नेसनल हाइड्रो पावर नाफामा फर्कियो, पहिलो त्रैमासिकमा १ करोड ९० लाख रुपैयाँ कमाइ
जलसरोकार
काठमाडौं : नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा १ करोड ९० लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण नगरिएको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीले १ करोड ९० लाख ९५ हजार ४४२ रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
कम्पनीको वित्तीय अवस्थामा अघिल्लो त्रैमासिकको तुलनामा सुधार देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिकमा कम्पनी २ करोड २९ लाख २९ हजार रुपैयाँभन्दा बढी घाटामा थियो। तर चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनी नाफामा फर्किएको हो।
यद्यपि, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने कम्पनीको नाफा बढ्न सकेको छैन। गत वर्षको पहिलो त्रैमासिकमा कम्पनीले १ करोड ६ लाख ७७ हजार ६०४ रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक नाफा करिब ८२ लाख रुपैयाँले बढी देखिएको छ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सञ्चालनबाट ६ करोड १३ लाख ५५ हजार १३ रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ करोड ५९ लाख ८८ हजार १३ रुपैयाँ थियो। सञ्चालन आम्दानी बढेसँगै कम्पनीको कुल नाफा पनि ४ करोड ४१ लाख ९ हजार ६० रुपैयाँ पुगेको छ।
कम्पनीको सञ्चालन खर्चतर्फ भने ह्रासकट्टी तथा परिशोधन, प्रशासनिक तथा सामान्य खर्च र कर्मचारी सुविधा खर्च उल्लेख्य छन्। ह्रासकट्टी तथा परिशोधनमा १ करोड २२ लाख ९ हजार ६९३ रुपैयाँ, प्रशासनिक तथा सामान्य खर्चमा १५ लाख १६ हजार १८९ रुपैयाँ तथा कर्मचारी सुविधा खर्चमा ३७ लाख ५६ हजार १९० रुपैयाँ खर्च भएको छ।
यस्ता खर्च कटाएर कम्पनीको सञ्चालनबाट नाफा २ करोड ६६ लाख २६ हजार ९८९ रुपैयाँ कायम भएको छ। वित्तीय खर्च, लगानीबाट भएको घाटा, कर्मचारी बोनस, कर तथा संस्थागत सामाजिक उत्तरदायित्व खर्च समायोजन गरेपछि कम्पनीको खुद नाफा १ करोड ९० लाख ९५ हजार ४४२ रुपैयाँमा सीमित भएको हो।
इन्द्रावती–३ को क्षतिले आम्दानीमा असर
कम्पनीले इन्द्रावती–३ जलविद्युत् आयोजनामा भएको क्षतिलाई समेत वित्तीय विवरणमा उल्लेख गरेको छ। गत चैत १० गते आयोजनाको पेनस्टक पाइप तथा त्यससँग सम्बन्धित एंकर ब्लक र सर्ज साफ्ट क्षेत्रमा जमिन भासिएर पाइप फुटेको थियो। क्षतिपछि मर्मतसम्भार गरी गत असार २९ गतेदेखि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ।
उक्त क्षतिको बीमा दाबीबापत बीमा कम्पनीसँग ३७ करोड ९९ लाख २० हजार ६५८ रुपैयाँ दाबी गरिएको छ। कम्पनीले क्षतिका कारण आफ्नो आम्दानीमा समेत नोक्सानी भएको उल्लेख गर्दै थप ४ करोड ६६ लाख ३ हजार २०८ रुपैयाँ दाबी गरेको छ।
यस घटनाले कम्पनीको उत्पादन र आम्दानीमा असर पारे पनि इन्द्रावती–३ बाट पुनः नियमित विद्युत् उत्पादन सुरु भइसकेको कम्पनीको भनाइ छ।
तल्लो इन्द्रावतीमा काम अघि बढ्दै
कम्पनीले टेन्डरमार्फत प्राप्त गरेको ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको प्राविधिक, आर्थिक तथा वातावरणीय अध्ययन सम्पन्न भएको जनाएको छ।
आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणसँग प्रक्रिया अघि बढाइएको छ। विद्युत् उपकरण खरिद प्रक्रिया पूरा भई अधिकांश उपकरण आयोजनास्थलमा पुगिसकेको कम्पनीले जनाएको छ।
आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन गर्न ज्योति विकास बैंकको अगुवाइमा बनेको बैंकिङ समूहसँग ऋण सम्झौता सम्पन्न भएको र ऋण प्रवाहसमेत सुरु भएको कम्पनीले जनाएको छ।
सहायक कम्पनीमार्फत अर्को आयोजनामा लगानी
नेसनल हाइड्रो पावरले लोअर इन्द्रावती पावर कम्पनीलाई सहायक कम्पनीका रूपमा अघि बढाएको छ। उक्त कम्पनीमा नेसनल हाइड्रो पावरको ५६ करोड ५२ लाख रुपैयाँ बराबरको लगानी शेयर अभिलेख सम्पन्न भएको वित्तीय विवरणमा उल्लेख छ।
लोअर इन्द्रावती पावर कम्पनीले तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी गत चैतदेखि विद्युत्को व्यापारिक उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ। उक्त कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अघि बढिरहेको छ।
त्यस्तै, उज्यालो इनर्जी सोलुसन्स प्रालिले प्रवर्द्धन गरिरहेको २५ मेगावाट क्षमताको अर्धजलाशययुक्त लिपु जलविद्युत् आयोजनाको अध्ययनसमेत भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीसँग ३४ अर्ब ८३ करोडको कुल सम्पत्ति
वित्तीय विवरणअनुसार असोज मसान्तसम्म नेसनल हाइड्रो पावरको कुल सम्पत्ति ३ अर्ब ४८ करोड ३४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल गैरचालु सम्पत्ति ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ र चालु सम्पत्ति १२ करोड ७९ लाख रुपैयाँभन्दा बढी छ।
कम्पनीको शेयर पुँजी २ अर्ब ४६ करोड ७१ लाख ६२ हजार ९१५ रुपैयाँ रहेको छ। कुल इक्विटी भने २ अर्ब ३७ करोड ४३ लाख ६७ हजार ६४५ रुपैयाँ छ।
कम्पनीको गैरचालु दायित्व ७६ करोड ६७ लाख रुपैयाँभन्दा बढी र चालु दायित्व ३४ करोड २३ लाख रुपैयाँभन्दा बढी छ। यसअनुसार कम्पनीको कुल इक्विटी तथा दायित्व पनि ३ अर्ब ४८ करोड ३४ लाख रुपैयाँ बराबर छ।
बाँकी शेयर रकम उठाउने प्रक्रिया धितोपत्र बोर्डमा
कम्पनीले साधारण शेयर तथा हकप्रद शेयरको बाँकी भुक्तानी अर्थात् ‘कल्स इन एरियर्स’ रकम व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको छ।
कम्पनीको शेयर सूचीकृत हुँदाको समयदेखि शेयर रजिस्ट्रारको अभिलेख विश्लेषण गर्दा प्रतिकित्ता १०० रुपैयाँका २२ हजार ४५० कित्ता साधारण शेयरबापत २२ लाख ४५ हजार रुपैयाँको आंशिक भुक्तानी मात्र प्राप्त भएको कम्पनीले जनाएको छ। बाँकी रकम व्यवस्थापनका लागि आवश्यक दस्तावेज नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि पेश गरिएको छ।
कम्पनीले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्न आवश्यक पूँजी जुटाउन विभिन्न विकल्पको अध्ययन गरिरहेको जनाएको छ। साथै विद्युत् उत्पादन तथा विद्युत्सँग सम्बन्धित अन्य सम्भावित व्यवसाय र आयोजनाका विषयमा पनि विभिन्न व्यक्ति तथा संस्थासँग छलफल तथा वार्ता भइरहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीको शेयर कारोबारतर्फ समीक्षाअवधिमा अधिकतम मूल्य २९९ रुपैयाँ र न्यूनतम मूल्य २५४ रुपैयाँ पुगेको थियो। अन्तिम कारोबार मूल्य २५५ रुपैयाँ रहेको छ। समीक्षाअवधिमा ६१ दिन कारोबार भएको र कुल ३४ हजार २९ कारोबारबाट १३ लाख ९६ हजार २७६ कित्ता शेयर कारोबार भएको कम्पनीले जनाएको छ।
नेसनल हाइड्रो पावरले संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्दै नियामक निकायका निर्देशन तथा परिपत्रको पूर्ण पालना गरिएको जनाएको छ। कम्पनीले नयाँ आयोजनामा लगानी विस्तार, निर्माणाधीन आयोजनालाई अघि बढाउने तथा विद्यमान आयोजनाबाट उत्पादन र आम्दानी बढाउने रणनीतिलाई प्राथमिकतामा राखेको देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
७९६ मेगावाट बिजुली नकिनेको भारतसँग हिउँदका लागि उसैसँग विद्युत् माग्दै नेपाल, प्रम बालेनको भ्रमणमा ऊर्जा व्यापारका पाँच प्रस्ताव
-
ऊर्जामन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट
-
भारतबाट ३५० मेगावाट आयातको अनुमति, ५६ मेगावाट निर्यात गर्न स्वीकृति
-
नेप्से १२.७९ अंकले घट्यो, कारोबार रकम बढेर ४ अर्ब ७३ करोड पुग्यो
-
अर्थमन्त्री वाग्लेको दाबी : नीतिगत सुधार र सुशासनले राजस्व सङ्कलनमा सकारात्मक प्रभाव
-
चिउरा किन्दा १० लाखको उपहार