सिंचाईं अभाव र कमजोर मनसुनले धान रोपाइँमा गम्भीर असर, इलामका सयौँ किसान संकटमा
जलसरोकार
इलाम: “अब एक साताभित्र पनि पानी परेन भने यो वर्ष धान रोप्नै पाइन्न,” माई नगरपालिका-६ पलाँसेका किसान सुरवीर योङहाङको अनुहारमा चिन्ताको छाया छ । एक महिनाअघि नै १९ रोपनी खेत खनजोत गरी तयार पारिसक्दा पनि आकासे पानी पर्खंदै रोपाइँ नगरी खेत बाँझै राख्न बाध्य भएका छन् ।
खेतमा पानी पुग्ने मुख्य मुहान नै सुक्खा भएको छ । “बीउ पनि तयार पारिएको छ, तर पानी नभएपछि खेती के गर्ने ?” उनले गुनासो पोखे । सुरवीर जस्तै आइतराज लिम्बूको पनि १६ रोपनी खेत सिँचाइ अभावकै कारण खालि छ । “पहिले असार सुरु भएसँगै पानी पर्थ्यो, यो साल साउनको दोस्रो साता बित्दा पनि पानी छैन,” लिम्बू भन्छन्, “खेती नभए परिवारलाई खुवाउने चिन्ता अझै ठूलो छ।”
इलामका तल्लो क्षेत्रका सयौँ किसान अहिले यस्तोै संकटमा छन्। खनजोत गरिए पनि पानी नहुँदा खेतमा रोपाइँ हुन सकेको छैन । कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लामा साउनको दोस्रो सातासम्म जम्मा ७४ प्रतिशत मात्र रोपाइँ भएको छ । कुल ११ हजार ६३ हेक्टर क्षेत्रफलमध्ये आठ हजार १८६ हेक्टरमा मात्र रोपाइँ सकिएको केन्द्रका प्रमुख कुलबहादुर राईले जानकारी दिए ।
गत वर्ष सोही अवधिसम्म ९२ प्रतिशत रोपाइँ सकिएको थियो भने १४ हजार ८१५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । यस वर्ष भने कमजोर मनसुन, पानीका मूल नफुट्नु, जमिनको पानी तह झर्नु र सिँचाइको स्पष्ट अभावका कारण रोपाइँ प्रभावित भएको हो ।
कूलो, नहर वा खोल्सा नजिकका खेतमा रोपाइँ भए पनि बाक्लो बस्ती र समथर क्षेत्रका अधिकांश किसान आकासे पानीको भरमा छन् । उनीहरूका खेतहरूमा पानी नपुग्दा खेती गरिनसक्ने अवस्था देखिएको छ ।
यसैबीच, रोपिएका केही स्थानमा पनि सिँचाइको सुविधा नहुँदा खेत चर्किन थालेको किसानहरूले बताएका छन् । यसले बिउ उम्रिन, गोडमेल गर्न र उत्पादन गर्न गम्भीर असर पुर्याउने देखिएको छ ।
इलामको चुलाचुली, माई नगरपालिका, माङसेबुङ, रोङ, फाकफोकथुम, माईजोगमाई, सन्दकपुर गाउँपालिका र इलाम, देउमाई तथा सूर्योदय नगरपालिकाका तल्लो भू-भागमा मुख्य रूपमा धानखेती हुने गर्दछ ।
यहाँ माई नगरपालिका र रोङ गाउँपालिकाका किसानले उन्नत जातका रावित्री र रञ्जित धानको खेती गर्दै आएका छन् भने अन्य क्षेत्रका किसानहरू बेलकुटी, चिराखे, अटे, चुल्ठे, भँगेरे, टिमुरे, बयर्नी, रामतुलसी, रुदुवा, नानिया, चम्पासरी, तापमारालगायतका स्थानीय जातका धान रोप्दै आएका छन् ।
सबैभन्दा बढी धानखेती हुने माई नगरपालिका, चुलाचुली गाउँपालिका र इलाम नगरपालिकामा समेत समयमै रोपाइँ हुन नसक्दा यस वर्ष उत्पादनमा गम्भीर गिरावट आउने संकेत देखिएको छ ।
जलवायु परिवर्तन, कमजोर मनसुन र सिँचाइ पूर्वाधारको अभावले वर्षे धानखेतीमा आश्रित किसानहरूको आय, खाद्य सुरक्षा र जीविकोपार्जनमै असर पुर्याउने संकेत देखिँदै गएको छ । समयमै वैकल्पिक सिंचाईं, जलस्रोत संरक्षण र वर्षाको भर पर्नुपर्ने प्रणालीको विकल्प खोजिनु अबको आवश्यकता देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, बिहीबार ८.९७ अंकले उकालो
-
चालु खर्च नियन्त्रणमा सरकारको जोड, संघीय खर्च ८.२१ प्रतिशतमा सीमित
-
राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च न्यून, प्रगति सन्तोषजनक
-
एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको काम सुचारु
-
वाणिज्य बैंकहरूले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरे, कुन बैंकको ब्याजदर कति ?
-
मन्दाकिनी हाइड्रोपावरको नाफा सामान्य वृद्धि, छ महिनमा ७ करोड ३१ लाख रुपैयाँको विद्युत् बिक्री