भोजपुर सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ पोखरी
जलसरोकार
भोजपुर अरुण गाउँपालिका–७ सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सिँचाइ पोखरी निर्माण सुरु गरिएको छ । यस क्षेत्रका जमिन खेतीका लागि उर्वरभूमि भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा बाझिन थालेका थिए तर पछिल्लो समय उक्त क्षेत्रमा एक टोल एक सिँचाइ पोखरी निर्माण सुरु गरिएको वडाध्यक्ष कुमार थापाले जानकारी दिए ।
गाउँपालिकाको १५ लाख लागतमा ढुङ्गेटोलमा नौ लाख लिटर क्षमताको ठूलो पोखरी निर्माण भइसकेको छ । बेलटार टोलमा पाँच लाख लिटर र मैदाने टोलमा तीन लाख लिटर क्षमताका पोखरी निर्माण गरिएको अध्यक्ष थापाले बताए । उनका अनुसार वडाका अन्य टोलमा चारवटा पोखरी निर्माणाधीन छन् । सबै स्थानमा पानीको स्रोत सुनिश्चित भएपछि पोखरी निर्माण थालिएको उनले बताए ।
पोखरी निर्माणपछि यहाँका सुक्खाग्रस्त क्षेत्रका करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा सिँचाइको सुविधा पुग्नेछ । माथिल्लो भेगमा खनिएका यी पोखरीहरुले खानेपानीको मुहान रिचार्जमा पनि सहयोग गर्ने अध्यक्ष थापाको भनाइ छ । “पोखरी निर्माणपछि सिँचाइसँगै अन्य उपयोगका लागि पनि गर्न सकिन्छ”, उनले भने । उनका अनुसार सबै टोलमा रु एक करोड बराबर लगानीमा पोखरी निर्माणको उद्देश्य लिइएको छ ।
यहाँका सिक्रेटार, पीपलटार, जगरे खिसु, गौरालगायत क्षेत्र सुक्खाग्रस्त क्षेत्रमा पर्छन । सिँचाइको व्यवस्था भएमा यहाँ जिरा, मेथी, बदाम, आँप, लिची, कटहर, केरा, ड्रागनफ्रुट, रुद्राक्ष तथा तरकारीको व्यावसायिक खेती गर्न सकिने स्थानीय किसान केदारप्रसाद अधिकारीले बताए । एक टोल एक सिँचाइ पोखरी निर्माण अभियानले किसानमा उत्साह थपिएको उनको भनाइ छ ।
पोखरी निर्माणले स्थानीयलाई तरकारीखेतीका लागि सहज भएको स्थानीय हेमचन्द्र अधिकारीले बताए । उनले आफूले पनि पोखरीको पानी प्रयोग गरेर तरकारीखेती गरिरहेको र सहज भएको बताए । “सिँचाइका लागि पर्याप्त पानी नहुँदा बसाइँसराइ बढ्दो थियो, अब यो क्रम रोकिन्छ कि भन्ने आशा छ”, उनले भने ।
जलवायु परिवर्तनका कारण देखिएका असरको न्यूनीकरण गर्दै जलाधारहरुको संरक्षण गर्ने लक्ष्यका साथ टोलस्तरमा सिँचाइ पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको सो वडाका सचिव अशोक अधिकारीले बताए । यो कार्यक्रमले भविष्यका लागि ठूलो लाभ पुग्ने उनको विश्वास छ । रासस
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना