जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

लिफ्ट सिँचाइले फेरिएको राईगाउँ

जलसरोकार
बिहीबार, फागुन १०, २०८० | १३:२६:०० बजे

 

काठमाडौं : सिँचाइको अभावमा भरुभूमिजस्तै रहने गरेको मकवानपुरको बागमती गाउँपालिका–२ राईगाउँ यतिखेर हराभरा भएको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका बासिन्दा अहिले लिफ्ट सिँचाइको व्यवस्थासँगै सदाबहार खेती गर्न केन्द्रित भएका छन् ।

अघिल्ला वर्षहरूमा यतिबेला माटो उड्ने गरेका खेतमा अहिले भने मकै हराभरा भएका छन् । असारमा धान र चैतमा मकैखेतीमात्रै गर्ने उनीहरू अहिले बेमौसमी मकैखेतीमा केन्द्रित भएका छन् ।

मकवानपुरको यस गाउँपलिका वडा नं २ मा चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले नयाँ प्रविधिसहित सिँचाइको व्यवस्था गरेसँगै उनीहरू कृषिकर्ममा व्यस्त रहने गरेका छन् । आयोजनाले बागमती नदीको पानीलाई लिफ्ट सिँचाइ प्रणालीबाट खेतखेतमा पानीको व्यवस्था गरेपछि स्थानीय कृषि कर्ममा उत्साहित बनेको स्थानीय घनश्याम विक बताउँछन् ।

आयोजनाले ६५ लाखको लागतमा बागमती नदीको पानीलाई तानेर गाउँमा पुर्याएपछि त्यहाँका बासिन्दा उत्साहित भएर लागेको उनले बताए। बाढीमा समेत मोटरको सुरक्षा गर्नेगरी आयोजनाले सिँचाइको व्यवस्था गरेपछि यस क्षेत्रका युवासमेत खेतीमा आकर्षित भएको विकले बताए।

नदीको पानीलाई तानेर एक हजार पाँच सय मिटरसम्म सिँचाइको व्यवस्था हुँदा गाउँ नै फेरिएको उनको भनाइ छ । नियमित सिँचाइको व्यवस्था भएपछि यस क्षेत्रको एक सय ५० बिघा क्षेत्रफलमा सिञ्चित भएको उनले जानकारी दिए। विकले भने, ‘विदेश जाने सोच बनाएको थिएँ, अब त्यो सोचलाई परिवर्तन गरेको छु ।’

स्थानीय राजकुमार सेन्चुरीले अहिले आफ्नो बारीमा मात्रै नभएर छिमेकीको बारीमा समेत मकैखेती गर्दै आएका छन् । सिँचाइ भएपछि गाउँमा हरित क्रान्ति भएको उनले बताए । उनले भने, ‘पहिला यो समयमा बारीमा धुलो उड्थ्यो, अहिले हरियाली भएको छ ।’

स्थानीयले यस वर्ष मकै बेचेरमात्र १ करोड आम्दानी गर्ने उनले बताए । गाउँपालिकाले मकैको बीउमा अनुदान दिएर मकैखेती गर्न प्रोत्साहन गरेको छ । बागमतीको पानीले यस क्षेत्रलाई १२ महिना नै हरियाली बनाउन सहयोग गरेको उहाँको भनाइ थियो । भदौदेखि राइगाउँबजार लिफ्ट सिँचाइ आयोजनाले किसानलाई पानी उपलब्ध गराउन थालेको हो । पहिला आफूहरूको आम्दानीको स्रोत केही नभएर विदेश जानुपर्ने बाध्यता भए पनि अब भने त्यस्तो नभएको उनले बताए ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख ई देवकुमार स्याङ्बो यो परियोजनाले यस क्षेत्रको मुहार फेर्न सफल भएको बताउँछन् । नयाँ प्रविधिबाट नदीको पानीलाई गाउँमा पुर्याइएको हो ।

क्रेन लिफ्ट सिँचाइ प्रविधिबाट सिँचाइको व्यवस्था गरिएको उनले बताए । उनले भने, ‘वर्षात्को समयमा बाढी आउँदा मोटरको सुरक्षाका लागि क्रेनेल मोटरलाई माथि तान्नेगरी आयोजना सम्पन्न गरिएको छ ।’ आधुनिक सिँचाइ प्रणालीबाट यस क्षेत्रको सिँचाइ गरिएको बताउँदै उनले अहिले क्षेत्रफल विस्तारको काम भइरहेको बताए। स्थानीयले क्षेत्रफल विस्तारका लागि बजेट माग गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : बिहीबार, फागुन १०, २०८० | १३:२६:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया