जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

धाइरिङमा सिँचाइ आयोजना सम्पन्न

जलसरोकार
बुधबार, जेठ १६, २०८१ | १२:४२:४६ बजे

 

पर्वत  पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला– भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्झौता अवधिभन्दा ११ महिनाअगावै सम्पन्न भएको छ। सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले १९ महिनामा निर्माण सम्पन्न गर्न २०८० भदौमा रु ९२ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको थियो। 

ठेक्का सम्झौता भएको आठ महिनामै काम सम्पन्न भएर सिँचाइ योजनामा पानी सञ्चालन गरिएको सिँचाइ नहर उपभोक्ता समितिका अध्यक्ष चक्रपाणि पौडेलले जानकारी दिए। निर्माण व्यवसायीको सक्रियता, उपभोक्ताको जागरुकता र कार्यालयका तर्फबाट नियमित रूपमा सुपरीवेक्षण भएकाले काम थालेको आठ महिनामै पानी सञ्चालन गर्न सफल भएको उनले बताए। सिँचाइ योजनाबाट यस क्षेत्रका करिब एक सय घरधुरीको झण्डै एक हजार रोपनी खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ। 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको योजना जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले ठेक्कामार्फत कार्यान्वयन गरेको हो। भेडाबारीबाट एक हजार आठ सय मिटर टाढा रहेको ढल्केको टाकुरा नजिक रहेको लुङ्दीखोलाबाट पानी ल्याइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र तिमिल्सिनाले बताए। उनका अनुसार मुहानमा इन्टेक, दुई स्थानमा क्रसिङ पुल र चारवटा वितरण च्याम्बर निर्माण गरी नहर विस्तार गरिएको छ।

योजनामा कुलोको मुहानबाट भेडाबारीसम्म एक हजार आठ सय मिटर दूरीको पाइप लाइन जडान गरिएको छ। कमजोर भूभागका कारण नहर बनाउन असम्भव भएकाले पाइप लाइन जडान गर्दा सिँचाइ योजना दिगो हुने आशा गरिएको इन्जिनियर तिमिल्सिनाले बताए। योजनामा पानी सञ्चालनमा आए पनि केही काम बाँकी रहेको र बजेटको अभावमा निर्माण व्यवसायीलाई करिब रु ७० लाख भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए। 

विगत पाँच वर्षअघि मिलनचोक–सल्यना–घायखेत–धारापानी–ठोटनेरी सडक निर्माणका क्रममा पहिरोले क्षति पुर्याएपछि गण्डकी प्रदेश सरकारले चालु आवमा बजेट विनियोजन गरेर पुनःनिर्माण गरेको हो। सिँचाइ नहर पुरिएपछि यस क्षेत्रका किसानले अकाशे पानीका भरमा खेती गर्दै आएका थिए। तरकारी पकेट क्षेत्रसमेत रहेको यहाँ सिँचाइको अभावमा तरकारी उत्पादनमा समेत कमी आएको थियो। 

सिँचाइ योजना सम्पन्न भएसँगै भेडाबारी, दुलेपानी र लामाबगरका किसानहरू खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन्। सिँचाइ नहुँदा बाँझै भएको जमिनमा खनजोत गरेर बालीनाली लगाउन थालेको जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए। 

वैशाखमा सिँचाइ योजना सम्पन्न भएसँगै पानी सञ्चालनमा आएपछि किसानले खेतबारीमा सिँचाइ गरेर खेती गर्न थालेको आचार्यले बताए। वैशाख र जेठको खडेरीमा पनि पानी ल्याएर खेतबारीमा सिँचाइ गरेकाले खेतबारी हराभरा भएको उनले बताए। बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि यस क्षेत्रमा तरकारी उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ। धाइरिङको सल्यान फाँटबाट बर्सेनि रु दुई करोडभन्दा बढीको तरकारी बिक्री हुने गरेको छ। 

सिँचाइ सुविधा नहुँदा तीन वर्षसम्म खेत बाँझै राख्नुभएका भेडाबारीका स्थानीयवासी लक्ष्मीप्रसाद आचार्यले यसपालि भने असारमै खेत रोप्ने तयारी गरेको बताए। योजना सम्पन्न भएपछि स्थानीय किसानलाई धान रोपाइँ गर्न आकाशे पानी कुर्नुपर्ने बाध्यता अन्त्य भएको उनले बताए।

प्रकाशित मिति : बुधबार, जेठ १६, २०८१ | १२:४२:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया