जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

११ महिना अगावै सम्पन्न भयो लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना

जलसरोकार
बिहीबार, जेठ १७, २०८१ | १०:५७:१३ बजे

 

पर्वत – पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्झौता अवधिभन्दा ११ महिनाअगावै सम्पन्न भएको छ । सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले लक्ष्य अगावै यो सिँचाइ आयोजना निर्माण सम्पन्न गरेको हो । सिँचाइ आयोजना र्न १९ महिनामा निर्माण सम्पन्न गर्न २०८० भदौमा ९२ लाख ७७ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको ८ महिनामै काम सम्पन्न भएर सिँचाइ योजनामा पानी सञ्चालन गरिएको सिँचाइ नहर उपभोक्ता समितिका अध्यक्ष चक्रपाणि पौडेलले जानकारी दिए ।

निर्माण व्यवसायीको सक्रियता, उपभोक्ताको जागरुकता र कार्यालयका तर्फबाट नियमित रूपमा सुपरीवेक्षण भएकाले काम थालेको ८ महिनामै पानी सञ्चालन गर्न सफल भएको उनले बताए । सिँचाइ योजनाबाट यस क्षेत्रका करिब एक सय घरधुरीको झण्डै १ हजार रोपनी खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको योजना जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले ठेक्कामार्फत कार्यान्वयन गरेको हो । 

भेडाबारीबाट एक हजार आठ सय मिटर टाढा रहेको ढल्केको टाकुरा नजिक रहेको लुङ्दीखोलाबाट पानी ल्याइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार मुहानमा इन्टेक, दुई स्थानमा क्रसिङ पुल र चारवटा वितरण च्याम्बर निर्माण गरी नहर विस्तार गरिएको छ ।

योजनामा कुलोको मुहानबाट भेडाबारीसम्म १ हजार ८ सय मिटर दूरीको पाइप लाइन जडान गरिएको छ । 

कमजोर भूभागका कारण नहर बनाउन असम्भव भएकाले पाइप लाइन जडान गर्दा सिँचाइ योजना दिगो हुने आशा गरिएको इन्जिनियर तिमिल्सिनाले बताए । योजनामा पानी सञ्चालनमा आए पनि केही काम बाँकी रहेको र बजेटको अभावमा निर्माण व्यवसायीलाई करिब ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए । विगत पाँच वर्षअघि मिलनचोक–सल्यना–घायखेत–धारापानी–ठोटनेरी सडक निर्माणका क्रममा पहिरोले क्षति पुर्याएपछि गण्डकी प्रदेश सरकारले चालु आवमा बजेट विनियोजन गरेर पुनःनिर्माण गरेको हो । 

सिँचाइ नहर पुरिएपछि यस क्षेत्रका किसानले अकाशे पानीका भरमा खेती गर्दै आएका थिए । तरकारी पकेट क्षेत्रसमेत रहेको यहाँ सिँचाइको अभावमा तरकारी उत्पादनमा समेत कमी आएको थियो । सिँचाइ योजना सम्पन्न भएसँगै भेडाबारी, दुलेपानी र लामाबगरका किसानहरू खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् । सिँचाइ नहुँदा बाँझै भएको जमिनमा खनजोत गरेर बालीनाली लगाउन थालेको जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए । 

वैशाखमा सिँचाइ योजना सम्पन्न भएसँगै पानी सञ्चालनमा आएपछि किसानले खेतबारीमा सिँचाइ गरेर खेती गर्न थालेको आचार्यले बताए । वैशाख र जेठको खडेरीमा पनि पानी ल्याएर खेतबारीमा सिँचाइ गरेकाले खेतबारी हराभरा भएको उनले बताए । बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि यस क्षेत्रमा तरकारी उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । धाइरिङको सल्यान फाँटबाट बर्सेनि २ करोड रुपैयाँभन्दा बढीको तरकारी बिक्री हुने गरेको छ । सिँचाइ सुविधा नहुँदा तीन वर्षसम्म खेत बाँझै राख्नुभएका भेडाबारीका स्थानीयवासी लक्ष्मीप्रसाद आचार्यले यसपालि भने असारमै खेत रोप्ने तयारी गरेको बताए । योजना सम्पन्न भएपछि स्थानीय किसानलाई धान रोपाइँ गर्न आकाशे पानी कुर्नुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।

 

प्रकाशित मिति : बिहीबार, जेठ १७, २०८१ | १०:५७:१३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया