विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
जलसरोकार
काठमाडौं : चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा रहेका नेपालीहरूले पठाएको विप्रेषण (रेमिट्यान्स) उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिसम्म नेपालमा रु १४ खर्ब ४९ अर्ब ६५ करोड बराबरको विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले मात्र बढेको थियो। राष्ट्र बैंकका अनुसार गत फागुन महिनामा मात्रै रु एक खर्ब ८८ अर्ब ६४ करोड विप्रेषण भित्रिएको छ, जबकि अघिल्लो वर्षको सोही महिनामा यो रकम रु एक खर्ब ५१ अर्ब १९ करोड रहेको थियो।
अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा डलरमा विप्रेषण ३१ प्रतिशतले बढेर १० अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धि ७.१ प्रतिशत मात्र थियो।
राष्ट्र बैंकका अनुसार यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ११ खर्ब ४९ अर्ब ३० करोड थियो।
वैदेशिक रोजगारीतर्फ हेर्दा, समीक्षा अवधिमा दुई लाख ७३ हजार ५३६ जनाले नयाँ श्रम स्वीकृति लिएर विदेश गएका छन् भने दुई लाख ५१ हजार ९८५ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा भने नयाँ श्रम स्वीकृति लिनेको संख्या तीन लाख १७ हजार ०६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार ४०३ रहेको थियो।
यस अवधिमा मुलुकको चालु खाता पनि उल्लेख्य बचतमा रहेको छ। फागुन मसान्तसम्म चालु खाता रु पाँच खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९७ अर्ब तीन करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड बचतमा रहेको चालु खाता यस वर्ष तीन अर्ब ८८ करोडले बचतमा पुगेको छ।
त्यस्तै, फागुन मसान्तसम्म प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु १० अर्ब ८४ करोड भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु आठ अर्ब ४७ करोड रहेको थियो।
समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति पनि मजबुत देखिएको छ। फागुन मसान्तसम्म शोधनान्तर स्थिति रु छ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रु तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा थियो।
समग्रमा विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिले नेपालको बाह्य क्षेत्र सन्तुलन सुधार गर्न महत्वपूर्ण योगदान पुर्याएको राष्ट्र बैंकको विश्लेषण छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?