सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मेगावाटको गर्व, गुणस्तरको शून्यता

गोविन्द शर्मा पोखरेल
आइतबार, जेठ १०, २०८३ | १३:४३:१८ बजे

२०४०-४१ सालतिर प्रसारण लाइनको निर्माणको सिलसिलामा म जनकपुरमा बस्दा हामी बस्ने घरमा साँझ परेपछि हरेक दिन एउटा लालटिन बालेर ठाउँठाउँमा झुन्ड्याउने चलन थियो । बिजुली उसलाई मन लागेको बेला आउँथ्यो र उसकै खटनमा जान्थ्यो । बिजुलीमा हाम्रो कुनै खटन थिएन । कहिलेकाहीँ अफिसबाट घर फर्किँदा साँझ नै नपरी कोठामा बिजुली बत्ती बलिरहेको हुन्थ्यो र हामी सो बत्ती निभाउँथ्यौँ । हामी बत्ती पनि बलेको होला भनेर चनाखो हुँदैनथ्यौँ, किनभने त्यो समयमा जनकपुरमा बिजुली बत्ती बल्नु नियमित कुरा थिएन, बरु बिजुली नबल्नु बढी नियमित कुरा हुन्थ्यो । मेरो विचारमा सो समयमा दैनिक करिब ४-५ घण्टा जति बिजुली आउँथ्यो होला, तर सो आउने कुनै समयतालिका थिएन । माथि भनिएझैँ आफैँ आउँथ्यो, आफैँ जान्थ्यो । आफ्नै समयमा आउँथ्यो, आफ्नै सुरमा जान्थ्यो । झ्याप्प बत्ती आएर उज्यालो हुन्थ्यो र प्रायःजसो आएलगत्तै जान्थ्यो । बरु यो बिजुली बत्ती आएपछि तुरुन्त जाने प्रक्रिया निकै नियमित थियो । पछि ध्रुवनारायण सिंहजी जनकपुरको म्यानेजर भएर आउनुभएपछि विद्युत् आउने समय पनि निकै बढ्यो र जाँदा पनि समयतालिका अनुसार नै जान्थ्यो । यसको मतलब बिजुली बत्ती आउने-जाने कुरा व्यवस्थापन गर्न सकिने नै वस्तु थियो, तर वास्तविकता माथि उल्लेख गरेझैँ थियो ।

यो प्रसङ्ग किन यहाँ कोट्याएको भने हिजोआज काठमाडौँमा पनि जनकपुरको व्यवस्थापनको सिको गरिएको भान हुन थालेको छ । बिजुली बत्ती उपलब्ध हुने दैनिक समय गन्यो भने करिब २०-२२ घण्टा होला, तर दिनमा करिब १० पटक जाने बत्तीमा कसरी भर पर्ने ? सबैभन्दा ज्यादा अनियमित हुने समय बिहान र बेलुका हो । यसको मतलब उच्च माग भएको समयमा विद्युत् प्राधिकरणबाट बिजुलीको उचित व्यवस्थापन हुन सकेको छैन । कारण हजार होलान् । तर उपभोक्तालाई कारण जान्नुपर्ने छैन । पकाउन बसाएको भातले बिग्रन बत्ती गएको कारण सोध्दैन । यसरी बत्ती जाने कुरा नियमित नै हो मेरो घर भएको इलाकामा । अन्यमा मलाई खासै जानकारी छैन । एक उपभोक्ताको हिसाबले यसबारे जानकारी राख्ने मतलब पनि छैन ।

काठमाडौँको यो हविगत बाहिरका जिल्लाहरूमा अझ ज्यादा होला । दुर्गममा त विकराल नै होला, जनकपुरमा हाम्रो हालत भएजस्तो वा अझ विकराल । बिजुली त केवल केटाकेटीहरूलाई बिजुली कस्तो हुन्छ भनेर देखाउन राखेजस्तो मात्र । तर यसरी त विद्युत् आपूर्तिको गुणस्तरको कुरा गर्ने बेला नै नभएको जस्तो लाग्छ नेपालका जिल्लास्थित ग्रामीण बस्तीहरू र दुर्गम स्थानहरूमा । हामी केवल कति जनसंख्यामा बिजुली पुग्यो भन्ने तथ्याङ्क सङ्कलनमा मात्र व्यस्त भएजस्तो लाग्छ यस्तो अवस्था हेर्दा । अनि हामी कल्पना गर्छौँ बिजुलीबाट खाना पकाउने ग्यास प्रतिस्थापन गर्ने कुरा, औद्योगिकीकरण गर्ने कुरा, बिजुलीको खपत बढाउने कुरा । अनि आगामी १० वर्षमा २८-३० हजार मेगावाटसम्म विद्युत् उत्पादन पुर्‍याउने कुरा । अनि नेपालीको औसत बिजुली खपत १,५०० युनिट पुर्‍याउने कुरा । यस्तो हास्यव्यङ्ग्य सुन्दा कसैलाई हाँसो पनि उठेन ? नेपालीहरूले हाँस्नै बिर्सिसकेका जस्ता छन् राजनीतिक प्रहसन सुन्दै-सुन्दै ।

वास्तवमा विद्युत् प्राधिकरणले गर्ने बिजुलीको खुद्रा व्यापारलाई किन र के कारणले वितरण भन्ने नामाकरण गरियो, मलाई थाहा छैन । तर वितरण भन्ने शब्द कताकता निःशुल्क वितरणको नजिक भएको मलाई भान हुन्छ । वास्तवमा यो वितरण तथा ग्राहक सेवालाई “आन्तरिक व्यापार विभाग” नामाकरण गर्दा यसले खासमा गर्ने काम दर्शाउँछ जस्तो लाग्छ मलाई । विद्युत् प्राधिकरणको उपभोक्ता सेवाको नीति के छ, यो पनि आम उपभोक्तालाई थाहा भएजस्तो लाग्दैन । मलाई त विद्युत् प्राधिकरणको विद्युत् उपभोक्ताबारेको नीतिमा केही ठूलै परिमार्जन गर्नुपर्ने जस्तो लाग्छ, खास गरेर नेपालमा आपूर्ति गरिने विद्युत्‌को गुणस्तरको सन्दर्भमा । किनभने विद्युत् अन्तिम लक्ष्य मात्र होइन । घरायसी खपतको बिजुली वा विद्युत् अन्तिम लक्ष्य हो भने अन्य प्रयोगमा बिजुली कच्चा पदार्थ हो । खास गरेर औद्योगिकीकरणको दृष्टिकोणबाट यो नभई नहुने कच्चा पदार्थ हो । गुणस्तरीय बिजुलीको उच्च औद्योगिक खपत नै देश विकासको मेरुदण्ड हो । तर नेपालमा बिजुलीलाई प्रायः अन्तिम वस्तुका रूपमा नै लिने गरिन्छ । त्यसैले त कति जनसंख्यामा बिजुली पुग्यो भन्ने तथ्याङ्कले समाजमा ठाउँ पाउँछ, तर बिजुलीको गुणस्तरबारे खासै चर्चा गरिएको पाइँदैन ।

नेपालको बिजुली समाजमा बिजुलीको गुणस्तरको मापन प्राविधिक सूचक जस्तै फ्रिक्वेन्सी, भोल्टेज आदि मार्फत गरिन्छ, तर दैनिक कति पटक बिजुलीको सप्लाई कुनै ग्राहककहाँ अवरुद्ध भयो भन्नेबारे कतै चर्चा गरेको मैले सुनेको छैन । नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रका ग्राहकहरू सबै सूचकमा तल परेको पाइन्छन् । यो कुरामा निजी क्षेत्रका नेपाली विद्युत्कर्मीहरूको लगानीका कारण क्रमिक रूपमा सुधार आइरहेको पाइए पनि यसलाई पुष्टि गर्ने तथ्याङ्क नेपालमा कसैसँग भएजस्तो मलाई लाग्दैन । हामी केवल कति प्रतिशत नेपालीसमक्ष बिजुली पुग्यो भन्ने तथ्याङ्कमा तथा मेगावाटको रेसमा नै आत्मसन्तुष्ट छौँ । तर, बिजुलीको गुणस्तरको एकपटक सर्वे गरी हेर्नुस् त । तपाईंलाई त्यो तथ्याङ्कमा प्वालैप्वाल देखिन सक्छ ।

गुणस्तरीय विद्युत् आपूर्ति नै औद्योगिकीकरणको मूल आधार हो । खास गरेर उत्पादनमूलक उद्योगका लागि सर्वगुणसम्पन्न बिजुली प्रमुख पूर्वाधार हो । त्यसैले, म नेपाल विद्युत् प्राधिकरण तथा नेपालमा बिजुलीको उत्पादन, वितरण तथा व्यवस्थापनसँग सरोकार राख्ने सबैलाई नेपालमा बिक्री-वितरण हुने विद्युत्को गुणस्तरबारे चासो राख्न अनुरोध गर्न चाहन्छु । काठमाडौँजस्तो नेपालको सबैभन्दा सुगम ठानिएको स्थानमा त बिजुलीको आउने-जाने प्रक्रिया नियमित हुन सकेको छैन भने न्यून भोल्टेजका लामा-लामा वितरण लाइनसहितका वितरण प्रणाली भएका ग्रामीण बस्तीहरूमा, अझ दूरदराजका दुर्गम स्थानहरूमा बिजुलीको गुणस्तरको के कुरा गर्ने होला र ? तैपनि, म नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित प्राविधिकहरू तथा नेपालका विश्वविद्यालयहरूमा अध्यापन, अध्ययन-अनुसन्धान गर्ने प्राविधिक विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई नेपालमा बिक्री हुने बिजुलीको गुणस्तरबारे अध्ययन-अनुसन्धान गरी यस्तो बिक्री हुने बिजुलीको गुणस्तरमा कसरी, के-के सुधार गर्न आवश्यक छ भन्ने निष्कर्ष निकाल्न हार्दिक अनुरोध गर्न चाहन्छु । किनभने गुणस्तरीय बिजुली नै नेपालको औद्योगिकीकरणको मूल कडी हो । र बिना थप औद्योगिकीकरण नेपालको प्रतिव्यक्ति विद्युत् खपत १,५०० युनिट पुर्‍याउने सरकारी सपना विपनामै परिणत हुन सक्ने मेरो निष्कर्ष छ ।

 

प्रकाशित मिति : आइतबार, जेठ १०, २०८३ | १३:४३:१८ बजे

लेखकको बारेमा

गोविन्द शर्मा पोखरेल
वरिष्ठ फेलो, नेपाल पानी सदुपयोग फाउण्डेशन

प्रतिक्रिया