सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने

जलसरोकार
आइतबार, भदौ १४, २०८३ | १६:००:०९ बजे

काठमाडौं : नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस)ले रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोजी तथा उद्धार अभियानमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ।

एनजीएसले २०२६ अगस्ट २९ मा जारी गरेको आधिकारिक वक्तव्यमा बाढीबाट भएको मानवीय क्षति, घाइते तथा विस्थापन र पूर्वाधारमा पुगेको व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। सोसाइटीले शोकमा रहेका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ।

सोसाइटीले बाढी प्रभावित क्षेत्रमा अझै सम्पर्कविहीन वा अलपत्र अवस्थामा रहेका जलविद्युत् तथा पूर्वाधार आयोजनाका कर्मचारीको उद्धारलाई अन्य प्रभावित व्यक्तिको उद्धारसँगै अघि बढाउन आग्रह गरेको छ। उद्धारका क्रममा जिम्मेवार निकायबाट प्राप्त प्रमाणित सूचनालाई आधार बनाउनसमेत उसले आग्रह गरेको छ।

एनजीएसले खोजी तथा उद्धारमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, आपत्कालीन उद्धारकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको प्रयासको प्रशंसा गरेको छ। साथै, प्रभावित समुदाय र उद्धारकर्मीको सुरक्षालाई ध्यानमा राख्दै स्रोत–साधनको समयमै परिचालन जारी राख्न आग्रह गरेको छ।

प्राविधिक सहयोग दिन तयार

सोसाइटीले प्रभावित क्षेत्रमा जियोटेक्निकल तथा इन्जिनियरिङ विशेषज्ञता उपलब्ध गराउन तयार रहेको जनाएको छ। सम्बन्धित निकायसँगको समन्वयमा सुरक्षित पहुँच, उद्धारमा प्राविधिक सहयोग तथा प्रारम्भिक पूर्वाधार मूल्यांकनमा सहयोग गर्न सकिने एनजीएसको भनाइ छ।

आपत्कालीन खोजी, उद्धार तथा राहतको चरणपछि बहुविषयगत टोली गठन गरी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गर्ने योजना पनि सोसाइटीले अघि सारेको छ।

उक्त टोलीले पहुँच सुरक्षित र अनुमति प्राप्त भएका स्थानमा स्थलगत निरीक्षण गर्ने, भू–प्राविधिक तथा भू–विपद्का प्रभाव अध्ययन गर्ने, ढलानको स्थिरता, कटान, नदीकिनारको क्षति तथा पूर्वाधारमा परेको असर अभिलेख गर्ने जनाएको छ।

त्यसैगरी बाढीको सतह, संरचनाको जगमा भएको क्षति, पुल तथा सडकमा परेको असर र बाढीले थुपारेको गेग्रानसम्बन्धी स्थलगत प्रमाण संकलन गरी भविष्यमा विपद्को जोखिम घटाउने तथा पुनर्निर्माणलाई थप सबल बनाउने सुझाव तयार गर्ने एनजीएसले जनाएको छ।

विपद् राहतका लागि रु. ५० हजार सहयोग

एनजीएसले तत्कालीन मानवीय ऐक्यबद्धताको रूपमा नेपाल सरकारको आधिकारिक विपद् राहत संयन्त्रमार्फत रु. ५० हजार योगदान गरेको पनि जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जियोटेक्निकल समुदायबाट प्राप्त सहयोग र सहानुभूतिप्रति आभार व्यक्त गर्दै सोसाइटीले आफ्ना सदस्य, सहकर्मी तथा साझेदार संस्थालाई सरकारको आधिकारिक माध्यमबाट सहयोग गर्न आह्वान गरेको छ।

एनजीएसले प्रभावित परिवार र समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत, पुनःस्थापना र विपद् जोखिम न्यूनीकरणका लागि व्यावसायिक तथा वैज्ञानिक सेवामार्फत निरन्तर योगदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित मिति : आइतबार, भदौ १४, २०८३ | १६:००:०९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको