बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनामा गम्भीर क्षति, उत्पादनदेखि निर्माणसम्म प्रभावित
जलसरोकार
म्याग्दी : मनसुनजन्य बाढीपहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजना प्रभावित भएका छन्। कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढी र पहिरोले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन, पहुँचमार्ग र निर्माणस्थलमा क्षति पुर्याएपछि विद्युत् उत्पादनदेखि आयोजना निर्माणसम्मको काम प्रभावित भएको हो।
विपद्को प्रभावका कारण केही आयोजना पूर्णरूपमा बन्द भएका छन् भने केही आयोजनाको परीक्षण उत्पादन रोकिएको वा अवधि लम्बिएको छ। निर्माणाधीन आयोजनामा निर्माण सामग्री तथा उपकरण ढुवानीमा अवरोध भएपछि निर्माणको गति सुस्त भएको छ। यसले आयोजना सम्पन्न हुने समय लम्बिनुका साथै निर्माण लागतसमेत बढ्ने जोखिम थपिएको छ।
म्याग्दीमा बाढीपहिरोबाट सबैभन्दा बढी जोखिम प्रसारण संरचनामा देखिएको छ। कालीगण्डकी नदीको कटानका कारण २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका अन्नपूर्ण गाउँपालिका–१ दोबामा दुई वटा तथा रातोपानीमा एउटा टावर बगेको छ। धिरच्याङको टावरमा आंशिक क्षति पुगेको छ भने तिप्ल्याङ क्षेत्रको अर्को टावरसमेत जोखिममा परेको छ।
प्रसारण लाइनमा क्षति पुगेपछि उत्तरी म्याग्दीका जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो। नेपाल विद्युत् प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटेमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेपछि गत असोज ३१ गतेदेखि विद्युत् आपूर्ति पुनःसञ्चालन गरिएको हो। क्षतिग्रस्त टावर तथा प्रसारण लाइनको स्थायी पुनर्निर्माण प्रक्रिया भने अघि बढाइएको छ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका घलेम्दीखोला, म्रिस्त्रीखोला, निलगिरी–१, नीलगिरी–२ र रेलेखोलाका साथै मुस्ताङको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ।
बाढीपहिरोले अन्नपूर्ण गाउँपालिकाका दुई जलविद्युत् आयोजनाको उत्पादनसमेत बन्द गराएको छ। रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा गेग्रान थुपारेपछि ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले बताए।
त्यस्तै, १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह गत साउन २६ गते आएको सुक्खा पहिरोले पुरेको थियो। त्यसपछि असोजमा आएको बाढीपहिरोले आयोजनाको बाँधमा थप क्षति पुर्याएको छ। विद्युत्गृह पुरिँदा एक जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए। आयोजनाको पुनर्निर्माणको तयारी भइरहेको र प्रारम्भिक अनुमानअनुसार एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको म्याग्दी हाइड्रोपावरका प्रशासन प्रमुख अनिल तिवारीले बताए।
यता कालीगण्डकी बेसीनमा निर्माणाधीन ठूला आयोजनासमेत विपद्को मारमा परेका छन्। १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ दशमलव ३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य डेढ महिनादेखि प्रभावित भएको छ।
कालीगण्डकी गर्ज आयोजनाको मुस्ताङस्थित घाँसाको थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढीले ठूलो मात्रामा गेग्रान थुपारेपछि निर्माण कार्य रोकिएको आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए ।
मध्यकालीगण्डकी आयोजनामा भने बाढीले निर्माणस्थलका धेरै संरचनामा क्षति पुर्याएको छ। आयोजनाको सुकेबगरस्थित बाँध, सुरुङ, आवास, मेसिनरी, उपकरण, निर्माण सामग्री तथा डिजेल ट्याङ्करमा क्षति पुगेको प्रवर्द्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
बाढीले निर्माणस्थलको डाइभर्सन भत्काउनुका साथै नागढुङ्गा र रातोपानीका आवास भवन तथा नौलीबगरस्थित पहुँचमार्गमा समेत क्षति पुर्याएको छ। यसका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएको छ।
रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पुर्याएपछि ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि पनि लम्बिएको छ। टेलरेस गेट र स्वीचयार्ड नजिकको क्षेत्रमा क्षति पुग्नुका साथै विद्युत्गृहमा पानी पसेर डुबान भएको थियो।
हाल आयोजनाका २०/२० मेगावाट क्षमताका दुईवटा युनिट आलोपालो सञ्चालन गरेर परीक्षण उत्पादन भइरहेको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।
म्याग्दीखोला बेसीनमा निर्माणाधीन जलविद्युत् आयोजनासमेत पहुँचमार्ग र निर्माण सामग्री ढुवानीको समस्याबाट प्रभावित भएका छन्। घुमाउने, बालौटे, बाङ्गेपहिरो, इल्पु र शिवरात्रि खोलामा आएको बाढीपहिरोका कारण निर्माण सामग्री तथा उपकरण ढुवानीमा समस्या भएको अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।
करिब ६० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको निर्माणमा पनि बाढीपहिरोले असर पुर्याएको छ। दरखोलालगायतका आयोजनातर्फ जाने सडकका विभिन्न स्थानमा पहिरो खसेपछि निर्माण सामग्री तथा उपकरण आयोजनास्थलसम्म पुर्याउन समस्या भएको छ।
तर राहुघाट करिडोरअन्तर्गतका केही आयोजनामा भने विद्युत् उत्पादन नियमित छ। अपर राहुघाट, मङ्गले–चिमखोला–राहुघाट, अपर ठूलोखोला र ठूलोखोला जलविद्युत् आयोजनाको उत्पादन बाढीपहिरोका कारण रोकिएको छैन।
म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्ले जलविद्युत् आयोजनाका मुख्य संरचनामात्र होइन, विद्युत् प्रसारण लाइन, पहुँचमार्ग, निर्माण सामग्री भण्डारणस्थल र कामदारका आवास संरचनासमेत उच्च जोखिममा रहेको देखाएको छ। नदी किनार र बाढीको उच्च जोखिम भएका क्षेत्रमा निर्माण गरिएका संरचनाको दीर्घकालीन सुरक्षाका विषयमा आयोजनाले नयाँ ढंगले सोच्नुपर्ने अवस्था देखिएको छ।
जलविद्युत् क्षेत्रमा भइरहेको ठूलो लगानीलाई प्राकृतिक विपद्बाट सुरक्षित राख्न नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध निर्माण, वैकल्पिक पहुँचमार्गको व्यवस्था, प्रसारण टावरको संरक्षण तथा विपद् पूर्वतयारीलाई आयोजना निर्माण र सञ्चालनको अनिवार्य हिस्साका रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ। प्राकृतिक विपद् आएपछि क्षति मर्मत गर्नेभन्दा आयोजना निर्माणकै चरणमा जोखिम पहिचान गरी संरचना सुरक्षित बनाउने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनामा गम्भीर क्षति, उत्पादनदेखि निर्माणसम्म प्रभावित
-
बूढीगण्डकीको बहस फेरि सतहमा : राजनीतिक दोहनदेखि तल्लो तटीय लाभको हिसाबसम्म
-
अधिकांश क्षेत्रमा मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा-हिमपातको सम्भावना
-
कोप-३१ मा स्वकीय सचिव शिरिष पाण्डेको प्रतिनिधित्वदेखि ऊर्जा मन्त्रालयभित्रको कथित समानान्तर शक्ति केन्द्रसम्म
-
आगामी हिउँदमा ४६२ मेगावाट विद्युत् अभाव हुने
-
बाढीले थला पारेका आयोजना पुनः सञ्चालनमा ल्याउँदै सान्वी इनर्जी नाफामा, पहिलो त्रैमासमा ५ करोड ८ लाख खुद मुनाफा