महाकाली सिँचाइ आयोजनामा कमाण्ड क्षेत्र विस्तार गर्ने तयारी
जलसरोकार
कञ्चनपुर : राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत चालु आर्थिक वर्षमा कमाण्ड क्षेत्र विस्तार गरी थप भूभागमा सिँचाइ सुविधा पुर्याउने तयारी गरिएको छ।
आयोजनाका सूचना अधिकारी यादव बरालका अनुसार मूल नहर निर्माण सम्पन्न भएको २८ किलोमिटर क्षेत्रबाट शाखा नहर विस्तार गरी सिँचाइ सेवा विस्तार गर्ने गृहकार्य भइरहेको छ। उनले बजेटमा उल्लेख गरिएको कमाण्ड क्षेत्र विस्तारको अर्थ बनेको नहरबाट शाखा नहरमार्फत कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउनु रहेको स्पष्ट पारे ।
हाल आयोजनाअन्तर्गत २२ वटा शाखा नहर निर्माण अन्तिम चरणमा पुगेका छन्। ती नहरमार्फत सिँचाइ विस्तारको योजना अघि बढाइएको छ।
यद्यपि नेपाल–भारत महाकाली सन्धिअनुसार महाकाली नदीबाट नेपालतर्फ नियमित पानी ल्याउने विषय अझै टुंगो लाग्न सकेको छैन। मूल नहर निर्माण सम्पन्न भए पनि भारतसँग पानी प्रवाहसम्बन्धी स्थायी प्रोटोकल (SOP) नहुँदा नहरमा नियमित पानी आपूर्ति हुन नसकेको सूचना अधिकारी बरालले बताए ।
उनका अनुसार हालसम्म एसओपी स्वीकृत नभए पनि परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा पानी आपूर्तिसम्बन्धी विषयमा पहल भइरहेको छ। “कुन समयमा कति पानी दिने भन्ने विषय टुंग्याउनुपर्नेछ,” उनले भने, .
महाकाली सन्धिअनुसार भारततर्फ टनकपुरदेखि सीमासम्म १ हजार २०० मिटर नहर निर्माण भइसकेको छ भने नेपालतर्फ ब्रह्मदेवदेखि शुक्लाफाँटाको टोटी फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ।
हाल मूल नहरअन्तर्गत २८ देखि ४८ किलोमिटर क्षेत्र चार प्याकेजमा निर्माणाधीन रहेको छ। चालु आर्थिक वर्षमा आयोजनामा रु ७० करोड पुँजीगत खर्च भएको जनाइएको छ।
कैलालीको मालाखेतीसम्म करिब ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको आयोजना हालसम्म करिब रु ९ अर्ब लगानी भइसकेको छ। सरकारको लक्ष्य अनुसार २०८७ सालसम्म सम्पूर्ण नहर निर्माण सम्पन्न गर्ने योजना छ।
यसअघि पहिलो र दोस्रो चरणमार्फत कञ्चनपुरका केही क्षेत्रहरूमा सिँचाइ सुविधा पुर्याइएको छ। साथै प्रदेश सरकार र स्थानीय तहले ट्युबेल तथा बोरिङमार्फत पनि सिँचाइ विस्तारमा सहयोग गर्दै आएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से लगातार चौथो दिन घट्यो, कारोबार रकम ६ अर्ब ४४ करोड नाघ्यो
-
राहुघाटको २२० केभी स्विचयार्ड सञ्चालनमा, १२७.८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
डेडिकेटेड र ट्रंक लाइन बक्यौता तत्काल असुल गर्न उनेपाका अध्यक्ष कुलमानको आग्रह
-
चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय
-
महाकाली सिँचाइ आयोजनामा कमाण्ड क्षेत्र विस्तार गर्ने तयारी
-
सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?