भेरी–बबई डाइभर्सन आयोजनाको भौतिक प्रगति ७० प्रतिशत नजिक
५१ हजार हेक्टरमा वर्षैभरि सिंचाइ र ४६.८ मेगावाट विद्युत उत्पादन हुने
जलसरोकार
काठमाडाैं : राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशत नजिक पुगेको छ । आयोजनाले सार्वजनिक गरेको आ.व. २०८२/८३ को चैत्र मसान्तसम्मको स्वतः प्रकाशन विवरण सार्वजनिक गर्दै हालसम्म आयोजनाको भौतिक प्रगति ६९.८६ प्रतिशत र वित्तीय प्रगति ५६.९३ प्रतिशत पुगेको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिंचाइ विभागमार्फत कार्यान्वयन भइरहेको यो आयोजना नेपालकै पहिलो बहुउद्देश्यीय जलपथान्तरण आयोजना हो । आयोजनाले नेपालमा पहिलो पटक “सुरुङ खन्ने मेसिन प्रयोग गरेर १२.२ किलोमिटर लामो सुरुङ निर्माण सफलतापूर्वक सम्पन्न गरेको आयाेजनाले जनाएको छ ।
आयोजना अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा ११४ मिटर लामो ब्यारेज, १५८ मिटर डिसेन्डिङ बेसिन र ४.२ मिटर व्यासको सुरुङमार्फत प्रति सेकेण्ड ४० घनमिटर पानी बबई नदीमा खसालिनेछ । उक्त पानी प्रयोग गरी हात्तिखालस्थित पावरहाउसबाट ४६.८ मेगावाट विद्युत उत्पादन गरिने योजना रहेको छ । आयोजनाबाट वार्षिक करिब ४०० गिगावाट आवर विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ ।
आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका कुल ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिंचाइ सुविधा पुग्ने लक्ष्य राखिएको छ । यसमध्ये ३६ हजार हेक्टर क्षेत्र बबई सिंचाइ आयोजना र थप १५ हजार हेक्टर क्षेत्र बबई–मानखोला डाइभर्सन आयोजनाबाट लाभान्वित हुने जनाइएको छ ।
आयोजनाको कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ रहेको छ । २०६८ सालमा स्थापना गरिएको आयोजना २०८७/०८८ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाका अनुसार आयोजनाका पाँच मुख्य ठेक्कामध्ये सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ भने सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल निर्माण कार्य कार्यान्वयन चरणमा छन् । प्रसारण लाइनतर्फ वातावरणीय प्रभाव मूल्यांकन (EIA) को पूर्वस्वीकृति प्रक्रियामा रहेको आयोजनाका सूचना अधिकारी थापाले बताए ।
सिभिल निर्माणतर्फ मुख्य बाँधका ६ वटा बेमध्ये दुई वटा निर्माण अन्तिम चरणमा पुगेका छन् भने सेटलिङ बेसिनको ७० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै पेनस्टक पाइप, पावरहाउस र सर्जसाफ्ट निर्माण कार्य समेत अघि बढाइएको उनले जानकारी दिए ।
हाइड्रोमेकानिकलतर्फ गेट स्टपलग र पेनस्टक पाइप उत्पादनको ८५ प्रतिशत काम सम्पन्न भएको छ भने इलेक्ट्रोमेकानिकलतर्फ टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर र ओभरहेड क्रेन उत्पादन कार्य सकिएर जडान कार्य बाँकी रहेको आयोजनाले जनाएको छ ।
आयोजनाले सार्वजनिक गरेको SWOT विश्लेषणमा दक्ष प्राविधिक जनशक्तिको अभाव, विदेशी परामर्शदाता र निर्माण व्यवसायीमाथिको निर्भरता, जग्गा प्राप्तिमा ढिलाइ तथा स्थानीय अपेक्षा व्यवस्थापन चुनौतीका रूपमा उल्लेख गरिएको छ । यद्यपि आयोजनाले कृषि उत्पादन वृद्धि, भूमिगत जलस्रोत पुनर्भरण तथा व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
उनका अनुसार बाँकी काम सम्पन्न गर्न अझै २ देखि ३ वर्ष लाग्ने अनुमान गरिएको छ ।
आ.व. २०८२/८३ को चैत्र मसान्तसम्मको स्वतः प्रकाशन विवरण
https://giwmscdnone.gov.np/media/pdf_upload/_a9lxqag.pdf
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?