सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मुस्ताङमा बिहानैदेखि भारी हिमपात, जनजीवन प्रभावित

जलसरोकार
बुधबार, कात्तिक १२, २०८२ | १०:१९:३३ बजे

 

काठमाडौं : आज बिहानैदेखि परेको भारी हिमपातका कारण मुस्ताङको चराङ–लोमान्थाङ सडकखण्डमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको करिब पाँच किलोमिटर सडकमा हिउँ जम्दा सवारी सञ्चालन कठिन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।

उनका अनुसार सो सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले यातायात पूर्ण रूपमा अवरुद्धजस्तै भएको छ । प्रहरी र स्थानीयवासीले सडक खुलाउने प्रयास गरे पनि निरन्तर हिमपातका कारण कठिनाइ भइरहेको बताइएको छ ।

यसअघि मङ्गलबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) का सुरक्षाकर्मीहरूले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । यस्तै, हिमपातका कारण अवरुद्ध भएको कागबेनी–मुक्तिनाथ सडक भने हाल सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

मङ्गलबार दिनभर परेको हिमपातका कारण उपल्लोदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा सेताम्मे बनेका छन् । उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा स्थानीय जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : बुधबार, कात्तिक १२, २०८२ | १०:१९:३३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया