सेयर बजार ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चार वर्षदेखि रोकिएको खुट्टी सिँचाइ आयोजना सञ्चालनको तयारीमा, किसानमा आशा

जलसरोकार
बिहीबार, साउन १५, २०८२ | १०:४५:३७ बजे

 

सिरहा,: मधेश प्रदेशको सिरहा जिल्लास्थित ऐतिहासिक खुट्टी सिँचाइ आयोजना चार वर्षपछि पुनः सञ्चालनको चरणमा प्रवेश गरेको छ । लहान नगरपालिकाको खुट्टी क्षेत्रमा निर्माण गरिएको यस नहरको हेडवक्र्स करिब नौ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भइसकेको थियो। तर बजेट अभाव, स्थानीय तहबीच समन्वयको कमी र केही कानुनी तथा राजनीतिक विवादका कारण चार वर्षदेखि नहर बन्द अवस्थामा रहेको थियो ।

अब भने मधेश प्रदेश सरकारबाट रु १५ लाखको बजेट विनियोजन भएपछि सिँचाइ कार्यालयले नहर सफाइ तथा मर्मतको काम अगाडि बढाउने तयारी गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाका प्रमुख इञ्जिनीयर हस्मत अन्सारीका अनुसार नहरको पुरानो अवरोध हटाउने र शीघ्र सञ्चालनमा ल्याउने उद्देश्यले स्थानीय प्रशासन, राजनीतिक नेतृत्व तथा सुरक्षाकर्मीको सहभागितामा स्थलगत अनुगमन गरिएको हो ।

बन्द नहर, सुकेका खेत

खुट्टी सिँचाइ आयोजना सञ्चालनमा नआँदा लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारी गाउँपालिकाका करिब ९३५ बिघा जमिनमा सिँचाइ सुविधा अवरुद्ध भएको थियो। किसानहरू वर्षौंदेखि वर्षामा भर पर्ने परम्परागत खेती प्रणालीमै निर्भर रहँदै आएका छन् ।

स्थानीय कृषक रामविलास यादव भन्छन्, “हेडवक्र्स बन्यो भनेर हामीलाई आशा लागेको थियो, तर नहर चल्नै सकेन। बर्खामा बाढी, हिउँदमा सुख्खा— हाम्रो खेती चौपट भयो ।”

यसै असन्तोषका कारण किसानहरूले सङ्घर्ष समिति गठन गरी आन्दोलनको तयारीसमेत थालेका थिए । स्थानीयको दबाबलाई मनन गर्दै प्रदेश सरकार र प्रशासनले नहर सञ्चालनतर्फ चासो देखाएको हो ।

स्थलगत अनुगमन: समन्वयको संकेत

खुट्टी नहरको स्थलगत अनुगमनमा मधेश प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, जिल्ला समन्वय समिति सभापति दिनेश महतो, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन प्रमुख हस्मत अन्सारी, इलाका प्रशासन प्रमुख गोकर्णराज सुयलसहित प्रहरी र सशस्त्र प्रहरीको टोली सहभागी भयो ।

सहभागी निकायले नहर तत्काल सञ्चालन गर्न आवश्यक सबै तयारी गर्न सहमति जनाएका छन्। सिँचाइ डिभिजन प्रमुख अन्सारीले भने, “हामी आजको अनुगमनपछि नहर सञ्चालनका लागि अवरोध पहिचान गरी कार्य सुरु गर्दैछौं। अब कामलाई ‘फास्ट ट्र्याक’मा लगेर छिट्टै किसानलाई पानी पु¥याउने योजना छ ।”

स्थानीय सरकारको भूमिकामा प्रश्न

नहर निर्माण सकिएपछि पनि स्थानीय सरकार तथा सरोकारवाला निकायको उदासीनता तथा समन्वयको अभावले आयोजना सञ्चालनमा ढिलाइ भएको भन्दै आलोचना हुँदै आएको छ । विश्लेषकहरू भन्छन्, यस्तो रणनीतिक महत्वको सिँचाइ संरचना सञ्चालनमा ल्याउन प्रारम्भिक चरणमै स्पष्ट योजना र बजेट व्यवस्था हुनुपर्ने थियो ।

पूर्वसिंचाइ अधिकृत जगतप्रसाद मण्डल भन्छन्, “यो आयोजनाले सिरहाको उत्पादनशीलता बढाउने ठूलो सम्भावना बोकेको छ। यस्ता आयोजना सञ्चालन गर्न तीन वर्ष पर्खनु चिन्ताजनक हो।”

अबको बाटो: बजेट, पारदर्शिता र अनुगमन

वर्तमानमा आएको १५ लाखको बजेट नहरको सामान्य मर्मत र सफाइका लागि प्रयाप्त मानिए पनि दीर्घकालीन सिँचाइ सेवा कायम राख्न थप स्रोत र प्राविधिक निगरानी आवश्यक छ। किसानहरूले नहरलाई दीगो बनाउन नियमित अनुगमन, पारदर्शिता र थप लगानी आवश्यक भएको बताएका छन् ।

लहानका युवा किसान सञ्जय यादव भन्छन्, “यो एक सुरुवात हो, तर सरकार र कार्यालयले बीचमै काम नछोडून् । हामी पानीको भरमा खेती गर्छौं— नहर चल्यो भने सिङ्गो क्षेत्रको अर्थतन्त्र चल्नेछ ।”

खुट्टी सिँचाइ आयोजना सञ्चालनको वर्तमान प्रयास मधेशका किसानका लागि आशाको किरण बनेको छ । तर यो प्रयास स्थायी सफलतामा रूपान्तरण गर्न बजेट सुनिश्चितता, दिगो योजना, प्राविधिक निरीक्षण र जनप्रतिनिधिको गम्भीर चासो अपरिहार्य छ। समयमै काम सम्पन्न भए खुट्टी नहर केवल सिँचाइको माध्यम मात्र नभई ग्रामीण जीवनस्तर उकास्ने उदाहरण बन्न सक्छ ।

प्रकाशित मिति : बिहीबार, साउन १५, २०८२ | १०:४५:३७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया