तराई–मधेस क्षेत्रमा सिँचाइको स्थायी समाधान ल्याउन सरकारले दृढ संकल्प लिएको छ : प्रधानमन्त्री
जलसरोकार
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेस क्षेत्रमा सिँचाइको स्थायी समाधान ल्याउन सरकारले दृढ संकल्प लिएको बताएका छन् । मधेस प्रदेशका आठ जिल्लामा साउन २३ गतेसम्म ७६ दशमलव ५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको तथ्यांक सार्वजनिक गर्दै उनले किसानको मेहनत र प्रकृतिको साथका लागि आभार प्रकट गरेका छन् ।
सामाजिक सञ्जालमार्फत किसानको श्रम, सघन सहभागिता र तराईको कृषि महत्वलाई स्मरण गर्दै उनले यस वर्षको खडेरीले अन्नको भण्डार मानिने तराईका खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आएको र रोपाइँ भएको ठाउँमा पनि पानीको अभावले रोपो मर्न थालेको बताएका छन् । किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेका बेला आफू केही समयअघि तराई गएको र सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीका अनुसार तत्कालका लागि सरकारले ५०० वटा डिपबोरिङ जडानको काम सुरु गरेको छ भने दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सन आयोजना अघि बढाइएको छ, जसले आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता घटाएर तराईमा सिँचाइ सुविधा पु¥याउनेछ। पछिल्लो समय वर्षाले हरियाली फर्काउन थालेको भन्दै उनले अब केही दिनमै सम्पूर्ण खेतबारीमा धानका हरिया बोट लहराउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार यही साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ र बाँकी क्षेत्र पनि चाँडै रोपाइँ हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीले किसानको मुस्कान, जमिनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्यलाई देशको लक्ष्यका रूपमा लिएको उल्लेख गर्दै सम्पूर्ण किसानलाई अभिवादन गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना