रसुवागढी नाकाबाट ९ महिनामा रु ३१ अर्बभन्दा बढीको आयात, राजस्व सङ्कलन रु ६ अर्ब ४२ करोड
जलसरोकार
रसुवा : रसुवागढी नाका बाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका वस्तु आयात भएको छ।
रसुवा भन्सार कार्यालय टिमुरे का प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट सो अवधिमा रु ६ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। कठिन भौगोलिक अवस्था र पटक–पटक आउने प्राकृतिक अवरोधबीच पनि नाकाबाट व्यापार सञ्चालन भइरहेको उनले बताए ।
नेपाल–चीन व्यापारको प्रमुख नाकाका रूपमा रहेको रसुवागढीबाट रोलकपडा, तयारी पोसाक, विद्युतीय (इभी) गाडी, जलविद्युत् तथा पूर्वाधार आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चापदार्थ तथा मेसिनरी सामग्री आयात हुँदै आएका छन्। साथै नेपाली सेनाले निर्माण गरिरहेको ‘फास्ट ट्र्याक’ आयोजनाका उपकरणसमेत यही नाकाबाट भित्रिने गरेका छन्।
नेपालबाट चीनतर्फ भने हस्तकला सामग्री, परम्परागत कपडा, बाँसका मुढा, तिब्बती क्षेत्रमा चौँरीलाई खुवाइने प्याकिङ गरिएको सुक्खा घाँस, चाउचाउ तथा बिस्कुट गरी करिब रु ६५ करोड बराबरका वस्तु निर्यात भएको जनाइएको छ। सीमित उत्पादन क्षमताका बाबजुद नेपाली वस्तुको निर्यात विस्तार हुँदै गएको भन्सार कार्यालयको भनाइ छ।
गत असार २४ गते ल्हेन्देखोला मा आएको बाढीले मितेरी पुल बगाएपछि केही समय व्यापार पूर्ण रूपमा प्रभावित भएको थियो। पुल पुनःनिर्माण ढिलो हुँदा गत पुस १७ गतेदेखि मात्रै आयात–निर्यात पुनः नियमित रूपमा सञ्चालनमा आएको हो।
ऐतिहासिक रूपमा भृकुटी र श्रङ्चङ गम्पो बीचको वैवाहिक सम्बन्धपछि नेपाल–तिब्बत व्यापार विस्तार भएको मानिन्छ। यही ऐतिहासिक मार्ग आधुनिक स्वरूपमा विकास हुँदै आज रसुवागढी नेपालको प्रमुख उत्तरी व्यापारिक प्रवेशद्वार बनेको छ।
गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामीछिरिङ तामाङका अनुसार छोटो दूरी, सहज पहुँच र अन्तरराष्ट्रिय व्यापारको सम्भावनाका कारण अधिकांश व्यवसायी यस नाकातर्फ आकर्षित भएका छन्। उनले यस नाकाको थप उपयोग गर्न आग्रह गरे ।
तर, सानो सडक संरचना, बाढी–पहिरो र स्तरोन्नति कार्यका कारण रसुवागढी क्षेत्र बारम्बार प्रभावित हुँदै आएको छ। व्यवसायीहरूले सडक पूर्ण रूपमा बन्द नगरी समय तालिका मिलाएर मर्मत र व्यापार दुवै सञ्चालन गर्न माग गरेका छन्।
यसैबीच, बाढीको असरका कारण भन्सार यार्डमा सामान जाँचपास गर्ने मुख्य स्थान बालुवा खोलाको किनारमा सारिएको छ। चिसो हावा र धुलोबीच कर्मचारीले कठिन परिस्थितिमा काम गर्नुपरेको गुनासो छ।
कर्मचारीहरूले आधुनिक गोदाम, सुरक्षित जाँचपास स्थल, स्वास्थ्य सुरक्षाका सामग्री तथा विश्रामकक्षको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। हिमाली क्षेत्रको कठोर मौसममा कार्यरत कर्मचारीको मनोबल र सेवा प्रभावकारिता बढाउन कार्यस्थल सुधार आवश्यक रहेको सरोकारवालाको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?