२२ अर्ब बढीको संस्थापक सेयर सूचीकृत गरिदिन इप्पानको माग
जलसरोकार
काठमाडौँः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले २०८० माघदेखि आईपीओ निष्कासन गरेका ऊर्जा कम्पनीहरूको २२ अर्ब रुपैयाँभन्दा बढीको संस्थापक सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरिदिन माग गरेको छ।
इप्पानले बुधबार सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) लाई पत्राचार गर्दै सबै ऊर्जा कम्पनीहरूको संस्थापक सेयर अभौतिकीकरण गरी नेप्सेमा सूचीकृत गर्न आग्रह गरेको हो।
धितोपत्र निष्कासन सम्बन्धी निर्देशिकाअनुसार आईपीओ जारी भएपछि कम्पनीको संस्थापक र साधारण सेयर एकैपटक नेप्सेमा सूचीकृत हुनुपर्ने व्यवस्था भए पनि सिडिएससीले साधारण सेयर मात्र अभौतिकीकरण गरेर संस्थापक सेयरलाई करिब १४ महिनादेखि रोकिएको इप्पानले जनाएको छ।
सिडिएससीले संस्थापक र साधारण सेयरका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (ISIN) अनिवार्य हुनुपर्ने अडान लिएपछि ३ सोलार ऊर्जा कम्पनीसहित २२ ऊर्जा कम्पनीको २२ अर्ब १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन सकेको छैन।
ऊर्जा उद्यमीहरूका अनुसार यसका कारण झण्डै दुई दर्जन ऊर्जा कम्पनीका लगानीकर्ता मर्कामा परेका छन्। सिडिएससीको यस्तो निर्णयले लगानीकर्तामा सरकारप्रतिको विश्वास कमजोर हुने र आगामी परियोजनामा लगानी गर्ने वातावरण प्रभावित हुने गुनासो गरिएको छ।
ऊर्जा कम्पनीहरूको संस्थापक सेयर कानुनअनुसार ३ वर्षसम्म बिक्री गर्न नपाउने गरी ‘लक–इन’ व्यवस्था हुन्छ। तीन वर्षपछि कम्पनीले बैंकको ऋण चुक्ता गरेपछि मात्र संस्थापक सेयर बिक्री गर्न पाइने व्यवस्था भए पनि दोहोरो आइजिनको बहानामा सेयर सूचीकृत नगर्नु लगानीकर्तामाथि अन्याय भएको ऊर्जा उद्यमीहरूको भनाइ छ।
यस विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि दोहोरो आइजिनको व्यवस्था लागू नगर्न आग्रह गरेको थियो। जबर्जस्ती यस्तो व्यवस्था लागू गरिए विदेशबाट नेपालमा लगानी घट्न सक्ने चेतावनी संघले दिएको छ।
इप्पानका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८ ऊर्जा कम्पनीको ३ अर्ब ५२ करोड २६ लाख रुपैयाँ बराबरको ३ करोड ५२ लाख २६ हजार ५५२ कित्ता संस्थापक सेयर सूचीकृत हुन बाँकी छ। त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा १४ कम्पनीको १८ अर्ब ६० करोड १४ लाख रुपैयाँ बराबरको १८ करोड ६० लाख १४ हजार ७२६ कित्ता सेयर पनि सूचीकृत हुन बाँकी रहेको छ।
यसरी २२ कम्पनीको कुल २२ अर्ब १२ करोड ४१ लाख रुपैयाँ बराबरको २२ करोड १२ लाख ७१ हजार २७८ कित्ता संस्थापक सेयर हालसम्म नेप्सेमा सूचीकृत हुन नसकेको इप्पानले जनाएको छ।

प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपछि टनेलमा फसेका ३५० जनाको नेपाली सेनाद्वारा उद्धार
-
विद्युत् आपूर्ति नियमित हुँदै
-
देशभर बदली, हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना
-
पुष्पज्योति ढुंगानाका पाँच जलविद्युत् कम्पनीले विपद्का बेला दिए १ करोड ७ लाख ७७ हजार
-
भोटेकोशी बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति कुलमानद्वारा दुःख व्यक्त
-
मेगाटेक हाइड्रोद्वारा विपद् उद्धार कोषमा ५ लाख ५५ हजार सहयोग