युत् माग बढ्ने र त्यसपछि जलविद्युत् उत्पादन घट्न सक्ने अवस्थालाई ध्यानमा राखेर प्राधिकरणले उत्पादन, आयात र वितरण प्रणाली तीनै पक्षको पूर्वतयारी गर्नुपर्ने भएको छ ।

 

 

प्रकाशित मिति : बिहीबार, कात्तिक २०, २०८३ | १०:०८:१७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया